सहकारीका १२ भाइ: जसले ठगे बचतकर्ताको ६४ अर्ब

राजनीतिक शक्तिको आडमा सर्वसाधारणको अर्बौं ठग्दा राज्यको रहस्यमय मौनता



काठमाडौं । अहिले सडकदेखि सदनसम्म सहकारी ठगी प्रकरणले चर्चा बटुलेको छ । सर्वसाधारणले आफ्नो छाक कटाएर भविष्यको लागि जम्मा गरेको रकम केहि भुँइफुट्टाहरुले सहकारी ऐन विपरित घरजग्गा जोड्ने वचत आफनै पेवा झैं निजी कम्पनीमा चलाउने गर्नाले देशभर लाखौं सर्वसाधारणको अर्बौ रुपैयाँ ठगी भएको छ ।

गरिबको लागि राजनीति गर्ने दाबीका साथ हजारौं नेपालीको ज्यान लिने गरि सशस्त्र द्धन्द्ध गरेको माओवादीका नेता पुष्पकमल दाहालले सरकारको नेतृत्व गरिरहेका छन् । तर, लाखौं गरिब घरी सडक, त घरी प्रहरी चौकि जान बाध्य छन्, किनकि सहकारीका नाममा, राजनीतिक दलका नाममा, राजनीतिक समिकरणका नाममा र राज्यशक्तिको आडभरोसमा केहि भुँइफुट्टाहरुले खुलेआम ठगेका छन् ।

सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउँनु अघिसम्म नेपाली कांग्रेसले लामो समयसम्म सहकारीको ठगी प्रकरणमा संसदीय छानबीन आयोग बन्नु पर्ने मागका साथ सदन समेत अवरुद्ध गर्यो । लामो रस्साकस्सीपछि नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति गठन भएको छ ।

तर, अर्बो ठगीएका लाखौं सर्वसाधारणको आँखामा आँसु भेल रोकिएको छैन । पोखरामा गत साता गरिबको लागि लडेको दाबी गर्ने प्रधानमन्त्रीसँग न्याय माग्न जाँदा बृद्धबृद्धालाई पनि निरंकुश लाठिले छोडेन । भनिन्छ, दाहाल अब ती दाहाल रहेनन्, जसले गरिबको मुक्तिका लागि लडेको दाबी गर्थे । अब प्रधानमन्त्री दाहालको लागि सर्वसाधारणको न्यायभन्दा सत्ता प्यारो छ । उनी सत्तामा बसिरहन थप हजारौंको बलिदान दिन तयार छन् ।

अफसोच, उनले के विर्सिए भने गरिबको गुमाउने केहि पनि हुँदैन, त्यसैले ठगिएका सर्वसाधारणले आफ्नो जीवनभरको कमाइको रक्षा गर्न दाहालको साम्राज्य ढाल्ने ताकत राख्दछन् । त्यसैले, निरंकुश पंचायत काल सम्झाउने गरि नेपालमा अहिले चलिरहेको राजनीतिक आडमा ठूलालाई चैन र सानालाई ऐनको नाटकबाट उनीहरु तर्सेका छैनन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुस्लभ केसीका अनुसार अहिलेसम्म ३५० भन्दा बढी सहकारीबाट बचतकर्ता ठगीएका छन् । र ३५० भन्दा बढी संस्थाका बचतकर्ता महासंघमा जोडिएको उनको भनाइ छ ।

३५० सहकारीले बचतकर्ता ठगेको भएपनि केही ठूला सहकारीले भने बचतकर्ताको आधा खर्ब भन्दा बढी बचतकर्ताको बचत अपचलन गरेका छन् ।

बचतकर्ताको बचत अपचलन गर्ने ठूला सहकारी तथा चर्चामा रहेका व्यक्तीमा सुधिर बस्नेत, इच्छाराज तामाङ, केदार शर्मा (चार वटा सहकारी), गितेन्द्र बहादुर राई (जिवी राई(आठ वटा सहकारी), गीता बस्नेत, भरत महर्जन, सुरेन्द्र भण्डारी, रविन्द्र चौलागाई, देव कुमार नेपाली, विन्देश्वर श्रेष्ठ, सिबी लामा र हिमालयन विक्रम मल्ल ठकुरी रहेका छन् ।

यी दर्जन व्यक्ती संलग्न रहेका सहकारीले बचतकर्ताको ६२ अर्ब ७७ करोड ४८ लाख २२ हजार रुपैयाँ ठगेका छन् ।

सहकारीबाट बचत ठगीमा एकैजना व्यक्ती धेरै संस्थामा जोडिएका छन् । सहकारीका सन्दर्भमा अहिलेका चर्चित पात्र गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई ८ वटा सहकारीमा प्रत्यक्ष परोक्ष रुपमा जोडिएका छन् । गोर्खा मिडिया त्यहि मिडिया हो जसमा हालका गृहमन्त्री रवि लामिछाने पनि प्रबन्ध निर्देशकका रुपमा सकृयरुपमा संलग्न थिए ।

राई सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखरा, सहारा बचत तथा ऋण, समाना बचत तथा ऋण, सानो पाइला, सुप्रिम सहकारी, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, हाम्रो नयाँ कृषि सहकारी संस्था र कल्याण उपकार सेभिङ एण्ड क्रेडिट सहकारीको बचत अपचलनमा परेका छन् । यी संस्थाबाट जिवी राई तथा गोर्खा मिडियाका तत्कालिन प्रबन्ध निर्देशक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत जोडिएका छन् ।

रवि-जिवीले ८ वटा सहकारीबाट बचतकर्ताको २ अर्ब २ करोड १० लाख ९४ हजार ३५४ रुपैयाँ ठगी गरेका छन् । यसमा कल्याण उपकारको ५८ करोड ७९ लाख ४९ हजार रुपैयाँ र हाम्रो नयाँ कृषि सहकारीको ७ करोड ७७ लाख ९० हजार रुपैयाँ रहेको छ । हाम्रो नयाँ कृषि रास्वपाका उप सभापति तथा श्रम मन्त्री डिपी अर्याल सहकारीमा उपाध्यक्ष रहेका थिए ।

आफ्नो कार्यकाल नसिकिदै अर्यालका साथै रास्वपाका सह महामन्त्री कबिन्द्र बुर्लाकोटीले राईलाई सहकारी बुझाएर हिँडेका थिए । कल्याणमा अहिले लिला बहादुर गुरुङ अध्यक्ष रहेका छन् । उनी हाम्रो नयाँ कृषिमा उपाध्यक्ष रहेका छन् ।

दुई वटा सहकारीबाट संगठित रुपमा बचतकर्ताको १६ अर्ब ७३ करोड ७२ लाख ७० हजार रुपैयाँ केदार शर्माले अपचलन गरेका छन् । शर्माले तुलसी बहुमुखी सहकारी र शिव शिखर बहुद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको उक्त रकम ठगी गरेका हुन् । शर्माले तुलसी बहुमुखी सहकारीका बचतकर्ताको ३ अर्ब २५ करोड ८७ लाख ७० हजार र शिवशिखर बहुद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको १३ अर्ब ४७ करोड ८४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

ओरेण्टल को अपरेटिभका सुधिर बस्नेतले अझै पनि बचतकर्ताको ३ अर्ब १९ करोड ५० लाख २२ हजार फिर्ता गर्न बाँकि छ भने गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका राम बहादुर गौतमले बचतकर्ताको ३ अर्ब अपचलन गरेका छन् ।

नवलपुरको छिपछिपे उपभोक्ता सहकारीका योगेन्द्र पाण्डेले बचतकर्ताको १६ करोड ५८ लाख ९२ हजार रुपैयाँ ठगी गरेका छन् । यो सहकारीको पैसा अपचलनमा राप्रपाकी सांसद गीता बस्नेतको प्रत्यक्ष संलग्नता रहेको छ । उनैको योजनामा बर्दियामा रहेका कृष्णसार रिर्सोट प्रालिमा लगानी भएको हो । यसमा उनका ज्वाँई नगेन्द्र बहादुर रिमालको संलग्नता रहेको छ । त्यसैले उनीहरु विरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।

रिमाल चितवनको सनराइज सहकारीबाट पनि २० करोड अपचलन गरेका छन् । रिमाल सनराइज सहकारीको अध्यक्ष र छिपछिपे सहकारीको सचिव छन् । यो समूहले बचतकर्ताको अर्बौ ठगेका छन् । सांसद बस्नेत सहकारी ठगीमा जोडिएपछि राप्रपा नेपालले अनुसन्धानमा सहयोग गर्न भन्दै बस्नेतलाई अनुरोध समेत गरेको छ ।

राप्रपाले तत्काल अनुसन्धान गर्न समेत प्रहरीलाई अपील गरेको छ । राप्रपाजस्तो पुरातन र कन्जरभेटिभ मानिएको दक्षिणपन्थी राजनीतिक दलले कानुनप्रति सम्मान देखाउँदा अग्रगामी दाबी गर्ने प्रधानमन्त्री दाहाल भने ठगी आरोपी बोकेर सत्ताको चास्नीमा डुबुल्की मार्दैछन् । अग्रगमन र नयाँ राजनीतिक दलको यो संयोजन नेपालको भविष्य तथा समृद्धिको लागि घातक हुने कुरामा कुनै आशंका छैन ।

सुमेरु बचत तथा ऋण सहकारी संस्थाका भरत महर्जन बचतकर्ताको अबौ ठगेर बेलायत फरार छन् । उनले कालीमाटी र पुल्चोकमा रहेका सहकारीबाट बचतकर्ताको १० अर्ब ३४ करोड ७ लाख ३९ हजार रुपैयाँ अपचलन गरेका छन् । परिवारका सदस्य मिलेर चलाएको उक्त सहकारीले बचतकर्ताको पैसा विद्यालय, होटल, घर जग्गा, रेष्टुरेन्टमा लगानी गरेका छन् ।

बचतकर्ताको पैसा उठाएर घर जग्गामा लगानी गर्ने, निजी सम्पति जोडने नेताहरुलाई कर्जा दिने लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सुरेन्द्र भन्डारीले ३ अर्ब १० करोड अपचलन गरेका छन् ।

सहकारीका बचतकर्तालाई ठगेकै कारण तत्कालीन सभासद, घर जग्गा व्यबसायी इन्जिनियर इच्छाराज तामाङ लामो समयदेखि हिरासतमा छन् । तामाङले सहकारीबाट बचतकर्ताको ५ अर्ब ७० करोड जति ठगी गरेका छन् । उनले सहकारीबाट सबै पैसा हाउजीङमा लगानी गरेका कारण अहिले जेल जीवन बिताइरहेका छन् ।

परिवारका नाममा दर्जनौ कम्पनी खोल्ने, करोडौका गाडि चढ्ने, बचतकर्ताको पैसा निजी कम्पनीमा लगानी गर्ने देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रबिन्द्र चौलागाईंले ७ अर्ब बढि रकम अपचलन गरेका छन् । उनले पनि बचतकर्ताको पैसा श्रीमती तथा परिवारका अन्य सदस्यको नाममा घर जग्गा किन्ने, निजी कम्पनीमा लगानी गर्ने गरेका कारण बचतकर्ताको ७ अर्ब ठगी भएको हो ।

ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली सहकारी ठगीमा परेका कारण अहिले फरार छन् । उनले बचतकर्ताको करिब सवा २ अर्ब ठगेका छन् । बागलुङमा हेलिप्याड सहित घर भएका नेपाली र उनको परिवारका सदस्यको नाममा काठमाडौ सहित देशभर करिब साढे तीन दर्जन स्थानमा घर र जग्गा रहेका छन् । बचतकर्ताको पैसा सबै घर जग्गामा लगानी गरेका नेपाली अहिले फरार छन् ।

बचतकर्ताको पैसा उठाएर काभ्रे, चितवन तथा तराईका अन्य जिल्लामा घर जग्गा खरिद गरेका संकटा बचत तथा ऋण सहकारी विन्देश्वर श्रेष्ठले बचतकर्ताको १ अर्ब ५ करोड अपचलन गरेका छन् । उनले सबै पैसा निजी कम्पनी र परिवारका सदस्यको नाममा सम्पती जोडेका छन् ।

कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई डुबाउन मुख्य भूमिका खेल्ने कांग्रेसका नेता सिबी लामाले पशुपती सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका बचतकर्तालाई पनि डुबाए । कान्तिपुरको १ करोड अपचलन गरेका लामाले सहकारीबाट लिएको सबै पैसा काभ्रे, चितवनका विभिन्न स्थान, मेघौलीमा ८ सय वटा घडेरी जोडेका छन् । लामाले पशुपति सहकारीका बचतकर्ताको १ अर्ब ११ करोड ४८ लाख ३ हजार रुपैयाँ अपचलन गरेका छन् । लामा जेठ २६ गते चितवनबाट पक्राउ परेका छन् । लामाले नै पहिला चलाएको कान्तिपुर सहकारीले बचतकर्ताको ७ अर्ब १५ करोड पैसा ठगेको छ । सहकारीका अध्यक्षमा अहिले हिमालय विक्रम मल्ल ठकुरी रहेका छन् ।

यी सहकारीहरुले बचतकर्ताको पैसा फिर्ता गर्न नपर्ने जसरी एक दर्जन सन्चालकहरुले मनलाग्दी प्रयोग गरेपछी बचतकर्ता पटक-पटक आन्दोलित बनेका छन् । बचतकर्ताको बचतको कुनै पर्वाह नगरि सहकारी ऐन विपरित सर्वसाधारणको पैसामा ब्यक्तिगतरुपमा धेरै नाफा कमाउन लगानी गरेका कारण बढी समस्या देखिएको हो ।

बचतकर्ताको अर्बै ठग्ने सहकारीमा गौतमश्री बहुउद्देश्यीय, लालिगुराँस बहुउद्देश्यीय, कान्तिपुर सेभिङ एण्ड क्रेडिट, शिवशिखर बहुउद्देश्यीय, पशुपति बचत तथा ऋण सहकारी, ओरेन्टल को अपरेटिभ, संकटा बचत तथा ऋण सहकारी, श्री लालिगुराँस सहकारी, देउराली बहुउद्देश्यीय, इमेज, तुलसी बुहुमुखी सिभिल छिपछिपे लगायत सहकारीको नाम आउने गरेको छ ।

सरकारले १७ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्त घोषणा भएका सहकारीमध्ये केहीको तथ्याङक संकलन हुने क्रममा रहेको समस्याग्रस्थ सहकारी व्यवस्थापनको कार्यालयले जनाएको छ । कान्तिपुर सहकारीको १७ वटा शाखामध्ये ९ वटा शाखा, श्री लालिगुराँस सहकारीको ८ वटा शाखामध्ये ७ वटाको, शिवशिखरको चितवन, गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका शाखाको विवरण आउने क्रममा रहेको छ । सबैको विवरण आउँदा बचतकर्ताको रकम अझै बढ्ने समितिले जनाएको छ ।

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले काम सुरु गरेको भएपनि सरकारको गतिविधिका कारण सर्वसाधारण ढुक्क हुन सकेका छैनन् । किनकि पहिला राजनीतिमा लागे पछि ठगी गर्ने प्रचलन रहेकोमा हाल ठगी गरेर राजनीतिमा लाग्ने मन्त्री हुने र राज्य शक्तिको आडमा सबुत प्रमाण मेट्टाउने कुकृत्य नेपालमा सुरु भएको छ ।

संसदीय समितिले ४ वटा कार्यक्षेत्र बनाएर तीन महिना अध्ययन गरेर प्रतिवेदन बुझाउने छ । समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्य थापा र सरिता भुषाल रहने छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

उक्त समितिले अध्ययन गर्ने सहकारीमा सबैभन्दा बढी अर्थात् ६ सहकारी राष्टिय स्वतन्त्र पार्टी (रास्वपा(का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका गितेन्द्र बाबु (जिबी) राई सम्बद्द सहकारी छन् । लामिछाने र राई जोडीएका सहारा बचत तथा ऋण, समानता बचत तथा ऋण सहकारी संस्था, सानो पाइला, सुप्रिम, सुर्यदर्शन र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी रहेका छन् । यी सहकारीबाट लामिछाने र राईले बचतकर्ताको २ अर्ब ६ करोड ९८ लाख ७४ हजार रुपैया ठगेका छन् ।

यस्तै कान्तिपुर, लालिगुराँस र पशुपति गरि काग्रेस निकटका ३ सहकारी रहेका छन् । यी ३ वटा सहकारीले बचतकर्ताको ११ अर्ब ३६ करोड ४८ लाख ३ हजार रुपैयाँ ठगी गरेका छन् । कान्तिपुर र पशुपति सहकारीमा एउटै समूहले ठगेका छन् । यो सहकारी ठगीमा कांग्रेस नेता सिबी लामा लगायतको संलग्नता रहेको छ । लालिगुराँसका सुरेन्द्र भन्डारी काँग्रेसका सहकारी विभागका पुर्व सचिव हुन् । लामा कांग्रेसका नेता हुन् ।

ईमेज बचत तथा ऋण सहकारी ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली रहेका छन् । इमेजले करिब सवा २ अर्ब ठगेको छ ।

यस्तै, माओवादी निकट २ वटा सहकारी रहेका छन् । सुमेरु बचत तथा ऋण सहकारीले १० अर्ब ३४ करोड ७ लाख ३९ हजार ठगेको छ भने गौतम श्रीले ३ अर्ब ठगेको छ ।

यसका साथै, रास्वपाको उप सभापति डिपी अर्याल र सह महामन्त्री कबिन्द्र बुर्लाकोटी संलग्न रहेको हाम्रो नयाँ कृषि सहकारी संस्थाले बचतकर्ताको ७ करोड ७७ लाख ९० लाख १९८ रुपैयाँ ठगी गरेको । यो सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ । सहकारीलाई समस्याग्रस्त घोषणा गराएर सर्वसाधारणको बचत कुम्ल्याउने खेल पनि राजनीतिक दलका केहि नाम चलेका नेताहरु संलग्न छन् ।

संबिधानले सहकारीलाई अर्थतन्त्रको तेस्रो खम्बा मानेको छ । तर, एक दर्जन ठगहरुले तेस्रो खम्बा ढालेर अर्थतन्त्रमा ध्वन्स मच्चाउँदा सरकार भने आफनो कुर्सि सुरक्षित कसरी राख्न सकन्छि, त्यसप्रतिमात्र चिन्तित देखिन्छ । अर्बौ ठगीएको लाखौं सर्वसाधारण र गरिबको लागि के साँच्चिकै यो देश आफ्नो होइन ?


सोभित थपलिया