नयाँ नोटबिहीन बन्दै यसपालीको दसैं, राष्ट्र बैंकले जनभावनाविरुद्ध निर्णय गर्नुका ४ कारण



काठमाडौं । यसपालीको दसैं इतिहासमै नयाँ नोट बिनाको पहिलो दसैं हुने भएको छ । कोरोना महामारीका बेला पनि नयाँ नोट बाँड्न कन्जुस्याइँ नगरेको नेपाल राष्ट्र बैंकले पहिलोपल्ट सर्वसाधारणको मन खिन्न बनाउने भएको हो ।

दसैं भन्नाले मिठो खाना, राम्रो नाना र नयाँ चाचा (नोट)को चाड बुझिन्छ । यसपाली दसैंमा मिठो खाना र राम्रो नाना त सम्भव होला तर नयाँ चाचा चाहीँ असम्भव हुने भएको हो ।

२०१३ मा राष्ट्र बैंक स्थापना भएको हो । केन्द्रीय बैंकको रुपमा स्थापित राष्ट्र बैंकले २०१६ फागुन ७ गतेदेखि १, ५, १० र १०० रुपैयाँको नोट छाप्न थालेको हो ।

सरकारले पनि २०१७ जेठदेखि मुलुकभित्र कारोबार गर्दा नेपाली मुद्राको मात्रै प्रयोग गर्ने निर्णय गरेको थियो । सोही वर्षदेखि दसैंमा नयाँ नोट साट्न पाउने सुविधा दिइएको थियो ।

वर्षेनी नयाँ नोट दिएर संस्कृति र चालचलनकै अभिन्न अंग बनिसकेको परिवेशमा यसपाली केन्द्रीय बैंकले गरेको निर्णयलाई निकै नै अर्थपूर्ण रुपमा हेरिएको छ ।

हरेक दसैंको मुखमा राष्ट्र बैंकका विभिन्न कार्यालय र बैंक वित्तीय संस्थाका शाखा कार्यालयबाट नयाँ नोट पाइने गरेको थियो । तर, यसपाली भने राष्ट्र बैंकले क्रमभंगता गर्दै नयाँ नोट नदिने भएको हो । र, यो निर्णयको आँट केन्द्रीय बैंक व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन् ।

केन्द्रीय बैंकले बुधबार एक सूचना प्रकाशन गर्दै २०८१ सालको बडा दसैंमा माग हुने साना दरका नोट सटहीको लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिने व्यवस्था गरेको जानकारी गराएको छ ।

साथै, इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको हुँदा आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न केन्द्रीय बैंकले सूचित गरेको हो ।

नयाँ नोट नबाँड्ने निर्णय गर्नुका ४ कारण

राष्ट्र बैंकले यसपालिको दसैंमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिनुपछाडि केही कारण छन् । केन्द्रीय बैंकका सहायक प्रवक्ता डा. डिल्लाराम पोखरेलका अनुसार नोट सटहीको सुविधा यथावत राखिएको छ । ‘यस वर्ष नयाँ नोट नभएर सफा र सुकिलो नोट दिने निर्णय भएको छ, यस्ता नोट कहाँ र कसरी पाइनेबारे बुधबार सार्वजनिक सूचना पनि जारी गरिसकेका छौं,’ डा. पोखरेलले भने, ‘हाम्रो मौज्दातमा सफा र सुकिलो नोट रहुञ्जेलसम्म चलनचल्तीमा आउने नोट सटही दिने निर्णय गरेको उनले बताए ।’

अर्कातर्फ छपाइ र मुद्रा व्यवस्थापन लागत पनि उच्च रहने तर नोटको हिफाजत नहुनाले नोट बिग्रने दर पनि उच्च हुनाले केन्द्रीय बैंकले केही बचत गर्ने प्रयास गरेको पोखरेल बताउँछन् ।

तेस्रो कारण हो, नोटको अधितमक उपयोग गरौं भन्ने सोच पनि राष्ट्र बैंकको छ । ‘पोहोर साल छापेको नोट यही वर्ष खिचेर जलाउने, ब्रिकेट बनाउने गर्नुभन्दा केही धेरै समय चलाउनु उपयुक्त मानेका छौं,’ उनले भने । यसबाहेक केन्द्रीय बैंकले अप्रत्यक्ष रुपमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न पनि नयाँ नोट बाँड्ने परम्परा अन्त्य गर्ने प्रयास गरेको उनले बताए ।

दसैंको मुखमा सटही गरिएका नोट चाडबाड सकिएपछि बैंक तथा वित्तीय संस्थामा फिर्ता आउने र तत्पश्चात ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था हुन्छ । विगतमा सटही गरिएको तर प्रयोगमा नआएका सुकिलो नोट राष्ट्र बैंकको ढुकुटीमा छन् । ती नोटको पनि उपयोग गर्न राष्ट्र बैंकले खाजेको हो ।

नेपाली नोटको कागज ‘कटन बेस्ड’ हुने र लामो समय प्रयोगविहीन भई ढुकुटीमा भण्डारण हुँदा ती नोटमा चिसो, ओस तथा अपर्याप्त हावा र प्रकाशका कारण ढुसी आउने गर्दछ । यस्तो हुँदा नोटको आयुसमेत घट्दै जाने भई पुनःप्रयोग गर्न अयोग्य हुन सक्दछ ।

बजारमा कारोबारका लागि नगद नोट जति धेरैको हातहातमा पुगेर बैंकमा फिर्ता आयो त्यति नै नोटको प्रभावकारी उपयोग भएको मानिन्छ । यसकारण नोटको छपाइ, भण्डारण, ओसारपसार र धुल्याउनेजस्ता बैंक नोट व्यवस्थापनका आधारभूत कार्यहरूलाई मितव्ययी एवंं प्रभावकारी बनाउनसमेत सुकिलो नोटको उपयोग बढाउनु आवश्यक छ ।

चाडबाडका समयमा मुख्यतयाः ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटहरूको माग अत्यधिक हुने गरेको छ । तर, साना दरका यस्ता नोटको होल्डिङ लागतसमेत न्यून हुने हुँदा सर्वसाधारण तथा व्यावसायिक क्षेत्रले आवश्यकताभन्दा बढी नोट सटही गरी क्रमशः कारोबारको आवश्यकता पूरा गर्ने तथा घरमै राख्ने प्रचलन छ ।

मुद्राको मूल्य सस्तो बन्दै जाँदा पछिल्लो समय पाँच सय र एक हजार दरका नोट प्रयोग उच्च हुन्छ भने बैंकमा ठूला नोट नै आउने गर्छन् ।

मुलुकभर सफा नोट प्रचलनमा ल्याउने उद्देश्यले राष्ट्र बैंकले आर्थिक वर्ष २०६७।६८ को मौद्रिक नीतिमार्फत ‘सफा नोट नीति’ ल्याएको थियो ।

राष्ट्र बैंकले बैंक नोट छपाइको काम अन्तर्राष्ट्रिय टेन्डर प्रक्रियाबाट विदेशमा गर्दै आएको छ । नोट छपाइमा विदेशी मुद्राको ठूलो राशि खर्च हुन्छ ।

नयाँ नोट ल्याउन राष्ट्र बैंकले गरेको आनाकानीको पछाडि पछिल्लो समय एउटा महत्वपूर्ण विषय चर्चामा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुन हुँदा गत वैशाख २० मा सरकारले १०० रुपैयाँको नयाँ नोटमा नेपालको नयाँ चुच्चे नक्सा छाप्ने निर्णय गरेको छ ।

सो निर्णय अनुसार राष्ट्र बैंकले अब प्रयोजनमाआउने १०० को नोटमा चुच्चे नक्सा हुनुपर्छ । तर, सत्तामा नेकपा एमालेका अध्यक्ष केपी ओली रहनु र भारतसँगको सम्बन्धमा सामान्य खटपट रहनु कारण पनि नयाँ नोट प्रचलनमा नल्याइएको चर्चा सरोकारवाला माझ हुने गरेको छ ।


रोविन पौडेल