सहकारी ठग जीबी राई हेलिकोप्टरमा केक लिएर नेताको जन्मदिन मनाउन जान्थे



काठमाडौं । सहकारी ठगीका बहुचर्चित तथा फरार अभियुक्त गितेन्द्र बहादुर (जीबी) राई कुनै समयमा हेलिकोप्टर चढेर गाँउ गाँउ घुम्ने, र नेताको जन्मदिनमा केक लिएर भेट्न हेलिकोप्टरमा जाने गरेका थिए ।

जब उनले ठगेका सहकारीका बचतकर्ताहरु जुर्मुराए, उनको चुरीफुरी सकियो । चुरीफुरी सकियो मात्र होइन, देशै छोडेर भाग्नु पर्ने स्थिती सिर्जना भयो ।

सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सदस्य संसद लेखनाथ दाहालले विभिन्न आठ वटा सहकारीका बचतकर्ताको बचत अपचलन गर्ने जीबी राई कुनै समयमा हेलिकोप्टर चढेर गाँउ गाँउ घुम्ने र नेताको जन्मदिनमा केक लिएर भेट्न हेलिकोप्टरमा जाने गर्ने गरेको बताएका हुन् ।

समितिको बैठकमा दाहालले हाल उनै राई बचतकतर्चाको अर्बौ बचत ठगेर फरार रहेको बताए । राई अहिले मलेसियामा लुकेर बसेको उनका कुनै समयका गोर्खा मिडिया नेटवर्कका ब्यावसायिक साझेदार तथा निवर्तमान गृहमन्त्री रबि लामिछानेले बताएका थिए । लामिछानेले राईलाई नेपाल फर्काउन मलेसियाका गृहमन्त्रीसँग कुरा गरेको दाबी समेत गरेका थिए ।

यता नेपाल प्रहरीका अनुसार गोर्खा मिडिया नेटवर्क र जीबी राई संलग्न रहेका विभिन्न १० कम्पनीमा सुप्रिम लगायत अन्य सहकारीबाट गेरकानुनीरुपमा ६२ करोड ९९ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।

ऋणीहरु नै डमी सृजना गरिएको सुप्रिम सहकारीबाट १० करोड ९९ लाख तथा उसँग आवद्ध रहेको अन्य १० वटा कम्पनीमा ५२ करोड रकम प्रवाह भएको छ ।

कल्याण उपकारको ५८ करोड ७९ लाख ४९ हजार रुपैयाँ र हाम्रो नयाँ कृषि सहकारीको ७ करोड ७७ लाख ९० हजार रुपैयाँसहित जीबी समूहले ८ वटा सहकारीबाट बचतकर्ताको २ अर्ब २ करोड १० लाख ९४ हजार ३५४ रुपैयाँ अपचलन गरेको विभिन्न तथ्य प्रमाणले देखाएको छ ।

उनको समुहले सहारा बचत तथा ऋण, समानता बचत तथा ऋण सहकारी संस्था, सानो पाइला, सुप्रिम, सुर्यदर्शन र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी पनि हुन् । यी सहकारीबाट पनि बचतकर्ताको २ अर्ब ६ करोड ९८ लाख ७४ हजार रुपैयाँ ठगेका छन् ।

राई सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखरा, सहारा बचत तथा ऋण, समाना बचत तथा ऋण, सानो पाइला, सुप्रिम सहकारी, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, हाम्रो नयाँ कृषि सहकारी संस्था र कल्याण उपकार सेभिङ एण्ड क्रेडिट सहकारीको बचत ठगीमा परेका छन् ।

यी संस्थाबाट जीबी राई तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वर्तमान सभापति र निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत जोडिएका छन् ।

समितिको बैठकमा सांसद दाहालले सहकारीले पुँजी संकलन गरेको र त्यसको परिचालन र संरक्षण गर्न नसकेका कारण आजको अवस्था आएको बताए ।

उनले सहकारीमा समस्या सुरु भएयता को को मन्त्री भए, नियामक निकायमा को को थिए, उनीहरुलाई पनि जिम्मेवार बनाउने बताए ।

समितिको बैठकमा सभापति सूर्य थापाले समितिको अनुसूची १ र २ मा भएका २९ वटा सहकारीको नियमन गर्ने पालिकासँग छलफल गर्ने बताएका छन् ।

समस्याग्रस्त भएका र अनुसूची २ मा रहेका सहकारीहरुको नियमन गर्ने प्रदेश, स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका) लगायत नियामक निकाय सँग छलफल गर्ने बताए ।

बिहीबार समितिको बैठकमा उनले समितिले सबै राजनीतिक दलका सहकारी विभागलाई सहकारीको समस्या समाधान गर्नका लागि लिखित रुपमा सुझाव माग गरेको पनि जानकारी दिए ।

‘हामीले राष्ट्रिय मान्यताप्राप्त मात्रै भन्दा पनि सबै राजनीतिक दललाई सुझाव पठाउनु भनेर लिखित रुपमा पत्राचार गरेका छौं,’ उनले भने, ‘सबै दलले सहकारीका समस्या समाधान गर्न लिखितरुपमा सुझाव पठाएपछि त्यसमा थप केही आवश्यक परेको खण्डका दलको विभाग प्रमुखलाई नै बोलाएर छलफल गर्ने छौं ।’

उनले सहकारी क्षेत्रमा राजनीति हावी भएको, संघ, महासंघले प्रारम्भिक संस्थाको नियमन गर्न नसकेको महशुस भएको बताए ।
सभापति थापाले समस्याग्रस्त सहकारी मात्रै नभएर समितिले राम्रो काम गरेका समुदाय केन्द्रित सहकारीमा अध्यक्ष, सञ्चालक, प्रबन्धकसँग पनि छलफल गर्ने बताए ।

उक्त अवसरमा सांसद ईश्वरी न्यौपानेले तीन खम्बे अर्थनीतिमध्येको एउटा खम्बा भाँचिन थालेको बताइन् । नेपालका सहकारीमा स्रोत नखुलेको पैसा करौडो बचत हुने गरेको र त्यसमा राज्यको ध्यान नपुगेको बताइन् ।

विभिन्न जिल्लामा सहकारीको बोर्ड राख्ने, दिनभर पैैसा संकलन गर्ने र साँझ पिलेनमा काठमाडौं ल्याउने समस्याहरु पनि देखिएको पनि उनले उल्लेख गरिन् ।

सहकारी संस्थाहरुमा बाटोमा मकै पोल्ने, भारी बोक्ने, तरकारी बेच्नेहरुको समेत पैसा फसेको, पेन्सनबाट आएको पैसा फसेको उल्लेख गरिन् । कतिपय अवस्थामा कालोधन, अवैध पैसा पनि सहकारीमा राख्ने गरेको पनि उनले बताइन् । त्यसैले मकै पोल्ने, भारी बोक्ने, तरकारी बेच्नेको पैसा, पेन्सनबाट आएको पैसा फस्नेहरुलाई प्राथमिकतामा राखेर बचत फिर्ता गर्नुपर्ने उनले बताइन् ।

सांसद सरिता भुसालले धेरैले सहकारी बचतकर्तालाई ठग्नकै लागि खोलेको हो की जस्तो देखिएको बताइन् । उनले अहिले पनि सहरका जस्तो गाँउका सहकारीमा समस्या नभएको बताइन् ।

सांसद शिशिर खनालले नियामक निकायको नीति र नियतका कारण पनि सहकारीमा समस्या आएको बताए । उनले सहकारीका सञ्चालकलाई जेल हालेर मात्रै बचत फिर्ता हुने सुनिश्चित नरहेको बताए ।


क्लिकमान्डु