सुपर ग्लुले हाइड्रोलिक लिकेज टालेर जहाज उडाउन खोजेपछि…



काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय तर्फको जहाज उडानमा चरम लापर्वाही गरेको पाइएको छ । निगमको एयरवसको ए३२० नामक ९एन एकेडब्लु कलसाइनको जहाज भदौ ८ गते शनिबार प्राविधिक समस्या आएर ग्राउन्डेड भएको थियो ।

उक्त जहाज उडाउन निगमका कर्मचारीले एउटा खोल्नुपर्ने हाइड्रोलिक चेक जाँचको लागि अर्कै खोलेको र हाइड्रोलिक लिकेज भएको टाल्न सुपर ग्लु प्रयोग गरेको बुझिएको छ ।

निगमको प्राविधिक टिमले आज बुधबारबाट निगमको दुईवटै वाइडबडी ग्राउण्डेड हुने भएपनि जसरी पनि उडान गर्नुपर्ने दबाब परेको भन्दै हाइड्रोलिक लिकेज टाल्न सुपर ग्लुको प्रयोग गरेको निगम स्राेतले नै क्लिकमाण्डुलाई जानकारी दिएका छन् ।

निगमको चरम लापरवाही र प्राविधिक कर्मचारीले कमजोरी गरेर जहाज उडान सुरक्षामा सम्झौता गर्न खोजेको भन्दै हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा उजुरी पर्यो । निगमको जहाज मर्मतमा कमजोरी भएको उजुरीपछि आवश्यक निरीक्षणबाट मात्रै जहाज उडानु भनेर प्राधिकरणले उक्त जहाजको उडानमा रोकसमेत लगाइदिएकाे छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेद्र भुलले भने ‘जुन तरिकाले मर्मत गरेको भन्ने गुनसो आएको छ त्यो सही छ छैन भनेर जाँचबुझ गर्न एक न्यारोबडीको उडानमा रोक लगाएको हो । उक्त जहाजको विषयमा प्राधिकरणका प्राविधिकले निरीक्षण गरिरहेका छन् । मंगलबारदेखि नै भएको निरीक्षण पूरा नहुँदा बुधबार पनि उक्त जहाज रिलिज हुन सकेको छैन् ।’ प्राधिकरणको प्राविधिक टोलिले आवश्यक निरीक्षण गरेर ठीक छ नभनेसम्म उक्त जहाज उडानमा रोक लागि नै रहने पनि उनको भनाइ छ ।

निगमले उक्त जहाज मर्मतका क्रममा हाइड्रोलिक लिकेज टाल्न सुपर ग्लु प्रयोग गरेको भन्ने उजुरी प्राधिकरणमा पुगेको छ । प्राधिकरणले हवाई उडान सुरक्षामा कुनै कमजोरी हुन नदिन जहाजको आवश्यक निरीक्षण गर्न खोजेको पनि उनले बताए ।

प्राधिकरणले नियमन गर्न खोज्दा एकातिर निगमकै कर्मचारी अनावश्यक कडाइ भयो भन्दै हिड्ने र अर्कोतर्फ हवाई सुरक्षामा कमजोरी गर्दासमेत कारबाही नगरे प्राधिरकणले वेवास्ता गर्यो भन्ने गरेका छन् । निगमको जहाजमा देखाइएको कमजोरी स्पष्ट नभएसम्म जहाज नउड्दा कुनै फरक नपर्ने तर उडान सुरक्षित भने हुनुपर्ने भन्दै प्राधिकरणले आवश्यक निरीक्षण गरेको बताएको छ ।

३ वटा अन्तर्राष्ट्रिय उडानका जहाज ग्राउण्डेड

निगमको एउटा एयरबसको ए३३० नामकको ९एन एएलवाई कलसाइनको जहाज असार ९ गतेदेखि इटलीको एटीटेक एसपीएमा सिचेक गर्ने भन्दै मर्मतमा छ । यो जहाज एक महिनाभित्रै आइपुग्नुपर्ने भएपनि अझै आउने टुंगो लागेको छैन् ।

निगमको एउटा न्यारोबडी ८ भदौदेखि ग्राउन्डेड छ भने अर्को एउटा ए३३० नामक ९एन एएलजेड कलसाइनको वाइडबडि जहाजसमेत सिचेकेकै लागि आज बुधबार राती इटली जाँदै छ । निगमसँग अन्तर्राष्ट्रिय उडानमा भएका ४ वटा जहाजमध्ये एकैपटक ३ वटा ग्राउण्डेड हुँदा अब निगमसँग ए३२० को ९एन एकेएक्स कलसाइनको मात्रै जहाज बाँकी छ । एउटा जहाजले ४ वटाको गन्तव्य धान्न नसक्ने हुँदा पछिल्लो समय निगमको उडान अस्तव्यस्त भएको छ ।

आज सीचेकमा जाँदै गरेको जहाज पनि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृती लिई ४५ दिन वा ३०० उडान घण्टासम्म उडान थप भएको वायुसेवा हो । अर्को वाइडबडी नआइपुगेपछि थप उडानको समय सकिन लागेको र सीचेकमा जानैपर्ने भएपनि मर्मतमा गएको जहाज नफर्कदै अर्को जहाज पनि मर्मतमै जाँदै छ ।

वायुसेवा निगमका अनुसार मंगलबार बिहान काठमाडौंबाट हङकङ जानुपर्ने निगमको एक न्यारोबडी जहाज लापरवाहीपूर्ण तरिकाले मर्मत गरेको भन्दै ग्राउण्डेड भएपछि यसले गर्ने उडान तालिका प्रभावित भएको हो । निगमले दुई वटा वाइडबडी सीचेकमा पठाउने भएपछि बुधबारदेखि न्यारोबडीको मात्रै उडान तालिका बनाएको थियो । त्यसमा पनि एउटा मात्रै उडेका कारण यसका अरु उडान प्रभावित हुँदा दैनिक ५ सय यात्रुलाई समस्या परिरहेको निगमकै कर्मचारीको भनाइ छ ।

वायुसेवा निगका प्रवक्ता रमेश पौडेलले भने निगमले नियमसंवत र प्राविधिकले तोकिएको स्यार्ण्डड अनुसार नै मर्मत गरेको जहाज प्राधिकरणको निरीक्षणका क्रममा दुई दिनदेखि रोकिएको बताए । उक्त जहाज बुधबार साँझसम्ममा रिलिज भए तुरुन्तै नियमित उडानमा आउने पनि बताए ।

निगमका प्राविधिक कर्मचारीले जहाज मर्मतमा कुनै सम्झौता नगरेर र तोकिएके स्तरमा मर्मत भएको जानकारी सम्बन्धित विभागका प्राविधिक कर्मचारीले दिएको पौडेलले बताए । उनले भने ‘वाइडबडी दुईवटै सीचेकमा परेको र एउटा न्यारोबडीको उडान रोकिएकोले एउटा न्यारोबडीले मात्रै उडान थान्न समस्या भएको बताए । उनका अनुसार दुइवटै न्यारोबडी उडानमा प्रयोग हुने र २ महिनादेखि सीचेकमा भएको वाइडबडी पनि छिट्टै ल्याएर नियमित उडानमा प्रयोग गर्ने पनि बताए ।


क्लिकमान्डु