दशैंलाई छैनन् सस्ता टिकट, न्यूनतम हवाई भाडा नै ५ हजारसम्म महँगो, कहाँ पुग्न कति ?



काठमाडौं । हरेक दशैंमा सर्वसाधारणको यात्रा गतिविधि बढ्ने भएकोले स्थलमार्गदेखि आकाश मार्गसम्मको टिकट चर्चामा आउने गर्छ ।

स्थलमार्गबाट काठमाडौं बाहिर जाने यात्रुको लागि बुकिङ खुल्दा नखुल्दै आकाशमार्गबाट जानेको बुकिङ भने प्याक भइसक्ने गरेको छ ।

काठमाडौंबाट टाढा हुनेहरुले समयको बचत, सहजै पुग्न र खर्च गर्न सक्ने क्षमता भएकाले हवाई टिकेटलाई नै प्राथमिकता राख्ने गरेका छन् । तर, विगतका वर्षहरु जस्तै यो वर्ष पनि हवाई टिकेट दशैंको लागि माग बढ्ने हुँदा वायुसेवा कम्पनीले सोही अनुसार भाडा पनि बढाइरहेका हुन्छन् । अन्य समयमा सस्तो टिकट बेच्ने वायुसेवा कम्पनीहरु दशैंका लागि सस्ता हवाई बन्द गरेर महँगो मात्रै बिक्री गरेर बसेका छन् ।

दशैंको घटस्थापना सुरु हुन २० दिनमात्रै छ । दशैं लागेसँगै काठमाडौंबाट विभिन्न गन्तव्यमा जाने यात्रुको चाप बढ्ने हुँदा त्यो बेला वायुसेवा कम्पनीले पनि हवाई भाडा बढाउने गरेका छन् । दशैंको फूलपातिको दिनलाई आधार बनाएर सम्बन्धित वायुसेवा कम्पनीबाट लिएको हवाई भाडादर अनुसार दशैंको भाडा अहिले दशैं अगाडिको तुलनामा ५ हजार ४ सय रुपैयाँसम्म महँगो छ।

दशैंको तुलनामा दशैं अगाडिको हवाई टिकट काठमाडौंबाट बाहिरिने सहरी गन्तव्यमा धनगढी जाँदा यात्रुले न्यूनतम ५४ सय रुपैयाँ बढी रकम तिर्नुपर्छ । काठमाडौंबाट धनगढी जान दशैं अगाडि (आइतबार, ३० भदौ)को न्यूनतम हवाई भाडा ७ हजार ९ सय रुपैयाँ रहेको छ । यही गन्तव्यमा दशैंको फूलपातिको दिनलाई न्यूनतम हवाई भाडा नै १३ हजार ३ सय रुपैयाँ छ ।

सम्बन्धित वायुसेवाले सार्वजनिक गरेको हवाई भाडाको दर अनुसार हालको न्यूनतम भाडादरको तुलनामा दशैंको लागि बुकिङ भइरहेको भाडादरमा चल्तिका गन्तव्य अन्तर्गत काठमाडौंबाट राजविराज ३९ सय, भद्रपुर ३७ सय, विराटनगर २२ सय, नेपालगन्ज २९ सय, जनकपुर ६ सय, सुर्खेत ४५ सय, भैरहवा १८ सय, सिमरा ४७० रुपैयाँ महँगो छ ।

वायुसेवा कम्पनीहरुले भने दशैंको समयमा काठमाडौंबाट बाहिरिने यात्रु एकातर्फी मात्रै हुने भएकोले अन्य समयको तुलनामा भाडादर केही महंगो हुने दाबी गर्दै आएका छन् ।

बुध्द एयरका बजार निर्देशक रुपश जोशी सरकारले तोकेकै सीमाभित्र रहेर हवाई भाडा निर्धारण भएकोले तोकिएकोभन्दा बढी नभएको दाबी गर्छन् । ‘हवाई भाडा महँगो होइन सरकारले जति लिन पाउने सीमा दिएको छ त्यही सिमाभित्र बसेर भाडा लिइएको हो,’ उनले भने ।

आन्तरिक उडानमा सबैभन्दा बढी जहाजसहितको धेरै उडान गर्ने वायुसेवा पनि बुध्द एयर नै हो । यो वायुसेवासँग २ वटा ४७ सिट क्षमतको जहाज छ भने बाँही १५ वटा ७२ सिट क्षमताका एटीआर छ । यसले सहरी क्षेत्रका विमानस्थलमा मात्रै उडान गर्छ भने एकै पटकमा धेरै यात्रुलाई सेवा दिने गरी एटीआर ७२ को संख्या बढाउँदै गएको छ ।

आन्तरिक उडानमा सहरी क्षेत्रका उडान केन्द्रित भएको यति एयरलाइन्स हो । यो वायुसेवासँग पनि हाल एटीआर ७२ नामक ७२ सिट क्षमताका मात्रै ७ वटा जहाज छ । यसले पनि काठमाडौंबाट सहरी क्षेत्रका विमानस्थलमा उडान गर्छ ।

काठमाडौंबाट सुगम क्षेत्रमा उडान गरिहेको अर्को प्रतिस्पर्धी कम्पनी श्री एयरलाइन्स हो । यो वायुसेवासँग पनि आन्तरिक उडानकै लागि १० वटा जहाज छ । यो वायुसेवाले पनि काठमाडौंबाट यति र बुध्दले नै उडान गरिरहेको प्रुमख सहरी क्षेत्रका विमानस्थलमा उडान गरिरहेको छ । प्रमुख तीन वायुसेवाले उडान गरेकै गन्तव्यलाई आधार बनाएर दशैं अगाडि र दशैंको हवाई भाडाको सूची तयार पारिएको हो ।

दशैंमा काठमाडौंबाट बाहिर जानेको चाप बढी हुने गरेको भएपनि सोही बेला फर्कने यात्रुचाहिँ बढीमा ३० प्रतिशतको मात्रै अकुपेन्सी (जहाज भराइ दर) हुने सम्बन्धित वायुसेवा कम्पनीले बताउने गरेका छन । एकतर्फी यात्रु भरिभराउ भएपनि अर्कोतर्फ सोही रुटबाट फर्कदा भने खाली हुने भएकोले पनि काठमाडौंबाट जाने यात्रुको लागि दशैंमा फूल फेयर (भाडा दरको अधिकतम लिन पाउने सीमा) मात्रै लागू हुने गरेको ति वायुसेवा कम्पनीको भनाइ छ ।

दशैंमा टिकटै नपाइने अवस्था नभएको, छिटो बुकिङ गर्नेले न्यूनतम दरकै टिकट पाउने र ढिलो बुकिङ गर्नेले माथिल्लो श्रेणीको टिकट पाउने व्यवस्था रहेको वायुसेवा कम्पनीको भनाइ छ । यात्रुको चाप बढी हुँदा हवाई भाडा पनि माथिल्ला श्रेणीसम्म पुग्नु र चाप कम हुदाँ कम दरमै टिकट पाउनु सामान्य सिद्धान्त भएको पनि सम्बन्धित वायुसेवा कम्पनीको भनाइ छ ।


क्लिकमान्डु