अमेरिकामा अहिलेसम्मकै ठूलो आगलागी: नेपालको बजेटभन्दा २० गुणा बढी क्षति
एजेन्सी । अमेरिकाको लस एन्जलसमा फैलिरहेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा ल्याउन अग्नि नियन्त्रकले प्रयास गरिरहेका छन् ।
लस एन्जलस डढेलो अमेरिकी इतिहासकै सबैभन्दा महँगो डढेलो बन्न सक्ने अनुमान गरिएको समाचार संस्था गार्डियनको समाचारमा उल्लेख गरिएको छ ।
डढेलोले अहिलेसम्म कम्तिमा २४ जनाको ज्यान लिएको छ भने हजारौँ विस्थापित भएका छन् । आगलागीमा परि १२ हजारभन्दा बढी संरचनाहरू ध्वस्त भएका छन् र १ लाख मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ।
मौसमविद्हरूले बुधबारसम्म ४० माइल प्रतिघण्टा (६४ किमी/घण्टा) को निरन्तर हावा र पहाडमा ६५ माइल प्रतिघण्टा (१०५ किमी/घण्टा) सम्मका झोक्काहरू चल्नसक्ने भविष्यवाणी गरेका छन् । अग्नि व्यवहार विश्लेषक डेनीस बर्न्सका अनुसार सोमबारबाट हावा तीव्र बनेको र मंगलबारसम्म थप बलियो हुने सम्भावना छ ।
डढेलो गत मंगलबार सुरु भएको थियो । जुन सान्टा एना हावाको तीव्रताले झन् भयावह बनेको समाचारहरुमा जनाइएको छ । क्याल फायरका अनुसार पालिसेड्स, ईटन, केनेथ र हर्स्ट डढेलोले लगभग १६० वर्ग किलोमिटर क्षेत्रफल नष्ट गरेको छ ।
तटीय क्षेत्रमा फैलिएको पालिसेड्स डढेलोले आठ जनाको ज्यान लिएको छ भने भित्री क्षेत्रमा फैलिएको ईटन डढेलोले १६ जनाको मृत्यु गराएको छ । लस एन्जलस काउन्टी मेडिकल एक्जामिनरको कार्यालयका अनुसार कम्तीमा २३ जना हराइरहेका छन्, र यो संख्या अझ बढ्नसक्ने अनुमान छ।
कति क्षति ?
डढेलो कसरी सुरु भयो भन्ने अझै पत्ता लागेको छैन । यो डढेलो अमेरिकी इतिहासकै सबैभन्दा महँगो बन्न सक्ने अनुमान छ। एक्युवेदरले यो डढेलोले २५० अर्बदेखि २७५ अर्ब डलर (३७० खर्ब नेपाली रुपैयाँभन्दा बढी) को क्षति पुर्याउन सक्ने अनुमान गरेको छ । यो क्षति नेपालको बजेटको आकारभन्दा २० गुणा ठूलो हो । नेपालको बजेट करिब १९ खर्ब रूपैयाँ बराबरको छ । जसअनुसार डढेलो कारण बेहोरेको क्षति नेपालको बजेटभन्दा कयौं गुणा भएको पाइएको हो ।
अमेरिकी नेशनल वेदर सर्भिसले सोमबार रातिदेखि मंगलबारसम्म डढेलोका लागि ‘विशेष रूपले खतरनाक अवस्था’ हुने चेतावनी दिएको छ । आठ महिनाभन्दा बढी समयदेखि कुनै महत्त्वपूर्ण वर्षा नभएको कारण सान्टा एना हावाले डढेलोलाई अझ घातक बनाएको छ ।
एलए काउन्टी रिकभर्स नामक सरकारी कार्यक्रमले प्रभावित क्षेत्रका क्षतिग्रस्त संरचनाहरू देखाउन इंटरेक्टिभ नक्शा सार्वजनिक गरेको छ । यसमा घर, व्यापारिक भवनजस्ता संरचनाहरूको स्थिति र क्षतिको स्तर हेर्न सकिन्छ ।
हाल १ लाख मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ। सोमबार, करिब १.५ लाख मानिसलाई दिइएको आदेश घटाएर यो संख्या कम गरिएको थियो, तर उच्च हावाको पुनरागमनले थप मानिसलाई स्थानान्तरण गर्नुपर्नेसक्छ।
डढेलो नियन्त्रणका प्रयासहरू पनि जारी छन् । सोमबार बिहानसम्म, पालिसेड्स डढेलो १४% र ईटन डढेलो ३३% नियन्त्रणमा आएको छ । केनेथ डढेलो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको छ, जबकि हर्स्ट डढेलो ९५% नियन्त्रणमा छ।
यो डढेलोले लस एन्जलसका धेरै जनघनत्व भएका क्षेत्रहरू जस्तै प्यासिफिक पालिसेड्स र अल्टाडेना लगायतलाई प्रभावित पारेको छ। रियल इस्टेट डाटा ट्र्याकर कोरलोजिकको तथ्यांक अनुसार डढेलो प्रभावित क्षेत्रमा रहेका संरचनाहरूको पुनर्निर्माण लागत १४.८ अर्ब डलर (२० खर्ब नेपाली रुपैयाँ) पुग्नसक्छ ।
डढेलोका कारण होटल, भाडामा दिइने घर र औषधिजन्य सामग्रीमा मूल्यवृद्धि भएको छ । त्यस्तै ति क्षेत्रमा ठगी बढेको र राहतका नाममा नक्कली व्यक्तिहरुले चन्दा मागिरहेको अधिकारीहरूले बताएका छन् ।