म एक्लैले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने होइन, लगानीकर्ताको विश्वास डगमगाउन दिन्नँ



म नेपाल धितोपत्र बोर्डको नेतृत्वमा आउनुअघि र नेतृत्वमा आएपछि ममाथि एउटा आक्षेप लगाइएको छ । त्यो हो, नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिनका निमित्त मेरो नियुक्ति भएको हो भन्ने । तर, यति आरोप लगाइरहनु अघि हामी कुन धरातलमा छौं भन्ने बुझ्नुपर्छ । विभिन्न व्यक्तिहरुले विभिन्न मञ्चमा विभिन्न कुराकानी गरे होलान् । तर, म आफैंमा यो पदका लागि योग्य तथा सक्षम भएर र कानुनी प्रक्रिया पूरा गरेर नियुक्त भएको व्यक्ति हुँ । अर्कातर्फ स्टक एक्स्चेन्जलाई अनुमति दिने प्रक्रिया धेरै नै अघि बढिसकेको विषय हो । म अघिको नेतृत्वकै क्रममा निकै काम भइसकेका छन् । म आएर सुरु गर्ने वा म एक्लैले गर्ने काम होइन । फेरि नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिने विषय सेबोन वा मेरो हातमा छैन । नेपाल सरकारले नै अनुमति दिइनुपर्छ ।

म आउनुअघि नै नयाँ स्टकको विषयमा आवश्यक अध्ययन भई प्रतिवेदन पनि तयार गरी बुझाइसक्नु भएको छ । यस्तो परिस्थितिमा म नेपाल सरकारको नीति निर्देशनअनुसार चल्नुपर्छ र चल्नेछु पनि । यो कुरा मैले बारम्बार भन्दै आएको छु र स्पष्ट धारणा पनि यही नै हो ।

नयाँ स्टक एक्स्चेन्जका विषयमा सरकारको स्पष्ट नीति छ र सरकारको नीतिअनुसार अघिबढ्ने नै छु । तर, भइरहेको स्टक एक्स्चेन्जलाई बलियो बनाउनु पर्नेमा म दृढ छु । नयाँ स्टक आए पनि नआए पनि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को सुदृढिकरण आवश्यक छ ।

बोर्ड अध्यक्षमा म नियुक्त भइरहँदा बाहिर भइरहेको टिकाटिप्पणीलाई नियाली रहेको छु । कसैले निजी क्षेत्रको स्वतन्त्र व्यक्तिले बोर्डको जिम्मा पाएकाले प्रशंसा गरिरहेको र कसैले आलोचना पनि गरेको पाएको छु । म आफैंले नेपाल धितोपत्र बोर्डलाई बाहिरबाट धेरै नियालेको थिएँ । यहाँ आइरहँदा बोर्ड सोचेअनुसार नभएको र गर्नुपर्ने धेरै रहेको महसुस गरेको छु ।

समस्त धितोपत्र बजारको नियमन र निगारानी गर्नुपर्ने निकाय भएकाले बोर्ड अध्यक्षको जिम्मेवारी ठूलो छ । संख्या वा परिमाणका आधारमा हेर्ने हो भने पनि निजी क्षेत्रको खर्बौं रुपैयाँ पुँजी लगानीलाई प्रत्यक्ष निगरानी गर्नुपर्ने हुन्छ । उहाँहरुप्रति मेरो ठूलो जिम्मेवारी छ । तसर्थ पनि बाहिर रहेर सोचको भन्दा पनि धेरै जिम्मेवारी निर्वाह गर्न म तयार छु । उहाँहरुको संरक्षण गर्नु नै मेरो धर्म हो ।

म विषयवस्तुलाई तर्कसंगत रुपमा सोच्छु । लगानीकर्ताको संरक्षण भन्ने कुरा विभिन्न मञ्चमा, व्यवहारमा देखेको र सुनेकै विषय हो । तर, लगानीकर्ता संरक्षणको कुरा किन जोडतोडका साथ उठ्छ भन्ने बुझ्न आवश्यक हुन्छ । लगानीकर्ताको संरक्षण हुन सक्यो भने उहाँहरु सुरक्षित महसुस गर्नुहुन्छ । यसले लगानीकर्ताको कन्फिडेन्स अभिवृद्धि गर्दछ । लगानीकर्ताको मनोवल बढ्दामात्र बजार चलायमान र दीगो हुन्छ । त्यसरी मैले बुझेको छु । तसर्थ मेरो सतप्रतिशत जोडबल लगानीकर्ताको विश्वास कायम राखिरहन हुन्छ ।

दोस्रो प्राथमिकता हो, संस्थागत सुदृढिकरण । लगानीकर्ताको लगानी सुरक्षण र हाम्रो जिम्मेवारी पनि ठूलो रहेका कारण नेपाल धितोपत्र बोर्ड र इजाजतप्राप्त निकायहरु पनि उत्तिकै बलियो हुनुपर्छ । ताकि उहाँहरुको लगानी सुरक्षित होस्, बढ्दै जाओस्, बजार दीगो होस् र नियामकीय प्रावधामा स्थायित्व आओस् ।

म धितोपत्र बोर्डमा आएको २ सातामात्र भएको छ । मैले सूचना प्रविधिको क्षेत्रमा काम गर्नुपर्ने देखेको छु । विशेषगरी लगानीकर्ताको जानकारी डिम्याटमा राखिने गरेको र कारोबार पनि अनलाइन हुने गरेको छ । यी सफ्ट इन्फरमेसनलाई कसरी सुरक्षित गर्न सकिन्छ ? भन्ने विषयमा तुरुन्तै केही गर्ने सोच बनाएको छु ।

यस विषयमा बोर्ड मातहतका एक्स्चेन्ज तथा अरु संस्थाहरुलाई एउटा गाइडलाइन जारी गर्नुपर्ने सोचमा छु । आईटी सम्बन्धित गाइडलाइनले सूचनाको सुरक्षा गर्छ । लगानीसँग तथ्यांक जोडिएको हुन्छ । त्यसैले अरु नियामक निकायले तथ्यांकसँग सम्बन्धित निर्देशन बनाएका हुन्छन् । धितोपत्र बोर्डले चाही यस्तो निर्देशन नबनाएका कारण कमजोरी भएको हो कि भन्ने महसुस भएको छ ।

अन्य धेरै काम छन् । धितोपत्र बजारमा अनैतिक क्रियाकलापमा कसरी रोक्ने ? आधुनिकीकरण कसरी गर्ने ? लगानीकर्ताको संख्या र उहाँहरुको सक्रियताले पनि हालको संरचना पर्याप्त नभएको संकेत गर्दछन् । यता धितोपत्र बोर्ड आफ्नै मोडर्नाइजेसन आवश्यक छ ।

बोर्डमा आउनुअघि र पछिको तुलना गर्दा यहाँ अवसर र चुनौती बराबर रहेको पाएँ । धितोपत्र बजारमा साना लगानीकर्ता बहकिने, म्यानिपुलेट हुने जस्ता अवस्था कसरी रोक्ने भन्ने कुरा छन् । यी र यस्तै थुप्रै चुनौती छन् ।

अर्कापट्टी बोर्ड आफैंमा स्थापित भइसकेको निकाय हो । यो नै अवसर हो । नयाँ संस्था भएको भए निकै गाह्रो हुने थियो । पूरानो संस्थामा नयाँ काम गर्न तुलनात्मक रुपमा सजिलो हुन्छ ।

मलाई कुनै स्वार्थ समूहले बोर्डमा ल्याएको भनेर पनि यदाकदा सुन्ने गरेको छु । यो सुन्दा दुःख लाग्छ । मैले गर्ने काम नहेरी यस्तो टिप्पणी नगरिदिनुहुन सबैलाई आग्रह गर्छु । मैले बारम्बार भन्दै आएको छु कि म निष्पक्ष, स्वतन्त्र र व्यावसायिक ढंगले काम गर्ने विश्वास दिलाउन चाहन्छु ।

(नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठसँग रोविन पौडेलले गरेको कुराकानीमा आधारित)


क्लिकमान्डु