पाँचतारे एभरेष्ट होटल बिक्रीमा, १० अर्ब मूल्यांकन




काठमाडौं । सरकारी रेकर्डमा बन्द रहेको काठमाडौंको नयाँ बानेश्वरमा रहेको पाँचतारे एभरेष्ट होटल नवीकरणबिना नै सञ्चालनमा राखेर बिक्रीको प्रयास भइरहेको छ । यो होटलले १० अर्ब रुपैयाँ पाए बिक्री गर्ने प्रस्ताव अगाडि सारेको छ । ३१ रोपनी क्षेत्रफलमा फैलिएको यो होटल परिसरमा क्यासिनोसमेत छ । तर, होटलको क्यासिनो हाल सञ्चालनमा छैन् ।

सरकारी निकायको तथ्यांकमा भने होटल एभरेष्ट २०७२ सालको भूकम्पपछि बन्द छ । तर, वास्तविकतामा भने होटल मर्मत गरेर पछिल्लो दुई वर्षदेखि नै निरन्तर रुपमा सञ्चालन भइरहेको छ । होटल व्यवस्थापनले यस अघि पनि बिक्रीको प्रयास गरेको यो होटल बन्द भएका कारण मूल्यांकन कम भएको भन्दै रिनोभेसन गरेर सञ्चालन गर्दै होटल बिक्रीको प्रयास गरिरहेको छ ।

भूकम्पछि बन्द भएको यो होटल कोरोना महामारिले थप समस्यामा परेपछि पटक पटक बिक्रीको प्रयास भएको होटल स्रोतले जानकारी दिएको छ । यो होटल सञ्चालन गरेर बिक्री गर्दा मूल्यांकन बढ्ने भएपनि कोरोना महामारीपछि मर्मतसम्भार शुरु भएको यो होटल अहिले पनि आंशिक रुपमा मात्रै सञ्चालनमा आएको होटलको भनाइ छ ।

होटल सञ्चालनमा रहेपनि सरकारी निकायमा यसले सञ्चालनको जानकारी गरेको छैन भने पर्यटक राखेवापत हुने लेनदेनका लागि विदेशी मुद्रा कारोबारको सिफारिससमेत लिएको छैन् । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय अन्तर्गतको पर्यटन विभागबाट होटलले नवीकरणको अनुमति नलिएकोले हो होटलको स्तर वर्गीकरण हाल निलम्बनमा छ ।

होटलले वातावारणीय प्रभाव मूल्यांकन गरेर प्रतिवदेन नबुझाएका कारण यसको नवीकरण भएको छैन । नवीकरण नभएको होटलले विदेशी मुद्रा सिफारिशसमेत नपाउने भएकोले आन्तरिक रुपमा सञ्चालनमा भएपनि त्यसको औपचारिक जानकारी नआएको पर्यटन विभागका होटल शाखा अधिकृत चुनबहादुर तामाङले बताए ।

यो होटलले नवीकरण नगराएको र होटलको स्तरवर्गीकरणसमेत नभएकोले पाँचतारे भन्दै पर्यटक राख्नु ‘पर्यटन ऐन २०३५’ विपरीत विदेशी पाहुना राखिरहेको छ । ऐनले दर्ता तथा नवीकरण बिनाका होटलले विदेशी पर्यटक राख्न नपाउने व्यवस्था गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागका अनुसार होटल एभरेष्ट २०७० मंसिर १२ पछि नवीकरण भएको छैन । यसले सरकारसँग होटलले सञ्चालन अनुमति लिएको छैन । पर्यटन मन्त्रालयको अद्यावधिक तथ्यांकमा ‘द होटल एभरेष्ट इन्टरनेसनल’ नामको यो होटल औपचारिक रूपमा बन्द छ ।

१६० कोठा रहेको यो होटलका ७६ कोठासहितको सेमिनार हल र रेस्टुरेन्ट नियमित सञ्चालनमा छन् । २८० कोठा क्षमताको यो होटलले १५५ जनाभन्दा बढीलाई रोजगारी दिन्छ । यो होटलले २०४२ माघ २२ गते पहिलोपटक स्तर वर्गीकरण भएर पाँचतारे स्तरको मान्यता पाएको थियो ।

पर्यटन विभागका अनुसार हरेक पाँच वर्षमा होटल व्यवसाय नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । होटल नवीकरण नहुँदा विदेशी मुद्राको कारोबार, पर्यटकीय सेवा सुुविधा प्रवाह र सरकारबाट लिने कुनै पनि सुविधा प्राप्त हुँदैन । यो होटलले पुनः सञ्चालन गर्ने भनेर वातावरणीय प्रभाव मूल्यांकन (आईईई) गर्ने अनुमति भने लिएको विभागले जनाएको छ ।

होटल नवीकरण गराउँदा हरेक ६ महिनाको आवधिक प्रतिवेदन बुझाउनुपर्ने हुन्छ । नवीकरण गर्न कुनै शुल्क तिर्नु पर्दैन । शुल्कबिना नै नवीकरण हुने भए पनि होटलहरूले अटेर गर्ने गरेकाले अब पर्यटन ऐन संशोधन गरेर कस्न खोजिएको विभागले जनाएको छ ।

होटल नवीकरण नहुँदा नयाँ पर्यटकीय सवारी साधन ल्याउन, भन्सार छुट, विदेशी मुद्रा विनिमय कारोबारसहितका गतिविधि ठप्प हुन्छ । पर्यटकीय सेवाका उद्योगलाई पाँच प्रतिशतमात्रै भन्सार तिरेर आवश्यक सामग्री आयात गर्न सरकारले नै सहजीकरण गर्छ ।


राजु बास्कोटा