५ खर्बभन्दा बढी लागतका २ ठूला हाइड्रो पीपीपी मोडलमा बनाइने, मागियो प्रस्ताव  



काठमाडौं ।  विद्युत उत्पादन कम्पनी लिमिटेडले ५ खर्ब रुपैयाँभन्दा बढी लागतका दुई परियोजना सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण अघि बढाएको छ ।

कम्पनीले वित्तीय लगानीका लागि सार्वजनिक सूचना निकालेर आशयपत्र माग गरेको छ । कम्पनी आफैंले लगानी जुटाउन सक्ने अवस्था नभएपछि पीपीपी मोडलबाट आयोजनाहरु विकास गर्न लागेको हो ।

५१ प्रतिशत लगानी गरी साझेदारी गर्न इच्छुक कम्पनीसँग प्रस्ताव मागिएको छ । १५ दिनभित्र प्रस्ताव पेस गर्नुपर्नेछ । पुस ८ गते प्रस्ताव खोलिनेछ ।

मुगु कर्णाली १९०२ मेगावाटको आयोजना जलाशययुक्त जलविद्युत् आयोजना हो । यो जलविद्युत् आयोजनाको सम्भाव्यता अधययन गरिरहेको छ । ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो आयोजनाले ५८८८३.१ गिगावाट आवर उत्पादन गर्न सक्छ । कर्णाली नदीमा पहिचान भएको यो जलविद्युत आयोजना सबैभन्दा माथिल्लो बेल्टमा निर्माण हुनेछ । यो आयोजनाको बाँध करिब २५० मिटर उचाईको हुने अनुमान छ । आयोजनाले कर्णालीका कालिकोट, मुगु, हुम्ला र जुम्ला गरी ४ जिल्लामा निर्माण हुनेछ ।

किमाथांका अरुण जलविद्युत् आयोजनाको ४५४ मेगावाटको अर्ध जलाशय प्रकृतिको हुनेछ । यो परियोजना निर्माणका लागि ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । आयोजना संखुवासभाको भोट खोला गाउँपालिका-२ मा निर्माण हुनेछ । यो आयोजनाको परामर्शदाता नेपाल विद्युत प्राधिकरणको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड हो । विस्तृत अध्ययन पूरा भइसकेको छ । यसका लागि ९३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिवेदनअनुसार यो जलविद्युत आयोजनाको इन्टर्नल रेट अफ रिटर्न १३.५८ प्रतिशत रहेको छ । रिटर्न अन इक्विटी (आरओई) १६.८२ प्रतिशत छ । प्रतिकिलोवाट लागत २ लाख ६ हजार ६०८ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु