विमानस्थल फराकिलो पार्न कहाँ सारिँदैछ हवाई इन्धन डिपो ? डीपीआर गर्न दुई करोड खर्च लाग्ने
काठमाडौं । सिनामंगलको घना बस्तीबीच अति जोखिम अवस्थामा रहेको हवाई इन्धन डिपो सारिने भएको छ । ५० वर्षअघि निर्माण भएको यो डिपो जोखिमका दृष्टिकोणले अनुपयुक्तका साथै विमानस्थल विस्तारको क्रममा ‘ट्याक्सी वे’ र ‘ट्याक्सी वे स्ट्रिप’ को निर्माणसमेत हुन लागेकाले सार्न लागिएको हो ।
विद्यमान स्थानबाट अन्यत्र डिपो सारेर निर्माण गर्नका लागि आवश्यक पर्ने विस्तृत परियोजना अध्ययन(डीपीआर) सम्बन्धी जिम्मेवारी त्रिभुवन विश्वविद्यालयको पुल्चोक इन्जीनियरिङ संस्थानलाई दिइएको छ ।
डिपो सार्ने विषयमा डीपीआर गर्नको लागि संस्थानको कन्सल्टेन्सी सेवा विभाग र नेपाल आयल निगमअन्तर्गतको सिनामंगलस्थित हवाई इन्धन डिपोबीच बुधबार द्विपक्षीय सम्झौता भएको छ ।
एक कार्यक्रमका बीच सम्झौतापत्रमा हवाई इन्धन डिपोका तर्फबाट डिपो प्रमुख प्रदिप यादव र संस्थानको कन्सल्टेन्सी सेवा विभागका सह प्राध्यापक नारायणप्रसाद गौतमले हस्ताक्षर गरेका छन् ।
यादवले तत्कालीन समयमा निर्माण भएको यो डिपोले अहिलेको विश्वस्तरीय सुरक्षाको मापदण्ड र सुविधा दिन न सकेकाले अहिलेको मापदण्ड अनुसार नयाँ स्थानमा सारेर अत्याधुनिक सुविधासहित निर्माण गर्न लागिएको हो।
डिपो प्रमुख यादबका अनुसार डीपीआर गर्नको लागि ६ महिनाको समय तोकिएको छ । निगमको सञ्चालक समितिले डीपीआर गर्न र डीपीआर गर्न लाग्ने खर्च १ करोड ९८ लाख रुपैयाँ बिनियोजनसहित निर्णय गरेपछि डिपो सार्ने विषय अघि बढेको हो ।
डीपीआर तयार भएपछि निगमले उक्त प्रतिवेदन स्वीकृत गरेपछि निर्माण प्रक्रिया अघि बढ्ने यादबले जानकारी दिए । उनका अनुसार डीपीआर प्रक्रिया सकिए लगत्तै बजेटको व्यवस्थापन गरी निर्माणको लागि टेण्डर प्रक्रिया अघि बढाइनेछ । डिपो सार्न ६ अर्ब रुपैयाँ लाग्ने बताइएको छ । डिपोको निर्माण आगामी बर्ष २०८४ मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ ।
पछिल्लो समयमा डिपो सार्ने विषयमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहितको टोलीले समेत स्थलगत भ्रमण गरी भवितव्य जोखिमलाई बिचार गरी सार्न निगमलाई सुझाव दिएका दिए । पछिल्लो समयमा बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गर्दै १ वर्ष भित्र उक्त डिपो सार्न निगमलाई निर्देशन समेत दिएको छ।
उक्त हवाई इन्धन डिपोका कारण सिनामंगल र जागृतीनगरका हजारौं घर उच्च जोखिममा रहेपनि निगमले उक्त डिपो सार्न निगमले चासो देखाएको थिएन । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना निर्देशनालयले केहि बर्ष यतादेखि उक्त हवाई इन्धन भएको डिपो क्षेत्र खाली गर्न निगमलाई पत्राचार गर्दैआएको थियो ।
विमानस्थलसहित जहाजसमेत जोखिममा
विमानस्थलसँगै दक्षिणी क्षेत्रमा रहेको उक्त डिपोका कारण विमानस्थल र जहाजहरु समेत उच्च जोखिममा रहेको बताइएको छ । आइकाओ (नागरिक नागरिक उड्डयन संगठन) को सेफ्टी मापदण्ड विपरीत रहेको उक्त हवाई इन्धनको डिपो त्यहाँबाट हटाउन हवाई यातायात क्षमता अभिवृद्धि आयोजना निर्देशनालयले निगमलाई पत्राचार गर्दैआएको थियो ।
बस्ती र जहाजको सुरक्षाको हिसावले उक्त डिपो अति जोखिम अवस्थामा रहेको हवाई इन्धन डिपोका प्रमुख प्रदिप यादवले पनि स्वीकार गरेका छन् । ‘उक्त डिपो घना वस्ती र आइकाओको सेफ्टी मापदण्ड विपरीत स्थानमा रहेकाले तत्कालै सार्नुपर्ने देखियो,’ डिपो प्रमुख यादवले भने,‘डिपोका कारण भवितव्यमा कुनै घटना भयो भने त्यसले स्थानीय बस्तीमा ठूलो जनधनको क्षति पुर्याउनुका साथै जहाजहरुलाई समेत प्रभाव पार्नेछ ।’
गत साउनमा सौर्य एयरको जहाज अहिले भएको डिपोको ठीक विपरीत पूर्वी क्षेत्रमा खसेर दुर्घटना भएको थियो । त्यो जहाज दक्षिणी क्षेत्रमा खसेको भए ठूलो घटना निम्तिन सक्थ्यो ।
डिपोको विषयलाई सुरक्षासँग पनि जोडेर हेर्नुपर्ने औंल्याइएको छ । त्रिभुवन विमानस्थलमा दुईवटा अन्तर्राष्ट्रिय विमानको भयानक दुर्घटना भएको थियो । टर्किस एयरलाइन्स र विमान बंगलादेशको जहाज दुर्घटना भएको थियो ।
टर्किस विमान अहिले रहेको डिपोनजिकै दुर्घटना भएको थियो । टर्किस एयरलाइन्सको विमान डिपोसँग ठोक्किएको भए ठूलो क्षति हुन सक्थ्यो ।
यादवका अनुसार विश्वमा सबैभन्दा बढी विमानस्थलको रनवे (एयरपोर्ट) निर्माण गरेको जर्मनीको हंसा कन्सलटेन्टले समेत त्रिभुवन विमानस्थलको रनवेसँगै टाँसिएको हवाई इन्धन डिपोका कारण विमानस्थल उच्च जोखिममा रहेको छ ।
उनका अनुसार अधिकांश विमान दुर्घटना टेकअप र ल्याण्डिङ्गको क्रममा चिप्लेर दायाँ–बाँया पुगेर हुने गर्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेसँगै टाँसिएको डिपो छ ।
‘ल्याण्डिङ र टेकअप गर्ने क्रममा पाइलटले थोरै पनि सन्तुलन गुमाएको अवस्थामा वा अन्य प्राविधिकका कारण दक्षिणतर्फ जहाज खसेको अवस्थामा कसैले कल्पना गर्न नसक्ने गरी जनधनसहितको दुर्घटना निम्तिने जोखिम छ,’ यादवले भने ।
विमानस्थल फराकिलो पार्न डिपो सार्ने योजना
२०८४ को मंसिरमा उक्त डिपोको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्देशनालयका निर्देशक दिपेन्द्र श्रेष्ठका अनुसार तोकिएको समयमा उक्त डिपो विद्यमान स्थानबाट छुट्टयाइएको स्थानमा हस्तान्तरण नहुँदा ‘ट्याक्सी वे’ र ‘ट्याक्सी वे स्ट्रिप’ विस्तार र निर्माण कार्य प्रभावित भएको छ ।
‘हामी आफ्नो तर्फबाट द्रुत गतिमा काम गरिरहेका छौं । निगमले समयमा डिपो नसारेका कारण हाम्रो विस्तार र निर्माणको काम अवरुद्ध भएको छ । डिपो नसारिएका कारण ट्याक्सी वेको काम पनि अवरुद्ध भएको छ,’ यादवले भने ।
विमानस्थलको मास्टर प्लानअनुसार अहिले विमानस्थल सुधार गरी फराकिलो र सुरक्षित बनाइदैछ । फराकिलो बनाउने क्रममा आयोजनाले विमानस्थलको मूल रनवे नजिकै समानान्तर ट्याक्सी वे (प्यारालाल ट्याक्सी वे) निर्माण गर्दैछ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठकन (आइकाओ) र मास्टर प्लानअनुसार मूल रनवेको केन्द्रदेखि ट्याक्सी वेबीचको दूरी १७२.५ मिटर कायम गर्नुपर्ने हुन्छ । ट्याक्सी वे निर्माण गर्दा अहिले भएको निगमको हवाई इन्धनको डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था छ ।
त्यस्तै समानान्तर ट्याक्सी वे निर्माणसँगै अर्को ट्याक्सी वे स्ट्रिप (सेफ्टी एरिया) पनि निर्माण गर्नुपर्ने मास्टर प्लानमा उल्लेख छ । यो अर्को ट्याक्सी वे स्ट्रिप पनि निर्माण गर्दा डिपोको सम्पूर्ण संरचना हटाउनुपर्ने हुन्छ ।
ठूला जहाज (वाइड वडी) को पखेटा निक्कै लामो र फराकिलो हुने भएकाले समानान्तर ट्याक्सी वेपछि निर्माण हुने ट्याक्सी वे स्ट्रिपका लागि पर्याप्त खुला स्थान आवश्यक परेको हो ।
अहिले निर्माण गर्ने भनिएको समानान्तर ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिपले ओगट्ने भनेको क्षेत्रफलबाट डिपोलाई अन्य स्थानमा हस्तान्तरण नगरिए विमानस्थलको अन्तर्राष्ट्रिय मापदण्ड पूरा नहुने औंल्याइएको छ ।
‘समानान्तर ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिप निर्माण गर्न अहिले भएको निगमको डिपोको सम्पूर्ण क्षेत्रफल खाली गराउनुपर्ने बाध्यता छ,’ आयोजना निर्देशक श्रेष्ठले भने, ‘त्यो खाली भएको अवस्थामा मात्रै ती दुवैको भौतिक पूर्वाधार निर्माण कार्यलाई अघि बढाउन सकिन्छ ।’
कहाँ सारिँदै छ डिपो ?
सुरक्षाको दृष्टिकोणले हंसा कन्सलटेन्सी, आइकाओ र विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाको मास्टर प्लानअनुसार विमानस्थलको उत्तर पश्चिमको गुहेश्वरीस्थित गोल्फ कोर्स नजिकैको खाल्डो भएको क्षेत्र सबैभन्दा राम्रो मानेको छ ।
मास्टर प्लानअनुसार डिपो त्यहि सार्न करिब ५० रोपनी जग्गा पनि छुट्टयाइएको छ । छुट्टयाइएको क्षेत्र विश्व सम्पदा क्षेत्र सुचीमा सूचीकृतका साथै पशुपति स्मारक मध्यवर्ती क्षेत्रभित्र पर्ने पशुपति क्षेत्र विकास कोषका आयोजना प्रमुख सीताराम रसेलले जानकारी दिए ।
छुट्याइएको खाल्डो भएको जग्गामा माटो पुरेर डिपो निर्माण गर्नुपर्ने अवस्था छ । गहिरो स्थानमै भर्टिकल ट्यांकीसहितको डिपो निर्माण गर्ने निगमको तयारी छ । अहिलेको रनवेबाट ५ मिटर गहिराईमा त्यो ट्यांकीसहितको डिपो निर्माण हुने भएकाले भविष्यमा कुनै पनि प्रकारको जोखिम निम्तन नसक्ने निगमको दाबी छ ।
विमानस्थलको मास्टर प्लानमा अहिले डिपो निर्माणको लागि छुट्याइएको जग्गाको ठिक दक्षिणी भागमा अन्तर्राष्ट्रिय उडानका विमानहरु राख्न पार्किङ्ग निर्माण गर्ने योजना समावेश गरिएको छ । त्यहाँ अत्यन्त महत्वपूर्ण व्यक्तिहरुको लागि भीभीआईपी कक्षसहित अन्तर्राष्ट्रिय विमान टर्मिनल निर्माण गरिनेछ ।
उक्त क्षेत्रमा हवाई इन्धनको माग र खपत अत्यधिक हुने भएकाले सोही स्थानमा निगमको डिपो निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । मास्टर प्लानले फ्युल हाइड्रेन्ट सिस्टमसहित फ्युल डिपो निर्माण गर्नुपर्ने योजना तयार छ ।
यस्तो छ डिपोको वर्तमान अवस्था
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल रनवेको दक्षिणतर्फको गहिरो क्षेत्रमा निगमको हवाई इन्धन डिपो छ । हवाई इन्धन डिपो कार्यालयका अनुसार रनवे र पहिलो डिपोबीच अहिले ९० मिटर दूरी कायम छ ।
माथिल्लो डिपोमा ७० किलोलिटरको ट्याँकी भूमिगत गरेर राखिएको छ भने ७६० किलोलिटर क्षमताको ३ वटा भर्टिकल ट्यांकी छ ।
यस्तै रनवेदेखि १६० मिटरको दूरीमा १६०० किलोलिटरको ३ वटा ट्याँकीसहितको दोश्रो डिपो छ । डिपोमा १ हजार ६ सय किलोलिटरको ३, ७ सय ६० किलोलिटरको ३ र ७० किलोलिटर क्षमताको ८ वटा इन्धन ट्यांक जमीन मुनि छ। १५ दिनको माग धान्ने गरी यो डिपोको कुल भण्डारण क्षमता ७६ लाख ४० हजार लिटर छ । यो डिपोबाट दैनिक करिब ४ लाख ७५ हजार लिटर हवाई इन्धन बिक्री हुँदै आएको छ ।
माथिल्लो डिपो, तल्लो डिपो र फ्युल सेन्टर ओगटेको कूल क्षेत्रफल ३७ रोपनीको छ । जसमध्ये निगमको स्वामित्वको ३२ रोपनी र भाडाको जग्गा ५ रोपनी छ । माथिल्लो डिपोले ओगटेको क्षेत्रफलमध्ये ५ रोपनी जग्गा विमानस्थलबाट भाडामा लिइएको छ भने तल्लो डिपो भएको क्षेत्र निगमको आफ्नै जग्गामा निर्माण भएको छ ।
विमानस्थलको जग्गा भाडामा प्रयोग गरेबापत निगमले वार्षिक करिब ४१ लाख रुपैयाँ त्रिभुवन विमानस्थललाई तिर्दैआएको छ । यसबाहेक विमानस्थलमा हवाई इन्धन बिक्री गरेवापत निगमले बिक्री मूल्यमा ०.३ प्रतिशत ‘थ्रु पुट’ कर पनि विमानस्थललाई तिर्दै आएको छ ।