
काठमाडौं । हिमालयन बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सकिएको साधारणसभाले बैंक तथा सहायक कम्पनीसहितको आव २०८०/८१ को एकिकृत वित्तीय विवरण पारित गरेको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले सेयरधनीलाई बैंकको दरबारमार्ग स्थित आफ्नै जग्गामा भवन निर्माण गरी उक्त शाखालाई स्थानान्तरण गरी सोही आर्थिक वर्षबाट हिटी दरबार शाखाको नामबाट बैंकिङ्ग सेवा सञ्चालनमा ल्याइसकेको जानकारी गराए । तथापी आफ्नो सेवाको शुभारम्भ सोही स्थानबाट गरेको हुँदा बैंकले सञ्चयकोषको उक्त भवनको प्रवलिकरण पश्चात् ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्नको लागि आवश्यक स्थान पुनः भाडामा लिने प्रक्रियामा रहेको पनि जानकारी गराए । यसका साथै बैंकले नयाँ सडकमा पनि बैंकले आफ्नै जग्गामा शाखा कार्यालयको लागि भवन निर्माण कार्य सुरु गरिसकेको जानकारी गराए ।
बैंकका अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ का प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान संकुचित आर्थिक परिवेशको अवस्थामा पनि र्बैकको खुद मुनाफा १ अर्ब २३ करोड ८३ लाख ३ हजार रहेको बताए । नाफामध्ये अनिवार्य जगेडाकोषमा सो वर्षको खुद मुनाफाको २० प्रतिशतले हुन आउने २४ करोड ७६ लाख ६० हजार छुट्याइएको जानकारी दिए । यसैगरी बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई २ खर्ब सन्तानब्बे अर्ब ७२ करोड ५३ लाख पुगेको, कर्जा सापट १.७९ प्रतिशतले वृद्धि भई २ खर्ब ४७ अर्ब १० करोड ९० लाख रहेको जानकारी गराए ।
सो अवधिमा बैंकको कुल सम्पत्ति ६.४२ प्रतिशत र खुद सम्पत्ति ३.१४ प्रतिशतले वृद्धि भई क्रमशः ३ खर्ब ५५ अर्ब ७३ करोड ५८ लाख र ३६ अर्ब ६२ करोड ३१ लाख पुगेको पनि जानकारी गराए । नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तथा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट जारी निर्देशनको अधिनमा रही कर्जामा सम्भावित नोक्सानीको लागि उल्लेख्य रकम व्यवस्था गर्नु परेकोले समीक्षा वर्षमा बैंकले २ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ मात्र सञ्चालन मुनाफा आर्जन गरेको र खुद मुनाफा १ अर्ब २३ करोड ८३ लाखमा सिमित भएको जानकारी दिए ।
यस समीक्षा वर्षमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रही रु. १ अर्ब १२ करोड ४३ लाख ४८ हजार कर्जा तथा व्याज अपलेखन गरेको छ भने विगत वर्षहरुमा अपलेखन भएका कर्जाबाट १ करोड ४ लाख १८ हजार रुपैयाँ असुली गर्न सफल भएको छ । अपलेखन गरिएको कर्जाका साथै अन्य निष्क्रिय कर्जाको असुलीले चालू आर्थिक वर्षको नाफामा सहयोग पुग्ने विश्वास दिलाए ।
बैंकले स्थापनाकालदेखि नै नियमितरुपमा आफना सेयरधनीलाई बोनस सेयर तथा नगद लाभांशको रुपमा आर्कषक मुनाफा दिने गरेकोमा अघिल्लो वर्ष तथा यस वर्ष सोलाई निरन्तरता दिन नसकेकोमा दुःख व्यक्त गर्दै कर्जा नोक्सानी व्यवस्था लगायत अन्य शिर्षकमा रकमान्तर भएको रकम फिर्ता गरी आगामी दिनमा पहिले जस्तै आकर्षक लाभांश दिने कुरामा जोड दिए ।
प्रतिक्रिया