सुपर ग्लुले टालेर निगमको जहाज उडाउन खोज्ने ३ इन्जिनियर निलम्बनमा, विमान उडान अनिश्चित




काठमाडौं । नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानको एक न्यारोबडी मर्मतमा कमजोरी गर्ने तीन जना इन्जिनियर निलम्बनमा परेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले म्यानुफ्याक्चर कम्पनीको सिफारिश बिनाका पाटपूर्जा प्रयोग गरेको र जहाज मर्मतमा कमजोरी गरेको भन्दै निगमका तीनजना इन्जिनियरलाई अर्को सूचना जारी नभएसम्मको लागि निलम्बन गरेको छ ।

प्राधिकरणका अनुसार निगमको ए ३२० नामक ९एन एकेडब्लु कलसाइनको जहाज भदौ ८ गते शनिबार नै समस्या आएको थियो ।

उक्त जहाज मर्मत गर्दा गरेको कमजोरी लुकाउन बिदाको दिन विज्ञप्ति जारी गरेर भोलिदेखि नै उडान गर्छौं भनेका थिए ।

निगमको उक्त जहाज मर्मतमा गम्भीर कमजीरी भएको गुनासो आएपछि प्राधिकरणले आवश्यक निरीक्षण गरेको थियो । उक्त जहाज मर्मत गर्दा म्यानुफ्याक्चरिङ कम्पनी बाहेकको पाटपूर्जा प्रयोग गरेको भेटिएको छ । सोही कारण निगमका इन्जिनियरलाई निलम्बन गरेर थप अध्यन भइरहेको छ ।

प्राधिकरणअनुसार निगमको उक्त जहाजको बिहीबार परीक्षण उडान भएको छ । उक्त जहाज उडानयोग्य भएको विषयमा भने अझै प्राधिकरण स्पष्ट हुन नसकेकोले जहाजलाई उडाउने अनुमित दिइएको छैन ।

निगमका कर्मचारीले उक्त न्यारोबडी जहाज मर्मत गर्दा एउटा खोल्नुपर्ने हाइड्रोलिक चेक जाँचको लागि अर्कै खोलेको र हाइड्रोलिक लिकेज भएको टाल्न सुपर ग्लु प्रयोग गरेको आरोप लागेको छ ।

सोही विषयमा प्राधिकरणले थप अध्ययन गरेर कारबाही गर्न मर्मतमा संलग्न ३ जना इन्जिनियरलाई कामकाज गर्न रोक लगाएको हो ।

चरम लापरवाही र प्राविधिक कर्मचारीले कमजोरी गरेर जहाज उडान सुरक्षामा सम्झौता गर्न खोजेको भन्दै हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको जहाज उडाउने क्रममा एकपछि अर्को कमजोरी फेला पार्दै गएको छ ।

वायुसेवा निगम नेतृत्वको कमजोरी भएको र पटक पटक स्पष्टीकरण सोध्दा पनि चित्तबुझ्दो जवाफ नआएको तथा हवाई क्षेत्रको उडानमा सम्झौता गर्न खोजेको भन्दै निगम अध्यक्ष युवराज अधिकारीलाई प्राधिकरणले एकाउन्टेबल म्यानेजरबाट हटाएको छ ।

अधिकारीलाई त्यसअघि नै सरकारले कार्यकारी अध्यक्षबाट समेत हटाएको छ । अधिकारी अदालतको आदेशले पद थमौती भएर बसेको पदाधिकारी हुन् ।


क्लिकमान्डु