कुन विकास बैंकका सीईओको तलब भत्ता कति ?



काठमाडौं । बैंकको जागिर निकै नै आकर्षक मानिन्छ । त्यसमा पनि प्रमुख कार्यकारी अधिकृत (सीईओ) भनेपछि आकर्षक हुने नै भयो ।

त्यसैले बैंकिङ क्षेत्रमा करियर देख्ने, बनाउनेहरुको जमात ठूलै छ । वार्षिकरुपमा करोडौं तलब, भत्ता पाइने भएपछि सीईओको जागिर आकर्षक नहुने कुरै भएन ।

सबैले सीईओले करोड बढी तलब भत्ता लिन्छन्, उनीहरुले विभिन्न सुविधा पाएका हुन्छन्, कार चढेर हिँडछन् भनेर भनिरहेका हुन्छन् । बैंकका सीईओहरुको तलब मात्रै बढी नभएर उनीहरुको काममा चुनौती पनि सोही अनुसारको हुन्छ । बैंकिङ क्षेत्र पैसाको कारोबार गर्ने क्षेत्र हो ।

तर, करोडौं कमाउने सीईओहरुले सबै पैसा आफैंले मात्रै राख्दैनन् । उनीहरुले राज्यलाई आफ्नो कमाइबाट ३९ प्रतिशतसम्म कर तिरेका हुन्छन् । कमाइ जति बढी भयो, राज्यलाई बुझाउने कर पनि बढी हुन्छ।

अब हेरौं, राष्ट्रिय स्तरका विकास बैंकको सीईओको तलब भत्ता कति छ ?

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८०/०८१ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई १ करोड १५ लाख १ हजार ९९ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ ।

बैंकले सीईओ प्रकाश पौडेललाई तलब, भत्ता, दशैं, बोनस, सञ्चयकोष तथा बिदा वापतको १ करोड १५ लाख १ हजार ९९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बैंकले उपदान वापत ४ लाख भुक्तानी गरेको छ । सीईओले पाएको तलब बापत राज्यलाई ३९ प्रतिशतसम्म कर तिरेका छन् ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षमा सीईओलाई १ करोड १६ लाख ९२ हजार ४२६ रुपैयाँ प्रदान गरेको छ ।

जसमा तलब ४८ लाख ७ हजार ७५९ रुपैयाँ, संचय कोष बापत ४ लाख ८० हजाार ७७५ रुपैयाँ, दशैं भत्ता बापत ७ लाख १५ हजार, भत्ता बापत ४२ लाख ३३ हजार ५८१ रुपैयाँ, कर्मचारी बोनस १४ लाख ५५ हजार ३१० रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले सीईओलाई तलब, भत्ता बाहेक सञ्चय कोष, र बोनस ऐन अनुसारको बोनस, औषधि खर्च, जीवन बीमा गर्नुका साथै नियमानुसार सवारी साधन, इन्धन खर्च तथा मोबाइल खर्च सुविधा दिने गरेको जनाएको छ । बैंकको सीईओमा दिपेश लम्साल रहेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठलाई १ करोड ८ लाख ९७ हजार ३४० रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब बापत ५७ लाख ७२ हजार, भत्ता ३६लाख ४८ हजार, दशैं भत्ता ८ लाख ३३ हजार १००, संचय कोष कट्टी ५ लाख ७७ हजार २०० र अन्य रकम बापत ६७ हजार ४० रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले सीईओलाई बोनसका साथै औषधी उपचार खर्च, दुर्घटना बिमा, मोबाईल खर्च, सवारी साधन सुविधा, ईन्धन तथा मर्मत खर्च बैंकको कर्मचारी विनियमावली तथा गरिएको करारनामा बमोजिम प्रदान गरेको जनाएको छ ।

गरिमा विकास बैंक

गरिमा विकास बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई १ करोड १२ लाख ५८ हजार ४९३ रुपैयाँ भुक्तानी गरेको छ ।

ज्योति विकास बैंक

ज्योति विकास बैंकले गत आर्थिक वर्षमा सीईओलाई १ करोड ३ लाख २५ हजार ३८९ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब बापत ६१ लाख ८१ हजार ३९८ रुपैयाँ, भत्ता २१ लाख १६ हजार १०२ रुपैयाँ, दशैं भत्ता तथा उपहार५ लाख ७ हजार ७८० रुपैयाँ, सञ्चयकोष योगदान ६लाख १८ हजार १४० रुपैयाँ, जीवन बिमा प्रिमियम ४ हजार ६७५, बोनस ८ लाख ९७ हजार २९४ रुपैयाँ भुक्तानी गरेको छ । बैंकको सीईओमा कपिल ढकाल रहेका छन् ।

कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकले गत आवमा सीईओलाई १ करोड ७ लाख ७ हजार ८८८ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । यस्तै अन्य सुविधा बापत २६ हजार ८२० रुपैयाँ भुक्तानी गरेको छ । बैंकको सीईओमा दिनेश थकाली रहेका छन् ।

लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंकले सीईओ नरेश सिंह बोहरालाई गत आवमा तलब भत्ता बापत १ करोड २४ लाख ९० हजार ९२८ रुपैयाँ भुुक्तानी गरेको छ । जसमा पारिश्रमिक ८४ लाख बोनस २२ लाख ९० हजार ९२८, संचयकोष ६लाख, दशैं भत्ता ७ लाख र अन्य भत्ता बापत ५ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले सीईओलाई गत आर्थिक वर्षमा १ करोड १८ लाख ४७ हजार ५८५ रुपैयाँ भुक्तानी गरेको छ । जसमा तलब ६० लाख, भत्ता २४ लाख, संचय कोष ५० हजार, दशैं भत्ता ५ लाख, कर्मचारी बोनस २२ लाख ७२ हजार ५८५ रुपैयाँ, बार्षिक बिदा बापत ३ लाख ७५ हजार, घर बिदा बापत २ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकले सीईओलाई ८० लाख सम्मको सवारी साधन, चालक, ईन्धन, मर्मत खर्च सहित सवारी साधन सुविधा दिएको छ । बिल अनुसारको मोबाइल खर्च, आसाव कर्जा बापत ५९ लाख २४ ९२५ रुपैयाँ, दुर्घटना बिमा बापत २५ लाख, औषधि उपचर बिमा बापत ५ लाख दिएको जनाएको छ ।

साथै दैनिक तथा भ्रमण भत्ता स्वदेशमा प्रति दिन ३ हजार ५०० रुपैयाँ र सार्क राष्ट्रहरुमा १०० अमेरिकी डलर, अन्य राष्ट्रहरुमा १५० अमेरिकी डलर, होटल तथा खानाको बिल अनुसार, यातायात खर्च टिकट अनुसार दिएको जनाएको छ । हाल बैंकको सीईओमा प्रधुम्न पोखरेल रहेका छन् ।


क्लिकमान्डु