साढे ५ खर्बका आयोजनामा ५१ प्रतिशत लगानी गर्ने समय १५ दिन थपियो
काठमाडौं । विद्युत उत्पादन कम्पनीले साढे ५ खर्ब रुपैयाँभन्दा बढी लागत भएका परियोजनामा लगानीका लागि आह्वान गरेको प्रस्तावका लागि १५ दिन समय थपेको छ ।
कम्पनीले शनिबार सूचना निकालेर १५ दिनको समय थपेको हो । अब यी परियोजनामा लगानी गर्न चाहाने इच्छुक कम्पनीले पुस २३ गते १२ बजेसम्म आवेदन दिन सक्नेछन् । सोही दिन दिउँसो २ बजे आवेदन दिएका कम्पनीहरुको प्रस्ताव खोलिने छ ।
विद्युत उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत बखत बहादुर शाहीले थप कम्पनीहरु आउन् भनेर १५ दिनको समय थपिएको बताए । उनका अनुसार केही कम्पनीहरुले इच्छा देखाएका छन् ।
कम्पनीले वित्तीय लगानीका लागि सार्वजनिक सूचना निकालेर आशयपत्र माग गरेको हो । कम्पनी आफैंले लगानी जुटाउन सक्ने अवस्था नभएपछि सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलबाट आयोजनाहरु विकास गर्न लागेको हो ।
५१ प्रतिशत लगानी गरी साझेदारी गर्न इच्छुक कम्पनीसँग प्रस्ताव मागिएको छ । सुरुमा १५ दिनभित्र प्रस्ताव पेस गर्ने गरी ८ गतेसम्म आवेदन दिन सकिने गरी प्रस्ताव आह्वान गरिएको थियो । १९०२ मेगावाटको मुगु कर्णाली र ४५४ मेगावाटको किमाथांका अरुण जलविद्युत आयोजनामा लगानी जुटाउन प्रस्ताव मागिएको हो ।
मुगु कर्णाली १९०२ मेगावाटको आयोजना जलाशययुक्त जलविद्युत् आयोजना हो । यो जलविद्युत् आयोजनाको सम्भाव्यता अधययन गरिरहेको छ । ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो आयोजनाले ५८८८३.१ गिगावाट आवर उत्पादन गर्न सक्छ । कर्णाली नदीमा पहिचान भएको यो जलविद्युत आयोजना सबैभन्दा माथिल्लो बेल्टमा निर्माण हुनेछ । यो आयोजनाको बाँध करिब २५० मिटर उचाईको हुने अनुमान छ । आयोजनाले कर्णालीका कालिकोट, मुगु, हुम्ला र जुम्ला गरी ४ जिल्लामा निर्माण हुनेछ ।
किमाथांका अरुण जलविद्युत् आयोजनाको ४५४ मेगावाटको अर्ध जलाशय प्रकृतिको हुनेछ । यो परियोजना निर्माणका लागि ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । आयोजना संखुवासभाको भोट खोला गाउँपालिका-२ मा निर्माण हुनेछ । यो आयोजनाको परामर्शदाता नेपाल विद्युत प्राधिकरणको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड हो । विस्तृत अध्ययन पूरा भइसकेको छ । यसका लागि ९३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
प्रतिवेदनअनुसार यो जलविद्युत आयोजनाको इन्टर्नल रेट अफ रिटर्न १३.५८ प्रतिशत रहेको छ । रिटर्न अन इक्विटी (आरओई) १६.८२ प्रतिशत छ । प्रतिकिलोवाट लागत २ लाख ६ हजार ६०८ रुपैयाँ रहेको छ ।
भारतीय अर्बपति गौतम अडानीले मुगु कर्णालीमा लगानी गर्ने इच्छा देखाएका छन् । उनका प्रतिनिधीले विद्युत उत्पादन कम्पनीका सीईओ शाहीसँग छलफल समेत गरेका छन् ।