सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा रावत सिफारिस



काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा प्रकाशमान सिंह रावतलाई सिफारिस गरेको छ । सोमबार बेलुका बसेको परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश रावतलाई प्रधानन्यायाधीश सिफारिस गरेको हो । 

प्रधानमन्त्री प्रमुख हुने संवैधानिक परिषदमा प्रमुख प्रतिपक्ष दलको नेता, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाका सदस्य, प्रतिनिधि सभाको उपसभामुख तथा प्रधानन्यायाधीश सदस्य हुने संवैधानिक व्यवस्था छ । 

अन्य संवैधानिक नियुक्ति गर्दा संवैधानिक परिषदमा प्रधानन्यायाधीश सदस्य हुने भए पनि सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्दा भने कानुन मन्त्री संवैधानिक परिषद्को सदस्य हुन्छन् । 

अब संसदीय सुनुवाइ समितिले नाम स्वीकृत गरेपछि रावत प्रधानन्यायाधीश नियुक्त हुने छन् । 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण आगामी असोज १९ गतेदेखी अनिवार्य अवकाशमा जान लागेकाले संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश रावतलाई सिफारिस गरेको हो । 

घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्म सर्वोच्च अदालतमा बिदा हुने भएकाले आगामी असोज १६ गते श्रेष्ठको कार्यकाल अन्त्य हुनेछ ।

संसदीय सुनुवाइ समितिले रावतको नाम स्वीकृत गरेमा उनी २०८२ साल चैत १७ गतेसम्म प्रधानन्यायाधीश हुनेछन् ।  कानुन व्यवसायी पृष्ठभूमिमा सर्वोच्च अदालतको न्यायाधीश बनेका रावतको जन्म २०१७ साल चैत १८ गते भएको थियो । 

रावत २०७३ साउन १७ रावत सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्ष समेत भएका रावतले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् ।


क्लिकमान्डु