रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान, ९० दिनसम्म हिरासतमा राख्न मिल्ने



पोखरा । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा समेत अनुसन्धान हुने भएको छ ।

संगठित रुपमा सहकारी ठगी आरोपमा पक्राउ परि हाल कास्की प्रहरीको कारागारमा रहेका उनीहरुलाई सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान अघि बढाउन अदालतले अनुमति दिएपछि लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान हुने भएको हो ।

बिहीबार कास्की जिल्ला अदालतले उनीहरुमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको थियो ।

गत शुक्रबार सहकारी ठगी कसुरमा लामिछाने काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेपछि पोखरा ल्याइएको छ । आइतबार अदालतमा पेस गरेका लामिछानेलाई पहिलोपटक ६ दिनको समय दिएर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । पहिलो पटक दिएको समय सकिएपछि बिहीबार प्रहरीले रवि र छविलाई अदालतमा पेस गरेको थियो ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा भएको बहसमा सरकारी वकिल र प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धानका लागि म्याद थपको अनुमति दिन माग गरेका थिए ।

उक्त कसुरमा अनुसन्धान गर्न २५ दिन म्याद थपको अनुमति माग गर्दै सरकार पक्षले इजलाससमक्ष प्रतिवेदन बुझाएको थियो । तर प्रहरीले ७ दिनको मात्र समय पाएको छ ।

कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले अब तीनवटा कसुरमा अनुसन्धान अघि बढ्ने जानकारी दिए ।

सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि विभिन्न बैंकको स्टेटमेन्ट, सम्पत्तिको विवरण, आम्दानीअनुसार सरकारलाई कर तिरेको विवरणलगायत धेरै कागजात आवश्यक पर्ने भएकाले त्यसका लागि सरकारी पक्षले २५ दिनको समय माग गरेको थियो ।

रविले ग्यालेक्सी टीभीबाट मासिक करिब ६ लाख रुपैयाँ लिने गरेका थिए । डेढ वर्ष उक्त टीभीमा काम गरेका उनले त्यसअघि टेलिभिजन कार्यक्रममा पनि उनले राम्रै रकम बुझ्ने गरेको बताउने गरेका छन् । तर, उनको जीवन शैली र खर्च अस्वभाविक रहेको आरोप लाग्ने गरेको छ ।

संगठित अपराधसम्बन्धी कसुरमा ६० दिन र सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइन् व्यवस्था छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा सारेर अपचलन गरेको आरोप लामिछानेमाथि छ ।

लामिछाने गोर्खा मिडियाले सञ्चालन गरेको ग्यालेक्सी फोरके टीभीका पूर्वप्रबन्ध निर्देशक हुन् भने जोशी पूर्वउपाध्यक्ष हुन् ।

यसबीच सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने र जोशीसहित १२ जनाविरुद्ध रुपन्देहीमा पक्राउ पुर्जी जारी भएको छ ।

बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध किटानी जाहेरी परेको थियो ।

बुटवल लैजाने तयारी

रुपन्देहीमा पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बुटवल लैजाने प्रहरीले तयारी गरेको छ । छविलाई यसअघि नै रुपन्देही लगेर १३ घण्टा बयान लिँदै पोखरा ल्याइएको छ भने रविलाई रुपन्देही लैजाने तयारी गरिएको छ ।

बुटवलको सुप्रिम सहकारीबाट जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ र रविका नामबाट २ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको छ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा जिबी, कुमार रम्तेल, भूपेन्द्रबाबु राईसहित गोर्खा मिडियाकै नाममा १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रुपमा सुप्रिमबाट गोर्खा मिडियामा गएको उल्लेख गरिएको छ ।

लामिछाने पक्राउ परेपछि रास्वपाका नेता कार्यकर्ता आन्दोलित भएका छन् । पोखराका सहिद र वाइ चोकमा रास्वपाले प्रदर्शन गरेको थियो । आजबाट भने रास्वपाले काठमाडौं केन्द्रीत आन्दोलन गर्ने जनाएको छ । रास्वपाले आज १ बजे माइतीघर मण्डलामा बिरोध प्रदर्शन गर्ने तयारी गरेको छ।

जीबीको पत्र: रविले धम्की दिएकाले नेपाल आउन सकिन

यसैबीच साप्ताहिक पत्रिका जनआस्थाको अनलाइन संस्करणमा जीबी राईको तर्फबाट मेल आएको भन्दै समाचार प्रकाशन गरिएको छ । इमेलबाट प्राप्त पत्रको वास्तविकताबारे प्रहरी र सम्बन्धित पक्षसँग बुझ्ने काम भैरहेको भन्दै जनआस्थामा प्रकाशन गरिएको समाचारमा उल्लेख गरिए अनुसार हाल फरार रहेका जिबी राईले सहकारीको अनुसन्धान यसै दिशामा अघि बढे सहजतापूर्वक अनुसन्धानमा सहयोग गर्न छिट्टै आउने उल्लेख गरेका छन् ।

‘म सहकारी पीडितलाई रकम फिर्ता गरी आफ्नो बाँकी जीवन सहजताका साथ बिताउन चाहन्छु । त्यो वातावरण राज्यले बनाइदियोस् । अहिले पक्राउ परेका साथीकै कारण मैले अनुसन्धानमा सहयोग गर्न नसकेको हुँ । मेरो डुबेको लगानी गोर्खा मिडियामा मात्रै हो,’ राईले पठाएको भनिएको मेलमा भनिएको छ, ‘लामिछानेजीकै अनेक आइडियाका कारण म अहिलेसम्म पनि उनको पार्टी र व्यक्तिहरुलाई पैसा बुझाएर बसेको छु । यसतर्फ पनि अनुसन्धान गरियोस् । मित्रले मलाई धेरै पटक नेपाल नआउन दबाब,धम्की सबै दिएका हुन् । म गत वर्ष नै अनुसन्धानलाई सघाउन खोज्दा नेपाल आए ज्यान जानसक्ने धम्की दिएका थिए । आफू मातहतमै सबै अनुसन्धान हुने हुँदा केस मिल्ने भन्दै पार्टी र व्यक्तिका नाममा पैसा असुल गरी नै राखे ।’

लामिछानेले न्युज २४ मै हुँदा आफूलाई धम्की दिएर २ करोड रुपैयाँ लिएको र लामिछानेका सहयोगी दीपक बोहराले टीभीभा लगानी गर्न शर्त अघि सारेपछि आफू अघि बढेको उल्लेख गरेका छन् ।

‘शुरुमा मिडियामा लगानी गर्नु अगावै चिनजानपूर्व नै न्युज २४ मा हुँदा धम्की दिएर २ करोड लिएका हुन् । त्यसपश्चात उनका सहयोगी दिपक बोहराले टिभीमा लगानी गर्ने शर्त अगाडि सारेपछि म अगाडि बढेको हुँ,’ मेलमा उल्लेख गरिएको छ, ‘याक एण्ड यतीको बैठकमा स्वयं दिपक र रविले तपाईंसँग सहकारी छ, त्यहाँको पैसा यता लगानी गर्नुस् हामी नाम र दाम पनि दिन्छौं भनेपछि म अगाडि बढेको हुँ । टिभी नचल्ने देखेपछि र राजनीतिमा जान्छु भनेपछि आफ्नो कर्तुत पनि बाहिर आउने डरले अन्तिम एपिसोडमा नभएका कुरा बोले ।’

लामिछानेले टीभी नै अरुको नाममा राखौं भनेर युवराज कडेँलको नाम ल्याएको मेलमा उल्लेख गरिएको छ । कडेँलले हाल सिधा कुरा नामक अनलाइन र युट्युब चलाइरहेका छन् ।

‘केहीपछि तपाईंलाई गार्हो हुन्छ,मेरो नाम पनि जोडिन्छ,टिभी नै अरुको नाममा राखौँ भनेर युवराज कडेँलको नाम ल्याए । मैले विश्वास नगरेपछि बानियाँ थरका व्यक्तिको नाम अरु कोहीमार्फत उनले नै ल्याए । त्यो प्रस्ताव बानियाँ आफैंले नमानेपछि कुरा रोकियो जस्तो लाग्छ । पछि यो कुरा बाहिर आउन थालेपछि म सबै मिलाउँछु जिबीजी किन आत्तिएको भन्दै सधै पार्टी र आफूलाई आर्थिक सहयोग मागिरहे,’ मेलमा भनिएको छ ।

चितवनको उपनिर्वाचनका बेला पनि आफूले रविलाई पैसा पठाएको उनले बताए ।

‘उपनिर्वाचनको बेला अमेरिकामा रहेका मोहन थापालाई ५ करोड हुण्डी गर्न लगाए । मैले मोहनलाई ५ करोड रविका लागि भनी पठाएँ । पछि पनि अमेरिकामा रहेका उनै बानियाँ थरका व्यक्तिलाई मोहनलाई पैसा पठाउन भन्थे । बानियाँ थरका व्यक्तिले पैसा लिन सधैँ नकारे पनि रवि अघिल्लो गृहमन्त्री रहुन्जेल करिब १२ करोड मैले मोहनलाई पार्टीको लागि भनेर सहयोग पठाएँ,’ मेलमा भनिएको छ, ‘जापानमा डिपीका अर्का अर्याल थरकै व्यक्तिलाई पनि ३ करोड पठाएँ । मोहनले रवि पत्नीको नाममा उक्त रकम अमेरिकाबाट नेपाल पठाउँथे । र, केही रकम रविका अर्का सहयोगी विपिन आचार्यलाई पनि पठाएको स्लिप मेरो मान्छेलाई पठाएका छन् ।’

लामिछानेले आफूलाई नेपाल आउन नदिएको र केही नबोल्न भन्दै दीपक बोहरामार्फत धम्की दिएको राईको आरोप छ ।
‘उनले दिपक बोहरामार्फत केस अगाडि जाँदेन,तपाईं नेपालचाहिँ नआउनु कतै केहि नबोल्नु भनेर धम्काउने/तर्साउने गरे । अहिले रवि आफैं हिरासतमा गएकाले मलाई अब अनुसन्धान सही दिशामा अगाडि बढेमा नेपाल आई आफ्ना कुरा राख्न सहयोग हुनेछ । उनलाई उन्मुक्ती नदिइयोस् । उनी पुर्पक्ष चलान भएमा मलाई नेपाल आउन सुरक्षित महसुस हुनेछ र सबै सहयोग गर्ने र बचतकर्ताको रकम फिर्ता गर्नेछु । राज्यले सहयोग गरोस् ! म सबै बचतकर्ताको रकम बाचा बमोजिम फिर्ता गर्न तयार नै छु ।’


क्लिकमान्डु