पहिलो पुस्ताका असफल व्यवसायीः यसरी डुबे एकपछि अर्को, नयाँ पुस्ताले के सिक्ने ?
काठमाडौं । पहिलो पुस्ताका स्थापित व्यवसाय जसले अहिलेका युवापुस्तालाई गाइड गर्नुपर्नेमा छिट्टै धनी हुने महत्वकांक्षाका कारण अनुपालनामा ध्यान नदिँदा असफल भएका छन् । उनीहरुको अर्को पुस्ता व्यवसायमा आउनै नसक्ने गरी थलिन पुगेका छन् । छोटो समयमै रोलमोडल बनेका व्यवसायीहरु पलभरमै भुईंमान्छे बन्दा नयाँ पुस्तामाझ गलत सन्देश गएको छ । यो समाचारभित्र आधा दर्जन असफल व्यवसायीहरु कसरी उचाइमा पुगे र भूईंमा झरे भनेर तथ्यमा आधारित विश्लेषण गरिएको छ।
लक्ष्मीबहादुर-जितबहादुर
सिन्धुपाल्चोकका नरसिंहबहादुर श्रेष्ठले एनबी ग्रुपको जग हालेका थिए । उनका छोरा लक्ष्मीबहादुर र जितबहादुरले ग्रुपलाई अगाडि बढाउदै बैंक, वित्त, जलविद्युत् तथा उद्योग क्षेत्रमा व्यवसाय विस्तार गरेका थिए । कुनै समय एनबी ग्रुप निकै ठूलो व्यापारिक घराना थियो ।
एनबी ग्रुपको ५० प्रतिशतभन्दा बढी लगानी भएका नेपाल बंगलादेश र एनसीसी बैंकको अस्तित्व समाप्त भएको छ भने एनबि इन्स्योरेन्स पनि आइएमइमा गाभिएर अस्तित्वमा छैन । यस्तै देशकै पहिलो निजी क्षेत्रले निर्माण गरेको हाइड्रोपावर नेशनल हाइड्रोपावरबाट एनबी ग्रुप करिब-करिब निकालिएको छ ।
पब्लिक कम्पनी नै आफ्नो निजी सरह चलाउने एनबी ग्रुपको नीतिले शक्ति केन्द्र रिझाउन सफल भए पनि व्यवसाय अगाडि बढेन ।
एनबी ग्रुपको परिवारका सदस्यहरुबीच सम्पत्ति हस्तान्तरणको विषयमा सधैं किचलो परिरहन्थ्यो । जसकारण नेपालमा धेरैवटा बिजनेसको सुरुवात गर्ने यो समूह अहिले धुलिसात भएको छ । अदालतमा अत्याधिक बढी मुद्दा हाल्ने कारणबाट एनबी ग्रुप बदनाम छ ।
एनबी ग्रुपका अधिकांश सदस्यलाई बैंकिङ कसुरको मुद्दा लागिसकेको छ भने बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिरेपछि कालोसूचीमा पनि परेका छन् । बैंकिङ कसुरको मुद्दा भने शक्ति केन्द्रसँग गरेको चलखेलबाट उम्केका थिए ।
बैंकिङ कसुरको मुद्दा परिवारका सदस्यलाई लाग्ने भएपछि जितबहादुर श्रेष्ठ र उनका छोराहरुको नाममा रहेको सम्पत्ति लक्ष्मीबहादुरका छोरा एल्सन श्रेष्ठको नाममा नामसारी गरिएको थियो । तर, सर्वोच्च अदालतले उनीहरुलाई सफाइ दिएको थियो।
लक्ष्मीबहादुरका छोरा एल्सन श्रेष्ठ अमेरिकामा थिए। अमेरिकामा बस्ने उनी एनबी ग्रुपले ऋण लिएका कम्पनीको व्यवस्थापन र सञ्चालक थिएनन् ।
एनबी ग्रुपका लक्ष्मीबहादुरका दुईवटा छोरा एल्सन र विल्सन श्रेष्ठ हुन् भने जितबहादुरका जेन, जस र जिवेश श्रेष्ठ हुन् । जितबहादुर कालोसूचीबाट हटेपछि एल्सनको नाममा नामसारी भएको सम्पत्ति फिर्ता गर्न भनेका थिए।
सम्पत्तिको विवाद भएसँगै एनबी ग्रुप प्रष्टरुपमा विभाजन भयो । एनबी ग्रुपको नेतृत्व लक्ष्मीबहादुर श्रेष्ठले गरेका छन् । एनबी ग्रुपबाट बाहिरिएका जितबहादुर श्रेष्ठले जेन ग्रुप खोलेका छन् ।
जितबहादुरले आफूले विश्वास गरेर अधिकार दिएको र अधिकार दिएको व्यक्तिले एनबी ग्रुपमा इमानदारीपूर्वक काम नगरेको कारण ग्रुप छाडेको बताएका छन् । जितबहादुरले भाइ लक्ष्मीबहादुरको परिवारले धोका दिएको आरोप लगाएका छन्।
स्थापित एउटा व्यवसायिक समूहमा देखिएको किचलो र असफलता नयाँ पुस्ताका लागि झस्काउने अस्त्र नै बन्यो । एनबी ग्रुपका जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठ दाजुभाइबीचको सम्पत्ति विवादले यसका स्थापित व्यवसाय तितरबितर मात्रै भएनन् उनीहरुको शाखःसमेत शून्यमा झर्यो ।
चण्डीराज ढकाल
चण्डीराज ढकालले सन् १९९६ मा २९ करोड रुपैयाँ ऋण लिएर खोलेको मोमेन्टो एपेरिएल्स नामक गार्मेन्ट उद्योग एक दशकमै नेपालको स्थापित कम्पनी बन्न पुगेको थियो ।
नेपालकै सबभन्दा ठूलो गार्मेन्ट उद्योग बन्न सकेको र निर्यातका हिसाबले उत्कृष्ट कम्पनी बनेको मोमेन्टोले ४ हजार कर्मचारीलाई रोजगारी दिन थालेको थियो । लगातार ४ वर्ष सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याएको भनेर मोमेन्टोलाई सरकारले सम्मान पनि गरेको थियो । सन् २०१२ मा मोमेन्टो बन्द भयो । व्यवसाय स्थापित भइसकेपछि त्यसलाई जोगाउन नसकेको कारण चण्डीराज बैंकको कालोसूचीमा मात्रै परेनन्, असफल व्यवसायी सूचीमा दर्ज भएका छन् ।
निजी क्षेत्रकै सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघका शक्तिशाली अध्यक्ष भएर रजगज गरेका ढकाल असफल व्यवसायीको सूचीमा परेपछि एकाएक हराउँदै गए । उद्योग बन्द भएपछि स्थिर सम्पत्ति बिक्री गरेर भए पनि राष्ट्रिय वाणिज्य बैंकको ऋण तिर्न लागेका भए उनी रिभाइभ हुन सक्थे । तर उनी मन्त्री, प्रधानमन्त्री, शक्तिशाली नेता, गभर्नर, सचिव, प्रहरी प्रशासन लगायतलाई भनसुन गर्न लगाएर थामथुम गर्दै बसे ।
सुरज वैद्य महासंघको अध्यक्षमा चुनिएको बेला चण्डीलाई ऋणमुक्त हुने अवसर थियो। केही व्यवसायीहरु मिलेर चण्डीलाई ऋणमुक्त गराउन लागि परे । यतिसम्म कि चण्डीराजसँगै सुरज पनि बैंकसँग नेगोसेसन गर्न गए । त्यो बेला चण्डीले तिर्नुपर्ने करिब अर्ब रुपैयाँ थियो । लामो छलफलपछि ५५ करोड रुपैयाँ तिर्ने भए बैंकले लिलामी प्रक्रिया अघि नबढाउने नेगोसेसन भयो । तर, उनले आफूसँग १०/१५ करोड रुपैयाँमात्रै भएको भन्दै त्यत्रो पैसा तिर्न नसक्ने बताए । त्यसपछि महासंघको नेतृत्वले बैंक र अर्थ मन्त्रालयसँग चण्डीको ऋण असुलीको विषयमा छलफल गर्यो । महासंघ नेतृत्वले दबाब दिएपछि बैंकले ५० करोड तिरे पुग्छ भन्यो ।
चण्डीले केही दिनको समय मागे । तर, हप्तादिन पछि आएर ५० करोड पनि बढी भयो ४० करोड पनि तिर्न सक्दिन भन्ने जवाफ दिए । त्यसपछि चण्डीलाई ऋणमुक्त बनाउन लागेका सुरज वैद्य, भाष्करराज कर्णिकारहरु जिल्ल परे । र, उनीहरुले यो विषयमा लबिङ गर्न छाडिदिए ।
ऋण नतिर्नका लागि बन्द भएको आफ्नो उद्योगलाई रुग्ण उद्योगमा राख्न सरकारी अधिकारीहरुलाई दबाब दिए । महासंघ नेतृत्वले पनि तीब्र लबिङ गर्यो । तर त्यो योजना सफल हुन सकेन ।
२०७५ पछि पनि चन्डीलाई ऋण तिर्न दबाब बढ्यो । २०७६ को कोरोना महामारीले दबाब केही कम भयो । यसबीचमा ढकालले विदेशी साझेदार ल्याउने प्रयास गरे तर अहिलेसम्म पनि सफल भइरहेका छैनन् ।
ढकालले दुबईको प्रफेक्ट इन्ड्रष्टिज ग्रुपलाई साझेदार बनाएर भित्र्याउने र बैंकको ऋण पनि तिर्ने प्रस्ताव पेश गरे। विदेशी साझेदार भित्र्याउने प्रस्ताव ल्याएपछि ऋणको पुनसंरचना गर्ने, पुनसंरचना गरिसकेपछि धितोको मूल्यांकन गर्ने र त्यसका आधारमा आयोजना अघि बढाउने समझदारी बन्यो ।
वाणिज्य बैंकको २९ करोड साँवा, त्यसको ब्याज र हर्जना जोड्दा अर्ब रुपैयाँ बढी असुल्न बाँकी देखियो । बैंकले साँवा बराबर ब्याज तिर्नुपर्छ भनेको थियो । त्यो भनेको ५८ करोड रुपैयाँ हो । तर, चण्डीले ५० करोड रुपैयाँ तिर्छु भनेका थिए, रकमको फाइनल नेगोसिएशन हुन बाँकी थियो । लगभग टुंगिने स्थितिमा पनि थियो।
एउटा मिलन बिन्दु खोजिँदै थियो । त्यसका लागि चण्डीले बैंकलाई टोकन मनिका रुपमा १० करोड रुपैयाँ तिर्नुपर्ने, सम्पत्तिको स्वघोषणा गर्नुपर्ने र रुग्ण उद्योगमा चलिरहेको प्रक्रियाको बारेमा एउटा चिठ्ठी ल्याउन बाँकी थियो । त्यो चण्डीले दिन सकिरहेका छैनन् । निजी क्षेत्रको सर्वोच्च संस्था हाँकेका चण्डी व्यवसायमा भने असफल भए ।
पियुषबहादुर अमात्य
सन् १९९८ मा नेपालले पहिलो पटक नेपाल भ्रमण वर्ष मनाएको बेला पोखरामा १ सय ६५ कोठाको एउटा पाँचतारे होटल खुल्यो। ‘वन अफ द ग्रेटेस्ट होटल इन द वर्ल्ड’ थिममा खुलेको होटलको नाम थियो ‘फूलबारी रिसोर्ट’ ।
पोखरामा ४०० रोपनीको विशाल क्षेत्रफलमा फैलिएको रिसोर्ट सुरु गर्ने व्यवसायी थिए, दरबारनिकट पियुषबहादुर अमात्य । तत्कालीन समयमा फूलबारी रिसोर्टलाई नेपालको मात्र नभई दक्षिण एसियाकै ठूलो रिसोर्टको रुपमा लिइएको थियो ।
रिसोर्ट लामो समयसम्म गज्जबले चल्यो । अमात्यले मनग्य पैसा पनि कमाए । तर, विडम्बना खानदानी व्यवसायी अमात्यको ‘डाउनफल’ पनि बन्यो- त्यही फूलबारी रिसोर्ट ।
राजा र राजपरिवारका व्यक्ति विदेशमा जाँदा व्यक्तिगतरुपमा डलर व्यवस्थापन गर्न सक्ने हैसियत भएका अमात्यको बायोडाटामा फूलबारीको असफलताले बैंक डिफल्टरका रुपमा खराब चरित्रको परिचय थपिदियो । जीवनको धेरै कालखण्डमा सफल उनी उत्तरार्धमा आइपुग्दा असफलताको ट्याग भिर्न बाध्य भए ।
फूलबारी ओरालो लाग्नुको कारण विभिन्न छन् । माओवादी सशस्त्र द्वन्द्व, दरबार हत्याकाण्ड र पियुषबहादुरको एटिच्युड ।
देशमा संकटकाल लागेपछि पर्यटकको संख्या घट्दै गयो । साथै, अमात्यले सुरु गरेका बियर या स्टिलका अन्य व्यवसायसमेत सफल भएनन् ।
२०६२/६३ पछि शान्तिप्रक्रिया सुरु भयो । त्यसपछि नेपालमा पर्यटकको संख्या बढ्न थाल्यो । माओवादी शान्ति प्रक्रियामा आएपछि उद्योग तथा प्रतिस्ठानमा श्रमिक आन्दोलन अत्यधिक चर्किए । जसको असर फूलबारीले थेग्न सकेन ।
व्यवस्थापनको कौशलसमेत अमात्यमा देखिएन । अवस्था यतिसम्म खराब भइदियो कि होटलले कर्मचारी र कामदारलाई नियमित तलबसमेत पाउन सकेनन् । कर्मचारीलाई होटल व्यवस्थापनले अवकाश दियो ।
लामो समयदेखि बैंक र रिसोर्ट सञ्चालक पियुषबहादुरबीच विवाद थियो । ऋण लगेदेखि पियुषबहादुरले केही करोड रुपैयाँमात्रै तिरेका थिए । रिसोर्ट बन्द भएपछि उनले बैंकको साँवा-ब्याज तिरेनन् । बैंक र अमात्यबीच लामो समय छलफल र वार्ता पनि हुन सकेन । फलस्वरुप बैंकले कालोसूचीमा राख्यो । उनका काठमाडौंलगायत अन्य ठाउँमा रहेका जग्गा पनि रोक्का भए ।
‘अमात्यको शक्ति भनेको दरबार थियो, दरबार नै शक्तिहीन भएपछि उनले व्यवसाय चलाउन सकेनन्,’ अमात्यसँग नजिक रहेका एक व्यवसायी सुनाउँछन्, ‘बैंकसँग नेगोसिएसनमा गएर, कर्मचारी व्यवस्थापन गरेपछि होटल चल्न सक्ने थियो, अमात्य रुग्ण उद्योगमा पारेर सुविधा लिने खेलमा लागे, जसले गर्दा होटल सञ्चालन नै हुन सकेन ।’
२०६५ वैशाखमा अमात्यले जसरी पनि रिसोर्ट सञ्चालन गर्ने आश्वासन दिएपछि नेपाल बैंकले कालोसूचीबाट हटाउँदै सोही वर्षको जेठमा ऋण असुली न्यायाधीकरणबाट समेत मुद्दा फिर्ता लियो ।
तर, अमात्यले ऋण सल्टाउन गरेको प्रयासले काम गरेन । त्यसको ६ वर्षपछि नेपाल बैंकले १५ दिने सूचना र २०७२ सालमा ३५ दिने सूचना प्रकाशित गर्यो । तर, अमात्यले ऋण तिर्न कुनै चासो देखाएनन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला उनको ब्याज मिनाह गरिदिएर ऋण तिर्ने प्रयास भएको थियो । तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले बैंक व्यवस्थापनलाई दबाब पनि दिए तर सफल हुन सकेनन् ।
यसबीचमा अमात्यले चिनियाँ व्यापारीलाई १० अर्ब रुपैयाँमा ८० प्रतिशत सेयर बेच्ने कसरत नगरेका होइनन् । तर त्यो पनि सफल भएको थिएन ।
उसो त अमात्यले २०७३ सालमा साँवा मात्रै बुझाउने प्रस्ताव पेस नगरेका होइनन् । रुग्ण उद्योगका रुपमा साँवाबापतको १ अर्ब ३१ करोड रुपैयाँ लिएर बैंकसमक्ष पुगेका अमात्यको प्रस्ताव बैंकका लागि स्वीकार्य हुने कुरै भएन । त्यसैले उनको त्यो प्रस्ताव त्यत्तिकै तुहियो।
नेपाल बैंकले उक्त ऋणलाई २०७६ मा पुनः संरचना गर्यो । र, साँवा १ अर्ब ३१ करोड र साधारण ब्याजमात्रै २ अर्ब ३६ करोड रुपैयाँ गरी कुल ३ अर्ब ४७ करोड रुपैयाँ निस्कियो ।
त्यसपछि अमात्यले रिसोर्ट सञ्चालन गर्ने तर यसका लागि थप २५ करोड रुपैयाँ थप ऋण आवश्यक भएको प्रस्ताव बैंकसमक्ष पेस गरे । तर, अब भने अन्तर्राष्ट्रिय चेन होटल मेरियटले रिसोर्ट सञ्चालन गर्ने भन्ने प्रस्ताव पेस गरे । अमात्यको भनाइअनुसार २०७७ वैशाखबाट मेरियटले रिसोर्ट सञ्चालन गरिसक्नुपर्ने थियो ।
लामो समयसम्म पनि रिसोर्ट सञ्चालनमा नआएपछि अमात्य र बैंकबीच पटक-पटक कैयन छलफल भए । तर, निचोड निस्कन सकेन ।
अमात्यसँगको छलफल सकरात्मक नभएपछि कन्सोल्टियम लिड गरेको नेपाल बैंकले २०७९ असार ३ गते फूलबारी रिसोर्ट लिलामीको सूचना निकाल्यो । लिलामी रोक्न माग गर्दै अमात्यले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरे । बैंकले कानुनी प्रक्रिया सुरु गरेपछि अमात्यले विभिन्न शक्तिकेन्द्र र अदालत प्रयोग गरेर प्रक्रिया अघि बढ्न दिएनन् । तर यसपटक भने पाटन उच्च अदालतले लिलामी प्रक्रिया रोकेन ।
अमात्यले अन्ततः विदेशी साझेदार भित्र्याएर रिसोर्ट सञ्चालन गर्ने प्रक्रिया अघि बढाए । लामो समयको छलफलपछि रिसोर्टले २ अर्ब ७५ करोड तिर्ने र २०८० असार मसान्तभित्र बैंकले सम्पत्ति फुकुवा गर्ने समझदारी भएको थियो ।
‘रिसोर्टलाई पुनः व्यवस्थित ढंगले चलाउ सिंगापुरको म्यारिएट डीसँग सम्झौता गरिसकेको छु,’ अमात्यले भने, ‘बैंकले छिटो काम गरिदिए भने छिटो रिजल्ट निस्कन्छ । तर, बैंकहरु ऋण तिर्छुभन्दा पनि ल्याङगरिङ गरिरहेका छन् ।’
ऋण तिर्छुभन्दा पनि बैंकहरुले सम्झौताअनुसार समयमा काम नगरिदिँदा समस्या परेको उनको भनाइ छ ।
सुधीर बस्नेत
डेढ दशकअघि सफलता चुमेर नेपाली बिजनेस कम्युनिटीका नबोदित राजकुमारको पहिचान बनाएका सुधीर बस्नेत व्यवसायको शिखरमा अडिन नपाउँदै ग्वार्लाम्म भूईंमा झरेका छन् । काठमाडौंमा अग्ला बिल्डिङ ठड्याएर र सहकारीमा उच्च ब्याज दिएर आम मान्छेको मन जित्न सफल सुधीर अहिले असफल व्यवसायीको सूचीको अग्रपंतिमा आउँछन् ।
०६२/६३ देखि ०६५/६७ सालसम्म सुधीर बस्नेतले एक बचनमै करोडौं रकम बटुल्थे । बैंकदेखि सर्वसाधारणसम्म सुधीरलाई पैसा दिन लालायित हुन्थे। सुधीरको ओरेन्टल सहकारीमा बचत गरेका बचतकर्ताले अहिलेसम्म बचत फिर्ता पाउन सकेका छैनन् भने हाउजिङ र अपार्टमेन्टका बुकिङकर्ताले अहिलेसम्म घरबारबिहिन हुनु परेको छ ।
अति महत्वकांक्षा र अव्यवस्थित म्यानेजमेन्टले बस्नेतलाई पूर्णत असफल सावित गरिदियो । सुधीरलगायतको समस्या समाधान गर्न सरकारले अधिकारसम्पन्न आयोगहरु पनि गठन गरिसकेको छ। यद्यपि अहिलेसम्म समस्या ज्यूँकात्यूँ छ ।
समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन गर्न सरकारले गठन गरेको अधिकारसम्पन्न समितिको प्रतिवेदनअनुसार बस्नेतले ओरेन्टल सहकारीका निक्षेपकर्ता, विभिन्न हाउजिङ तथा अपार्टमेन्टका बुकिङकर्ता, बैंक, व्यक्ति र सरकारलाई तिर्नुपर्ने कर दायित्व गरी कूल १६ अर्ब रुपैयाँभन्दा बढी तिर्नुपर्ने दायित्व छ ।
कमल ज्ञवाली
०६२/६३ सालतिर काठमाडौंमा घरजग्गाको भाउ आकाशियो । ज्ञवाली घरजग्गाको कारोबारमा सक्रियताका साथ संलग्न भए । साझेदारीमा जग्गा प्लटिङ पनि गर्थे उनी । बैंकहरुले पनि घरजग्गाको प्लटिङमा ठूलो लगानी गरेका थिए । तत्कालीन किष्ट बैंक त घरजग्गामा लगानी गर्ने बैंकमा अग्रपंक्तिमै पर्थ्यो ।
पैसा कमाउन आक्रमक तरिकाले लागेका ज्ञवालीले छोटो समयमै मनग्ये पैसा कमाएका थिए । ०५२ सालमा १० हजार रुपैयाँ बोकेर गुल्मीबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका ज्ञवालीले १०/१२ वर्षमै ३ अर्ब रुपैयाँको हाराहारीमा सम्पत्ति कमाइसकेका थिए । त्यो सबै कमाइको स्रोत सेयर र घरजग्गा थियो।
घरजग्गाकै कारण सन् २००८ को विश्व आर्थिक मन्दी आयो । गभर्नर विजयनाथ भट्टराईको पालामा राष्ट्र बैंकले ०६६ पुस २ गते घरजग्गा क्षेत्रमा २५ प्रतिशतभन्दा बढी लगानी नगर्न बैंकहरुलाई परिपत्र गर्यो । राष्ट्र बैंकको त्यही परिपत्रपछि नेपालमा पनि घरजग्गा करोबारमा मन्दी आयो ।
ज्ञवालीले ५० करोड रुपैयाँभन्दा बढी घरजग्गामा लगानी गरेका थिए । ०६७ सालतिरको बजार मूल्यअनुसार उनीसँग २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको सेयर थियो ।
त्यसबेला ज्ञवाली नेपालमा धनीहरुको सूची निकाल्नुपर्यो भन्दै माग गर्न थालिसकेका थिए । किनकि उनी आफूलाई देशकै धनाड्य व्यक्तिहरुमध्ये एक ठान्थे ।
किष्ट बैंकमा मात्र उनले आफ्नो र अरुको नाममा किनेको गरी ४० लाख कित्ताभन्दा बढी सेयर थियो । सिद्धार्थ डेभलपमेन्ट बैंक लगायतमा पनि उनको सेयर थियो ।
०६६ पछि घरजग्गाको कारोबार ठप्प जस्तै भयो । सेयर बजार लगातार घट्यो । लगानीयोग्य पुँजी ९तरलता० अभाव लगायतका समस्याका कारण बैंकिङ क्षेत्र ठूलो दबावमा पर्यो ।
१ वर्षको अवधिमा भएका यी ३ वटा घटना ज्ञवालीका लागि आकाश खसेझैं भयो।
आफूसँग भएको सेयर र घरजग्गा बेचेर त्यसबेलै ऋण सल्ट्याएका भए उनी यो स्थितिमा आइपुग्ने थिएनन्। तर, केही समयमै घरजग्गा र सेयरको मूल्यमा सुधार आउला भन्ने आशमा उनले पहिलेको ऋण थेग्न ऋणमाथि ऋण थप्न थाले ।
परिस्थित झन भयावय बन्दै गयो । संकट टरेन । उनी झन् समस्यामा फस्दै गए ।
यस्तै समस्यामा फसिरहेका बेला ज्ञवाली विरुद्ध राष्ट्र बैंकमा उजुरी पर्यो । त्यसबेला गभर्नर थिए डा। युवराज खतिवडा । ज्ञवालीसँग खतिवडाको इगो प्रोब्लम थियो।
ज्ञवालीले गभर्नरका लागि नाम सिफरिसमा परेका तत्कालीन डेपुटी गभर्नर बीरबिक्रम रायमाझीलाई गभर्नर बनाउन लबिङ गर्दै हिँडेका थिए । तर, उनको लबिङ सफल भएन । खतिवडा गभर्नर भए । त्यसपछि खतिवडाले ज्ञवालीलाई सिध्याउने दाउ कुरेर बसिरहेका थिए । त्यही बेला ज्ञवालीबिरुद्ध उजुरी पर्यो ।
उजुरीका आधारमा राष्ट्र बैंकले ०६९ मा ज्ञवालीमाथि छानबिन गर्यो । छानबिनका क्रममा ज्ञवालीले १२ करोड रुपैयाँ पर्ने धितोमा साढे १५ करोड रुपैयाँ ऋण दिएको देखिएपछि जम्को प्रकाशन प्रालिबाट साढे ३ करोड रुपैयाँ तत्काल उठाउन निर्देशन दियो ।
किष्टले जम्कोबाट तत्कालै साढे ३ करोड रुपैयाँ उठायो पनि । सो काण्डमा राष्ट्र बैंकले ज्ञवालीलाई ५ लाख रुपैयाँ जरिवाना तिरायो । तर, ऋणी किशोर ढकाललाई भने बैंकिङ कसुर अन्तर्गत मुद्दा दायर गर्न सीआईबीलाई पत्राचार गरियो । सीआईबीको अनुसन्धानमा ढकाललाई दिएको ऋण ज्ञवालीले नै प्रयोग गरेको खुलेपछि प्रहरीले मुद्दा दर्ता गर्यो । पाटन उच्च अदालतले जेल र ६ करोड ६५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनायो । नेपाल प्रहरीले भारतको नयाँदिल्लीबाट २०७५ असोज १५ गते पक्राउ गर्यो । अहिले उनी जेल सजाय भुक्तानी गरिरहेका छन् ।
यसरी खोलिएको थियो किष्ट बैंक
गुल्मीको मध्यमवर्गीय परिवारमा जन्मिएका ज्ञवाली काठमाडौं आएर पढाइसँगै काम गर्न थाले । सुरुमा पढाउँथे । पछि नयाँ सोच लिएर वित्तीय क्षेत्रमा हात हाले।
ज्ञवालीले ०५९ सालमा ५ करोड रुपैयाँमा ‘पावर टु सक्सिड’ भन्ने मूल नाराका साथ किष्ट मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स खोले ।
फाइनान्स कम्पनी हुँदा किष्टले तीन पटक ५, १० र ३ प्रतिशतमात्रै नगद लाभांश दिएको थियो । तर, उनले त्यो फाइनान्सलाई स्तरोन्नति गरी २ अर्ब चुक्ता पुँजी पुर्याउँदै ०६६ साल बैशाख २४ गते ‘क’ वर्षको वाणिज्य बैंक अर्थात् किष्ट बैंक बनाए । त्यसबेला किष्टलाई उनले सबैभन्दा बढी अर्थात् ५१ शाखा भएको बैंक बनाए । किष्टका प्रबन्ध निर्देशक थिए ज्ञवाली ।
हकप्रद सेयर दिएर ५ बाट १० करोड, १० बाट २० करोड, २० बाट ६० करोड र ८० करोडबाट एकैचोटी २ अर्ब रुपैयाँ पुँजी पुर्याएइएको थियो । हकप्रदको बाढीले किष्टको सेयर सूल्य आकासियो । त्यसबेला किष्टको एक कित्ता सेयरको मूल्य १८ सय रुपैयाँसम्म पुगेको थियो ।
उनी जतिजति सफल हुँदै गए, त्यतित्यति उनको लोकप्रियता पनि बढ्दै गयो। सफलता र लोकप्रियताले उनलाई झन् महत्वाकांक्षी बनाउँदै लग्यो ।
घरजग्गा र सेयरमा ऋणमाथि ऋण थपेर लगानी बढाउँदै गएका ज्ञवाली अन्तत जम्को प्रकाशनका नाममा किष्ट बैंकबाटै र सिद्धार्थ डेभलपमेन्ट बैंकबाट ऋण लिएर दुरुपयोग गरेको रहस्य खुलेपछि फरार भएका थिए ।
ज्ञवालीविरुद्ध सीआइबीले ठगी आरोपमा मुद्दा दायर गरेपछि किष्ट बैंकले आफ्नो अस्तित्व गुमायो । तत्कालीन प्रभु विकास बैंकले ०७१ भदौ ३० गते किष्ट बैंकलाई गाभेर प्रभु बैंकको नाममा एकीकृत कारोबार गरिसकेको छ ।
किष्ट किनेको प्रभुले भने ०७१ माघ १३ गते ज्ञवालीको बैंकमा रहेको सेयर बेचेर सावाँ ९व्याजसहित २३ करोड रुपैयाँ असूल पनि गरिसकेको छ ।
ज्ञवालीलाई नजिकबाट चिन्नेहरुका अनुसार ज्ञवाली अति नै महत्वाकांक्षी थिए । महत्वाकांक्षाकै कारण उनी मध्यमवर्गीय परिवारबाट अर्बपति बने । र, त्यही महत्वकांक्षले उनी अर्बपतिबाट सडकमा झरे ।
इच्छाराज तामाङ
इच्छाराज तामाङ अर्थात् अर्बपति व्यवसायी । सिभिल होम्स, सिभिल सहकारी, सिभिल समूह र सिभिल बैंकका अध्यक्ष । नेपाल कम्युनिष्ट पार्टी एमालेका समानुपातिक सभासद् पनि ।
सिभिल सहकारीको प्रयोग गरेर सिभिल होम्सका नाममा नेपालमा व्यवस्थित बसोबास निर्माण गर्ने क्रममा व्यवसायको आकार बढ्दै जाँदा त्यसको व्यवस्थापन गर्न नसकेर पैसाको थुप्रोले किचेर उठ्नै नसक्ने अवस्थामा पुगेका छन् अहिले उनी ।
सहकारीका सबैभन्दा ठूला ठग, राज्यलाई कर छल्ने र कालोधनका कारोबारी भनेर परिचित छन् अहिले तामाङ। उनको ठगीको जालोमा सयौं मान्छेहरु परेका छन् । उनले प्रत्येक व्यक्तिबाट कम्तिमा ४ हजारदेखि १४ करोड रुपैयाँसम्म ठगी गरेको भेटिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
तामाङले यतिधेरै व्यक्तिलाई ठगी गर्न सानो समय खर्चेका छैनन् । आफ्नो कम्पनीमा विश्वास गरेर आएका सदस्यलाई दुई दशकदेखि जालोमा पारे । २०५७ सालमा १ लाख रुपैयाँ सेयर लगानी गरेर ठगीको जालो फिँजाएका तामाङ डेढ दशकैमै अर्बौंका मालिक बने । यो अवधिमा उनको सानसौनक र ऐश्वर्यको ग्राफ सिधै उकालो मात्रै थियो । डेढ दशकअघि नै व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) लिएर हिँड्ने तामाङसँग कीर्तिपुरको ट्याङ्लाफाँटमा १० रोपनी जमिनमा बनेको २६ हजार बर्गफिटको अलिशान बङ्ला थियो । उनको घरभित्र छिर्न धेरैवटा कम्पाउनड क्रस गर्नुपर्थ्यो ।
उनको कार्यालय रहेको सिटीसी मलमा तामाङका लागि छुट्टै लिफ्ट थियो । जसको चाबी पीएसओले बोक्थे । मध्यमवर्गीय परिवारमा जन्मे हुर्केका तामाङले व्यवसायमा हात हालेको केही वर्षमै राजसी जीवन रोजेको देखेर स्थापित व्यवसायीहरु पनि चकित थिए।
उच्च राजनीतिक नेतृत्वसँगको हिमचिम कम्ता थिएन तामाङको । उनी आफूले चाहेजस्ता नीति नियम बनाउन सक्थे त्यसबेला ।
पैसाको आडमा एमालेका तर्फबाट संविधानसभाका सभासद्समेत बने ।
सहकारी, बैंक तथा वित्तीय संस्था र व्यक्तिबाट ऋण लिएर घरजग्गा व्यवसायमा लगानी गर्दै आएका तामाङले सुरुमा राम्रो नाफा कमाए । त्यसपछि अन्धाधुन्ध ऋण लिएर लगानी विस्तार गरे । एउटा यस्तो समय थियो बैंकका सीईओहरु तामाङलाई ऋण लिइदिनुपर्यो भन्दै घरसम्मै धाउँथे।
तर, व्यवसायको चक्र बिग्रिएपछि उनी विस्तारै नगद प्रवाहको समस्यामा पर्दै गए। आफूसँग भएको सम्पत्ति बेचेर ऋण तिर्नुपर्नेमा सहकारीका बचतकर्ताको बचत निजी कम्पनीमा हाले । सहकारीकै बचतकर्ताको रकम बैंकको किस्ता तिर्न पनि प्रयोग गरे ।
सहकारीका सदस्यले पाउने ऋणको अधिकतम सीमाको धज्जी उठाउँदै तामाङले निजी सम्पत्ति जसरी गरेर सहकारीको बचत चलाए । त्यहीँबाट सुरु भएको उनको ओरालो यात्रा राजनीकि शक्ति र पैसाको आडमा केही वर्ष रोकिए पनि पछि आएर लड्न पुगे ।
एमाले अध्यक्ष केपी ओलीसँग घनिष्ट सम्बन्ध रहेका तामाङ शक्ति, सत्ता, पैसा र सन्किपनको भरमा जसलाई जति ठगे पनि पचाउन सक्छु भन्ने मानसिकताले ग्रसित थिए । उनको ठगीले सीमा नाघेपछि ओलीले साथ छोडिदिए । अन्ततः उनी प्रहरी हिरासतमा पुगेरै छाडे ।
ठगीको जालोले ठडिएको तामाङको अर्बौंको साम्म्राज्य गर्ल्यामगुर्लुम्म ढलेको छ।
तर, त्यसअघि नै उनी सहकारी ठगीमा पक्राउ परेर हिरासतमा थिए । २०७८ असोज १८ गतेदेखि पक्राउ परेका तामाङमाथि सिभिल बचत तथा ऋण सहकारीका १५०३ सदस्यको उजुरीका आधारमा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ८२ पैसा बिगो र ८ वर्षको कैद सजाय दाबीसहित ०७८ मंसिर १७ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ ।
हाउजिङका बुकिङकर्ता ठगिएको उजुरीका चाङ पनि उस्तै छन् । हाउजिङ निर्माणको लागि आवश्यक पर्ने निर्माण सामग्री सप्लाई गर्ने कम्पनीलाई समेत ठगेका छन् । सप्लायर्स कम्पनीबाट निर्माण सामग्री ल्याउने पैसा नदिने गरेर पनि धेरै कम्पनीलाई उनले ठगेका छन् । कतिपय व्यक्तिलाई तामाङले जग्गा दिने भनेर पैसा लिने तर जग्गा पास गरेर नदिने, घर दिने भनेर पैसा लिने तर घर पास गरेर नदिने, लिएको पैसा पनि फिर्ता नगरेर पनि ठगेका छन् ।
यी सबै मुद्दामा तामाङ दोषी देखिए भने उनले १०/१२ अर्ब रुपैयाँको हाराहारीमा जरिवाना तिर्नुपर्ने देखिन्छ । होइन, भने बाँकी रहेको अधिकांश जीवन जेलको चिसो छिँडीमै बिताउनुपर्ने हुन्छ । घरजग्गा र सेयर बजार उच्च मूल्यमा पुगेका बेला उनीसँग करिब १२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति भएको सीआईबीका अधिकारीहरु बताउँछन् । यसमध्ये उनका कतिपय सम्पत्तिहरु बैंकले लिलामी गरिसकेका छन् ।
विनोदबहादुर श्रेष्ठ
नेपालको हवाई उड्डयनमा स्थापित ब्राण्ड बनिसकेको र स्थापनको १३ वर्षमा १३ वटै जहाज बनाएर आन्तरिक उडानमा एकछत्र राज गरिसकेको नेकोन एयर महत्वकांक्षाले डुब्यो । यसले दुईवटा न्यारोबडी जहाज ल्याएर अन्तर्राष्ट्रिय उडानसम्मको योजना बनाएको थियो ।
२०४८ सालमा स्थापना भएको नेकोन एयरले सर्वसाधारणलाई १७ करोड ९२ लाख रुपैयाँको सेयर जारी गरेको थियो । त्यसपछि भने सञ्चालकहरुले नै आफ्नो लगानी उठ्यो भन्दै एयरलाइन्सलाई दोहन गर्न थाले । जसका कारण तत्कालीन नेकोन एयरका सञ्चालकहरू विनोदबहादुर श्रेष्ठ, दीपकराज कोइराला, दीपमणि राजभण्डारी, मृगेन्द्र जोशी, मुकुन्दभक्त श्रेष्ठ र रवीन्द्रलाल श्रेष्ठ कर्जा सूचाना केन्द्रको कालोसूचीमा छन् ।
सञ्चालक नै फरार भएपछि एउटा स्थापित भइसकेको र नाफामा चल्दाचल्दैको वायुुसेवा बन्द हुन पुग्यो । नेकोन नेपाली उड्डयन इतिहासकै लागि असफल र महत्वकांक्षी सञ्चालकको नियतिले कसरी वायुसेवा डुब्दो रहेछ भन्ने तथ्य स्थापित भएको छ । नेकोनको समस्यापछि अहिलेसम्म नेपालमा संचालनमा रहेका कुनै पनि कम्पनी पब्लिक छैनन् । नेकोनले सर्वसाधारणलाई १७ करोड ९२ लाख रुपैयाँको सेयर जारी गरेको थियो । नेपाल स्टक एक्सचेन्जले यसको सूचिकरण खारेज गरिसकेको छ ।
२०४८ सालमा स्थापना भएको नेकोन एयरले छोटो समयमा सफलता सहित कहिल्लै उठ्न नसक्ने गरेर हराएको कम्पनीमा पर्छ। वर्षको चार महिना बराबरको तलब बोनस दिने कम्पनी संचालकहरुको कमिसन मोहले गर्दा डुबेको हो ।
चार महिनाको नाफाको बोनस खुवाउने नेकोन एयरले अहिलेसम्म पनि कर्मचारीको तलब भुक्तानी गर्न सकेको छैन । तलब वापत ५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । बन्द भएको नेकोन एयरको पुरानो जहाज म्युजियममा देख्न सकिन्छ ।
पहिलो पुस्ता स्थापित यी व्यवसायीहरु महत्वकांक्षा र गलत व्यवस्थापनका कारण डुबेको प्रतिनिधिमूलक उदाहरणमात्रै हुन् । यी बाहेकका अन्य व्यापारी, उद्योगी, बैंकरदेखि सहकारी सञ्चालकसम्म डुबेका छन् । व्यवसायी डुब्ने र पहिलो पुस्ताको असफलताले नयाँ पुस्तालाई झस्काउने कारण अनेकौं छन्।
पछिल्लो समय सहकारी अभियानबाट साम्राज्य खडा गरिरहेका जीबी गाई, केदारनाथ शर्मा, केबी उप्रेती, सुरेन्द्र भण्डारी, रवीन्द्र चाैलागाईं लगायत व्यक्तिहरु पनि भूइँमा बजारिएका छन् । सूर्यदर्शन, आइडियल यमुना, शिवशिखर, गौतमश्री, पशुपति, लालीगुराँस, इमेज, देउरालीसहितका ठूला सहकारी डुबेका छन् ।
सहकारीका सञ्चालक राजनीतिक पहुँच प्रयोग गर्नेदेखि सर्वसाधारणको बचत दुरुपयोग गरेरै आफैं सर्वेसर्वा भएका कारण आफूमात्रै डुबेनन् सर्वसाधारणले खाइनखाइ गरेर जम्मा गरेको बचत पनि डुबेको छ ।
पहिलो पुस्ताका असफल व्यवसायीलाई देखेका, भोगेका र त्यसबाट पाठ सिकेका कतिपय दोस्रो पुस्ता जमेर व्यापार व्यवसायमा आउनसमेत डराएका छन् । व्यवसायिक साम्राज्य खडा गरेका त्यस्ता व्यक्ति जो उचाइमा पुगेर सडकमा झरे, तिनैका कारण अर्थतन्त्रलाई धक्का दिने कामसमेत भएको छ ।