१२ तले भवन बनाउने ठाँउमा १९ तलाको नक्सापास, प्रशासकीय अधिकृत गुरागाईमाथि छानबिन हुने



काठमाडौं । काठमाडौं टावर निर्माण गर्न नक्सा पासको स्वीकृती दिने क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले प्रकृया पुरा नगरी स्वीकृत दिएको पाइएको छ ।

१२ तलाको भवन निर्माण गर्ने क्रममा १९ तलाको स्वीकृत दिएको र त्यसमा कुनै पनि प्रकृया गुरागाईले पुरा नगरेको पाइएको छ ।

उक्त प्रकृया पुरा नगर्ने गुरागाईमाथी थप छानविन गरी कानून बमोजिम कार्वाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई सिफारिस गरेको छ ।

‘भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिन्छ’ आज महानगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यस विषयमा थप छानविन गरी नियम विपरित कार्य गर्ने जो कसैलाई कानून बमोजिम कार्वाही प्रक्रियाका लागि सम्वन्धित निकायमा सिफारिस गरिन्छ ।’

कामनपाको आधिकारिक नक्सा पास प्रणाली ईबीपीएस बमोजिम २०८० फागुन २२ गतेदेखि प्राबिधिक कारणले रोकिएको प्रकृया विद्युतिय नक्सा पास प्रणालीमा मिति २०८१ भदौ ३० गते प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुख हरिशचन्द्र लामिछानेलाई फर्वाड गरिएको जारी विज्ञप्तिमा भनिएको छ ।

२०८१ असोज १० गते हरिशचन्द्र लामिछानेले रजिस्ट्रेसन डेस्कको अनिरा तुलाधर,अनिरा तुलाधरले वार्ड ईन्जिनियर शुशिल केसीलाई, शुशिल केसीले निर्मल कुमार भट्टराईलाई र निर्मलकुमार भट्टराईले हरिशचन्द्र लामिछानेलाई फर्वाड गरेका थिए । २०८१ असोज १३ गते हरिशचन्द्र लामिछानेले निर्मल कुमार भट्टराइलाई र २०८१ असोज १८ गते निर्मल कुमार भट्टराईले सुधा रिजाललाई र सुधा रिजालले निर्मलकुमार भट्टराईलाई फरवार्ड गरेका थिए ।

‘मिति २०८१ असोज २० गते निर्मलकुमार भट्टराईले हरिश्चन्द्र लामिछानेलाई फरवार्ड गरी २०८१ पुस ५ गतेका दिनसम्म कामपाको आधिकारिक नक्सा पास प्रणलीमा विभागीय प्रमुखको डेक्समै रहेको देखिन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘उल्लेखित व्यहोरा बमोजिम सो भवनको नक्सा हालसम्म स्वीकृत भएको छैन ।’

काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्कस्थित कित्ता नम्बर १३७३ मा रहेको २३ रोपनी ५ आना ३ पैसा ३ दाम जग्गामा काठमाडौं महानगरपालिकाको नाममा टावर निर्माण गर्न २०७१ फागुन २० महानगरको कार्यपालिका बैठकको निर्णय भई २०७१ फागुन २२ गते जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. र कामनपा बिच दुई पक्षीय सम्झौता भएको थियो ।

जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. र कामनपा बिच निर्माणको अवधि पाँच वर्षसहित ३० वर्षका लागि डिजाइन निर्माण सञ्चालन र हस्तान्तरणको ढाँचामा दुई पक्षिय सम्झौता समेत भएको थियो ।

२०७४ बैशाख ८ गते दुवै पक्षबिच २०७३ बैशाख १३ मा कानमपाले स्वीकृत गरेको नक्साभन्दा विपरीतको संरचना निर्माण गर्न नपाइने गरी सहमति पत्रमा हस्ताक्षर भएको थियो । भवन निर्माण इजाजत जारी सम्बन्धमा दुई तल्ला बेसमेन्ट र जमिन तल्लादेखि १० तल्लासम्म गरी जम्मा १२ तल्लाको निर्माण गर्न नक्सा पास गरेको थियो ।

प्लिन्थ लेभल सम्मको निर्माण कार्य गर्न स्वीकृति प्रदान गरिएकोमा प्लिन्थ लेभलसम्मको निर्माण कार्य सम्पन्न भई कामपाको प्राबिधिक जांच पश्चात प्लिन्थ लेभलभन्दा माथिको नक्सा पास गरिसकेपछि मात्र माथिको निर्माण प्रक्रिया अगाडि बढाउनु पर्ने थियो । त्यसो नगरी डवल बेसमेन्ट प्लिन्थ लेभलभन्दा माथि दुई तल्ला बेसमेन्ट र जमिन तल्लादेखि १० तल्लासम्म जम्मा १२ तल्ला स्ट्रक्चर मात्र निर्माण भएको देखिएको भनि वडा कार्यालयको इन्जिनियरबाट फिल्ड प्रतिबेदनमा पेस भएको थियो ।

जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लिबाट मिति २०८० कात्तिक १ गते नक्सा पास म्याद थप तथा नक्सा संसोधन गर्न (भवन निर्माण मापदण्ड २०८० को एफएआर मापदण्ड बमोजिम) निवेदन पेस गरेको थियो । त्यस्तै काठमाडौँ भवन निर्माण मापदण्ड २०७५ परिच्छेद–२ दफा १३ बमोजिम निर्माण सम्पन्न भएको भवनको हकमा हालकायम रहेको दस्तुर लिई सुपर स्ट्रक्चर नक्सा पास गर्न सकिने व्यवस्था छ ।

निर्माण साझेदार जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. ले सुपर स्ट्रक्चर नलिइ निर्माण गरेको जम्मा बेसमेन्ट सहित १२ तल्लाको लागि जरिवाना लिइ नक्सा पास प्रकृया अगाडी बढाइएकोमा बिभिन्न समयमा कामपाको आधिकारिक नक्सा पास प्रणाली ईबिपीएस मार्फत नक्सा पास प्रकृया अगाडि बढाइएको थियो ।

सोही प्रकृयामा १२ तल्लाको नक्सा पास प्रकृया अगाडि बढाउनु पर्नेमा १९ तलाको संशोधित नक्सा पेश गरेको देखिन्छ । सो नक्सा मिति २०७४ बैशाख ८ गते दुवै पक्षविच भएको सम्झौता बिपरित भएकाले नक्सा संशोधन प्रकृया रोकिएको जनाएको छ ।


क्लिकमान्डु