पहिलो रेटिङ नै डबल बी माइनस पाउनु सुखद, अब थप सुध्रिऔं: अनलराज भट्टराई



नेपालको डेब्यु शाख मुल्यांकन सकिएको छ । रेटिङ एजेन्सी फिचले बिहीबार बीबी माइनस रेटिङ प्रदान गरिएको जानकारी सार्वजनिक गरेको छ ।

फिचका अनुसार ट्रिपल ए देखि ट्रिपल बी माइनससम्मको क्रेडिट रेटिङले कुनै देश लगानीयोग्य रहेको अर्थ दिन्छ । नेपालले प्राप्त गरेको बीबी माइनस रेटिङ गैरलगानी सट्टा (नन्–इन्भेस्टमेन्ट स्पेकुलेटिभ) वर्गमा पर्छ ।

डबल बी सबै स्पेकुलेटिभ स्केल हुन् । ट्रिपल सी भन्दा कम रेटिङ प्राप्त गरेको भए लगानीका लागि जोखिमयुक्त क्षेत्र मानिन्थ्यो।

तर नेपालले प्राप्त गरेको डबल बी माइनसको अर्थ अल्पकालमा नेपालको लगानीयोग्यता राम्रो रहेको बुझिन्छ । अल्पकालमा समस्या छैन, सबै क्षमता उत्तम छ भन्ने देखाउँछ । सुशासको विषयमा भने सुधार गर्न सक्छौं भन्ने संकेत फिचको रेटिङले देखाएको छ ।

वित्तीय हिसाबले हेर्दा सार्जजनिक ऋण र कुल गार्हस्थ्य उत्पादन (डेट–टु–जीडीपी) पनि सहज स्थानमा छ । बजेट घाटा पनि निणन्त्रण गर्न सक्ने अवस्थामा छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट विस्तारित कर्जा सुविधा (ईसीएफ) नलिएको भए हाम्रो रेटिङ अझै राम्रो आउने रहेछ । बाह्य क्षेत्रको सन्तुलन बिग्रिन्छ कि भनेर आईएमएफबाट लिएको सुविधाले हामीलाई केही समस्या पार्न सक्छ । यद्यपि हामीसँग हाल विदेशी विनिमय सञ्चिति १५ महिनाको आयात धान्न पर्याप्त रहेकाले सो सुविधाको असरलाई डलर सञ्चितिले हटाई दिन्छ ।

फिचको रेटिङ ४–५ महिना अघिको तथ्यांकमा आधारित हो । अहिले बाह्य क्षेत्र सन्तुलन थप सुदृढ भएर आएको छ । अर्थतन्त्रमा आशाका तरंग छाएका छन् । डेट–जीडीपी अनुपात ४४ प्रतिशत छ, बजेट घाटा ५ प्रतिशतमात्र छ । मात्रै कर्जामा छ । सरकार र सरकारी निकायले लिएको कर्जा डिफल्ट छैन । तर, निजी क्षेत्रले लिएको कर्जामा समस्या आइरहेको छ । सरकारले लिएको आन्तरिक ऋणमा समस्या छैन ।

अन्तर्राष्ट्रिय ऋण पनि सबै विकास साझेदार र दौत्य सम्बन्ध भएका मुलुकसँग सहुलियतपूर्ण ऋण हुन् । अर्थात् हामीले कमर्सियल ऋण निकै कम लिएका छौं ।

यसमानेमा नेपालको डेब्यु (पहिलो) रेटिङ स्टेबल रेटिङ हो । ठूलाठूला देशको रेटिङ समेत डबल बीमा छन्। तसर्थ हामी डराउनु पर्दैन ।

छिमेकी मुलुक भारतको ट्रिपल बी माइनस मात्र छ । अर्थात् नेपालले प्राप्त गरेको रेटिङ बंगलादेश, श्रीलंका, पाकिस्तान र माल्दिभ्सको भन्दा राम्रो हो ।

स्पेकुलेटिभ रेन्जमा भए पनि फिचको डबल बी माइनस रेटिङलाई स्टेबल रेटिङको रुपमा लिइन्छ । दक्षिण एशियामा दोस्रो स्थानमा पर्नु हाम्रो लागि गौरवको विषय हो ।

रेटिङको विषयमा जानकारहरुको पनि डबल बी मै आउँछ भन्ने अनुमान थियो । अनुमानित रुपमा आएको छ । बाह्य क्षेत्रलगायत तथ्यांकीय विषयमा सबल भए पनि आर्थिक सुशासन र राजनीतिक विषयमा हामी निकै कमजोर छौं । अर्थात् परिमाणात्मक नजरले हेर्दा निकै सबल र गुणस्तरको नजरले निकै कमजोर देखिन्छ । अर्थात्, राजनीति, कानुन, सुशासन, रिप्याट्रेसनको हिसाबले हेर्दा रेटिङ कमजोर बनाइदिन्छ । राजनीति स्थीर छैन, कानुनी सुधारमा ध्यान दिएका छैनौं ।

यद्यपि बिहीबार सार्वजनिक भएको रेटिङ नेपालको पहिलो रेटिङ हो । ६ महिनामा यो रेटिङको पुनर्मुल्यांकन गराउनुपर्ने हुन्छ । यसरी रिभ्यु गर्दा हामी रेटिङ सुधार गर्न सक्छौं ।

अब त सरकार र ब्युरोक्रेसीमा बसेका व्यक्तिले केही नराम्रो बोलिदिए मात्र पनि रेटिङलाई असर पर्छ । अब नेपालमा लगानी ल्याउन विश्वमा फैलाउने सन्देश प्राप्त भएको छ, त्यसलाई नबिगारौं ।

निष्कर्षमा पहिलो रेटिङले हामीलाई सुखद खबर दिएको छ । फिचले औंल्याएका कमजोरीलाई सुधार गरेर ६ महिनाभित्रै ट्रिपल बीमा लैजाने प्रयास गर्नुपर्छ ।

(रेटिङ र लगानीका विषयमा जानकार रहेका चार्टर्ड एकाउन्टेन्ड पूर्वबैंकर भट्टराईसँगको कुराकानीमा आधारित)


क्लिकमान्डु