चीन अफ्रिका शिखर सम्मेलन: पश्चिमको गलत भाष्यलाई चिर्दै चिनियाँ ‘सफ्ट पावर’मा अभिवृद्धि



चीनका राष्ट्रपति सी चिनपिङले अफ्रिकी मुलुकहरूलाई ५० अर्ब डलरभन्दा बढीको लगानी र कम्तीमा १० लाख रोजगारीको घोषणा गरेर अफ्रिका महादेशमा चीनको सफ्ट पावरलाई अभिवृद्धि गरेका छन् ।

अघिल्लो साताको शुक्रवार बेइजिङमा सम्पन्न चीन अफ्रिका सहकार्य सम्मेलन (फोरम अन चाइना अफ्रिका कोअपरेशन) मा सम्बोधन गर्दै सीले विशाल लगानीको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आगामी तीन वर्षका लागि उनले ३० अर्ब डलर बराबरको सहुलियतपूर्ण ऋण, चिनियाँ कम्पनीहरूको १० अर्ब डलर बराबरको लगानी र सैन्य सहायता लगायतको घोषणा गरेका थिए । अफ्रिकाको सर्वांगीण आधुनिकीकरण तथा विकासका लागि चीन सहकार्यका लागि सदैव तयार रहेको पनि उनले बताए ।

अहिले अमेरिका नेतृत्वको पश्चिमले अफ्रिकालाई आफ्नो खेमामा ल्याउनका लागि लगानी र सम्बन्ध विस्तारको प्रयत्न गरिरहेको सन्दर्भमा चीनले अफ्रिकीहरूसँगको सम्पर्क सुदृढीकरणतर्फ सफल पाइला चालिरहेको छ ।

अमेरिका र उसका जी७ साझेदारहरूले अफ्रिकी मुलुकहरूमा पूर्वाधार निर्माणको योजनालाई अघि सार्दै अफ्रिकालाई अन्य समूहसँग सम्बन्ध राख्ने विकल्प हुनुपर्ने बताउने गरेका छन् । तर चीनसँग अफ्रिकीहरूले सम्बन्ध राख्दा ऋणपासो लगायतका गलत भाष्यका साथ त्यसको आलोचना गरी पश्चिमाहरूले आफ्नो नियत छताछुल्ल बनाएका छन् ।

उता चिनियाँहरूले चाहिँ अफ्रिकामा अन्य महादेशका मुलुकहरूको ध्यान केन्द्रित हुनुलाई सकारात्मक रूपमा लिएका छन् । सम्मेलनमा चीनका विदेशमन्त्री वाङ यीले अफ्रिकालाई गरिने सबैखाले सहयोग स्वागतयोग्य भएको बताए । तर यसक्रममा हेपाहा व्यवहार देखाउन नहुने चेतावनी पनि उनले दिए ।

सम्मेलनमा ताइवानलाई मान्यता दिने इस्वातिनी नामक मुलुक बाहेक अन्य सबै ५३ अफ्रिकी मुलुकका प्रतिनिधिहरू उपस्थित थिए जसमध्ये २० भन्दा बढी राष्ट्रप्रमुख वा सरकारप्रमुख थिए । अफ्रिकी प्रतिनिधिहरूलाई सम्मान गारद, रातो कार्पेटमा स्वागत तथा सांस्कृतिक झाँकीहरूको प्रस्तुतिमार्फत चीनले आतिथ्य सत्कारको उच्चतम नमूना पेश गरेको थियो ।

सीले आफ्नो सम्बोधनमा सबै अफ्रिकी मुलुकहरूसँगको द्विपक्षीय सम्बन्धलाई रणनीतिक तहमा स्तरोन्नति गर्न समेत प्रस्ताव गरेका थिए । चीन–अफ्रिका समुदाय निर्माणमा समेत उनले जोड दिएका थिए । चीन र अफ्रिकाले ६ वटा आधुनिकीकरणलाई संयुक्त रूपमा प्रवर्धन गर्नुपर्ने उनको भनाइ थियो: निष्पक्षता र तार्किकता, खुलापन र सबैको जीत हुने गरी सहकार्य, जनकेन्द्रीयता, विविधता र समावेशिता, पर्यावरणमैत्री कार्य तथा शान्ति र सुरक्षा ।

चीन र अफ्रिकाबीचको सम्बन्ध तथा सहकार्य दिनानुदिन बढिरहेको देखिन्छ । फोरम अन चाइना अफ्रिका कोअपरेशन आरम्भ भएको २४ वर्षमा व्यापारको आयतन २० गुणा बढेको छ भने अफ्रिकामा चीनको लगानी विगतको तुलनामा १०० गुणा भन्दा बढी छ ।

अफ्रिकामा चीनको बढ्दो उपस्थितिका कारण तर्सिएको पश्चिमले ऋणपासोको गलत भाष्य पेश गरिरहेको छ । ठूलाठूला बेकामे संरचना बनाउन लगाएर गरीब अफ्रिकी मुलुकहरूलाई ऋणपासोमा पार्ने अनि उनीहरूमाथि रणनीतिक कब्जा गर्ने चीनको चरित्र छ भनी पश्चिमले बताउँदै आएको छ ।

तर यसलाई झूटो साबित गर्दै अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयमा अर्थराजनीतिकी प्राध्यापक डा डेबोराह ब्रटिगमले अफ्रिकामा चीनको आर्थिक गतिविधिको विस्तृत अध्ययन गरी पुस्तक ‘द ड्रागन्स गिफ्ट: द रियल स्टोरी अफ चाइना इन अफ्रिका नामक’ पुस्तक तयार पारेकी छन् । त्यसमा उनले चीनको सहायताका कारण अफ्रिकी मुलुकहरूको विकासमा टेवा पुगिरहेको, त्यहाँका मानिसको गरीबी घटेको र जीवनस्तर बढेको तथ्यलाई उदाहरण सहित प्रस्तुत गरेकी छन् ।

त्यसैले पश्चिमको लाञ्छना ईर्ष्याको परिणाम मात्र हो भन्न सकिन्छ । त्यस कुरालाई अफ्रिकीहरूले पनि बुझेका छन् । अहिले अफ्रिकामा पश्चिमप्रति वितृष्णाको लहर देखिनुमा पश्चिमीहरूको ठालू प्रवृत्ति जिम्मेवार छ । नाइजरबाट अमेरिकी सेनाको निष्काशन र माली तथा बुर्किना फासोबाट फ्रान्सेली सेनालाई निस्कनका लागि दिइएको चेतावनी त्यसैको नतिजा हो ।

अनि लामो समयसम्म अफ्रिकाको शोषण र दोहन गरेको पश्चिमको अपवित्र उद्देश्यलाई अफ्रिकीहरूले राम्रैसँग बुझेका छन् । विगतमा अफ्रिकाका प्रभावशाली नेताहरू प्याट्रिस लुमुम्बा, गमाल अब्देल नासेर र मुअम्मार गद्दाफीले पश्चिमको नवउदारवादी शोषक नीतिको विरोध गर्ने गरेका थिए । फलस्वरूप, पश्चिमले उनीहरूको क्रूर हत्या गरेको थियो ।

हुन पनि पश्चिमको बजारमुखी तथा निजीकरण केन्द्रित अर्थनीतिका कारण अफ्रिकीहरूले आर्थिक कठिनाइको सामना गर्नुपरेको छ । त्यसले गर्दा धनी र गरीबको अन्तर दिनदिनै बढ्दै गइरहेको छ भने अफ्रिकी मुलुकहरू विदेशी सहायता र लगानीमा अतिनिर्भर हुनुपरेको छ ।

पश्चिमको सहायताले अफ्रिकीहरूको जीवनस्तर उकास्न कुनै सहयोग नगरेको विषयमा अफ्रिकी विदूषी डाम्बिसा मोयोको पुस्तक ‘डेड एड: ह्वाई एड इन नट वर्किङ यान्ड हाउ देर इज ए बेटर वे फर अफ्रिका’ले बलियो तर्क गरेको छ । गत साताको सम्मेलनमा सी चिनपिङले पश्चिमको त्यही व्यवहारलाई इंगित गर्दै पश्चिमी आधुनिकीकरणले जन्माएको ऐतिहासिक अन्यायको क्षतिपूर्तिका लागि आफूहरूले प्रयत्न गरिरहेको बताएका थिए ।

चीनले चाहिँ अफ्रिकासँग पश्चिमको भन्दा नितान्त भिन्न व्यवहार गर्दै आएको छ । जनगणतन्त्र चीनको स्थापनादेखि नै चीनले अफ्रिकाको रणनीतिक महत्त्वलाई प्राथमिकतामा राखेको छ ।

चीनका नेताहरूले अफ्रिकी मुलुकको नियमित भ्रमण गर्ने गरेका छन् (जो बाइडन अमेरिकाको राष्ट्रपति भएदेखि एकपटक पनि अफ्रिका र चीनको भ्रमण नगरेको तथ्य यहाँ प्रासंगिक छ) । अनि अफ्रिकीहरूलाई आर्थिक कठिनाइ परेको बेलामा चीनले सहयोग गर्ने गरेको छ । पश्चिमी उपनिवेशवाद र साम्राज्यवादको शिकार हुनुपरेको तीतो इतिहासलाई चिनियाँ र अफ्रिकीहरूले स्मरण गरिरहेका छन् जसलाई सी चिनपिङले सम्बोधनको सन्दर्भ बनाएका थिए ।

त्यसैले पश्चिमले अहिले आफूहरूलाई फकाउनका लागि कोशिश गरिरहेको भए पनि कथित नियममा आधारित विश्व व्यवस्थाको शोषक प्रवृत्तिका विषयमा अफ्रिकीहरू सचेत छन् । अहिलेको शोषक तथा विनाशकारी विश्व व्यवस्थाको साटो अन्तर्राष्ट्रिय कानूनद्वारा निर्देशित समतामूलक व्यवस्था बनाउनका लागि चीन र अफ्रिकाले समान ध्येय बोकेका छन् । त्यसैले अघिल्लो साता सम्पन्न सम्मेलनमा चिनियाँ र अफ्रिकी प्रतिनिधिहरूले समग्र दक्षिण (ग्लोबल साउथ) को सहकार्यको कुरा उठाएका थिए ।

सीले पनि आफ्नो सम्बोधनमा अफ्रिकी मुलुकहरूसँग मिलेर चीनले समग्र दक्षिणमा आधुनिकीकरणको लहर ल्याउने उद्घोष गरेका थिए । यसरी आफूलाई समग्र दक्षिणको हिमायती तथा अमेरिकाको भरपर्दो विकल्पका रूपमा उभ्याउने प्रयत्न चीनले गरेको देखिन्छ ।

पश्चिमको साटो चीनलाई अफ्रिकीहरूले विश्वास गर्नुमा चीनको समतामूलक सोच प्रमुख कारण हो । चीनले अफ्रिकी मुलुकहरूको सार्वभौमसत्ताको सम्मान गर्छ र उनीहरूको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गर्दैन । अहिले पश्चिमले अफ्रिकामा समलैंगिकता, व्यक्तिवाद र भौतिकवाद जस्ता विचारधारा थोपर्न खोजेकोमा त्यसको प्रतिकार भइरहेको छ । तर चीनले आफ्नो राजनीतिक तथा आर्थिक विचारधारा अफ्रिकीहरूमाथि नलादेकाले उनीहरू चीनमाथि विश्वास गर्छन् ।

सन् २०२१ मा चीनले ‘चाइना अफ्रिका कोअपरेशन इन द न्यु इरा’ शीर्षकको श्वेतपत्र जारी गरेको थियो । त्यसमा चीन र अफ्रिकाको सहकार्यका सिद्धान्तहरूलाई स्पष्टसँग उल्लेख गरिएको थियो । त्यसले इमान्दार मित्रता तथा समान व्यवहार, न्याय र राष्ट्रिय सरोकारको मिश्रण, जनताको विकास एवं खुलापन, समावेशिता र समन्वयलाई जोड दिएको थियो । त्यसका साथै सहायता दिनका लागि मानवअधिकार वा कुनै राजनीतिक शर्त नतेर्स्याउने र लगानीमा आफ्नो भूराजनीतिक स्वार्थ नखोज्ने पनि चीनको जोड थियो । अफ्रिकाका विषयमा चीनको यो खुला सोच प्रभावकारी साबित भएको छ ।

चीन र अफ्रिकाबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने गरी चीनमा सम्पन्न सम्मेलनबाट अफ्रिकामा चीनको प्रभाव र हैसियत बढेको निष्कर्ष निकाल्न सकिन्छ । यस सहकार्यले अफ्रिकामा शान्ति एवं विकासमा योगदान गर्नेछ र अफ्रिकालाई समुन्नत बनाउनेछ ।


विन्देश दहाल

दहाल अन्तर्राष्ट्रिय अर्थराजनीति बारे कलम चलाउँछन् ।