रविसहित १२ जनाविरुद्ध रुपन्देहीमा पक्राउ पुर्जी, शुक्रबार पोखराबाट बुटवल लैजाने तयारी



बुटवल । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १२ जनाविरुद्ध रुपन्देहीमा पक्राउ पुर्जी जारी भएको छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित उपाध्यक्ष छविलाल बञ्जाडे जोशी लगायतलाई पक्राउ गर्न जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले अनुमति दिएको हो ।

बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेको थियो ।

यसैबिच पोखरामा प्रहरी हिरासतमा रहेका रवि र छविमाथि थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतले बिहीबार ७ दिनको म्याद दिएको छ ।

छविलाई यसअघि नै रुपन्देही ल्याएर १३ घण्टा बयान लिँदै पोखरा पठाइएको छ भने रविलाई शुक्रबार रुपन्देही ल्याउने तयारी भइरहेको छ । बुटवलको सुप्रिम सहकारीबाट जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ र रविका नामबाट २ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको छ ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा जिबी, कुमार रम्तेल, भूपेन्द्रबाबु राईसहित गोर्खा मिडियाकै नाममा १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रुपमा सुप्रिमबाट गोर्खा मिडियामा गएको उल्लेख गरिएको छ ।


क्लिकमान्डु