बैंकिङ प्रणालीमा तरलता घट्दै, ब्याजदर बढ्ने संकेत



काठमाडौं । अहिले बैंकिङ प्रणालीमा तरलता घट्न थालेको छ । कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकले गरेको सहजीकरणले प्रणालीमा तरलता कम हुन थालेको हो ।

तरलता घट्दै गएको प्रमाण स्थायी निक्षेप सुविधा (एसडीएफ) लिने क्रममा कमी र बोलकबोलबाट निक्षेप संकलन गर्दा पर्ने कबोलको परिमाणले दिन्छ ।

आर्थिक वर्ष २०८१/८२ सुरु हुँदा एसडीएफमा बैंकहरुले दिन बिराएर करिब पौन ४ खर्ब रुपैयाँसम्म राख्ने गरेका थिए । यस्तो सुविधा अहिले डेढ खर्ब रुपैयाँमा झरेको छ । यसैगरी बोलकबोलमार्फत् निक्षेप संकलन गर्दा बैंकहरुले राष्ट्र बैंकले माग गरे भन्दा दोब्बरसम्मको कबोल गर्ने गरेकामा अहिले आधामा झरेको छ ।

केन्द्रीय बैंकले ब्याजदर कोरिडोरको तल्लो सीमा ३ प्रतिशतभन्दा तल जान नदिने हेतुले एसडीएफ सुविधा दिने गरेको छ । अन्तर बैंक कारोबार निकै तल जाँदा बैंकको ब्याजदर पनि घट्ने भएकाले ब्याजदरलाई बान्छित सीमाभित्र राख्न केन्द्रीय बैंकले यस्तो सुविधा दिन थालेको हो । यो सुविधाले बैंकहरुलाई अन्तर बैंक कारोबार गर्नुभन्दा राष्ट्र बैंकमा पैसा राख्न प्रोत्साहन गर्दछ । एसडीएफमा पैसा राख्दा राष्ट्र बैंकले ३ प्रतिशत ब्याज दिन्छ । तसर्थ, सो दरभन्दा कममा अन्तरबैंक कारोबार गर्न बैंकहरुलाई निरुत्साहन गर्दछ ।

यसैगरी एडीएफमा राखेको रकम भन्दा थप अधिक तरलता रहेको खण्डमा बैंकहरुले राष्ट्र बैंकले आह्वान गरेअनुसार बोलकबोलमा निक्षेप राख्छन् । यसरी बोलकबोलमा निक्षेप संकलन गर्दा ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुन्छ।

तर, मंगलबार राष्ट्र बैंकको एसडीएफ सुविधाअन्तर्गत बैंकहरुले १ खर्ब ४५ अर्ब ८५ करोड रुपैयाँमात्र राखेका छन् । आइतबार १ खर्ब ४६ अर्ब रुपैयाँबराबरको यस्तो सुविधा दिइएको थियो ।

भदौ लागेयता एसडीएफ सुविधाको रकम २ खर्बभन्दा तल झरेको हो । साउन १ गते बैंकहरुले ३५ कारोबारमार्फत् ३ खर्ब ७२ अर्ब, साउन १० गते ३ खर्ब १९ अर्ब, साउन २४ गते २ खर्ब ८५ अर्ब, भदौ ५ गते १ खर्ब ९७ अर्ब हुँदै कम भएको हो ।

यता बोलकबोलमार्फत् संकलन हुने निक्षेपमा राष्ट्र बैंकले आह्वान गरेको आधा रकमको मात्र कबोल पर्न थालेको छ ।

असार महिनामा कुल १ खर्ब ४० अर्ब रुपैयाँको निक्षेप आह्वान गरिएकामा बैंकहरुले १ खर्ब ७३ अर्ब ४० करोड रुपैयाँको कबोल गरेका थिए ।

साउन महिना लागेपछि यसरी गर्ने कबोल निकै घटेको छ । साउन २ गते ५० अर्बको आह्वान गरेकामा ३४ अर्ब २५ करोड, ९, १६, २३ र ३० गते ४० अर्बको आह्वान गरेकामा क्रमशः ३३ अर्ब १५ करोड, १६ अर्ब १५ करोड, २४ अर्ब ९० करोड र २५ अर्ब ८० करोडको कबोल परेको थियो ।

भदौ २ गते १ खर्बको निक्षेप माग गरेकामा बैंकहरुले १ खर्ब ९६ अर्बको आवेदन दिएका थिए । तर, १२ गते ४० अर्ब निक्षेपको बोलकबोलमा बैंकहरुले २२ अर्ब २० करोडबराबरको मात्र कबोल गरेका थिए । यसैगरी हिजो बुधबार पनि राष्ट्र बैंकले ४० अर्बको निक्षेप माग गरेकामा बोलकबोलमा निकै कम सहभागिता रहेको बताइएको छ ।

राष्ट्र बैंकका अनुसार भदौ ५ यता अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम छ ।

पछिल्लो सेयर बजार र अटो कर्जा बढ्दा तरलता घट्न थालेको हो । गत आवको अन्त्यसम्म पनि स्पेस रहेर पनि कर्जा प्रवाह गर्ने क्षमता नभएका कारण बैंकमा अत्यधिक मात्रामा तरलता थुप्रिएको थियो ।

राष्ट्र बैंकका अनुसार असार मसान्तमा बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.३७ प्रतिशत थियो । यसैगरी प्राथमिक पुँजी अनुपात १०.१० प्रतिशत रहेका कारण धेरै बैंकहरु सँग अत्यधिक दरमा कर्जा प्रवाह गर्ने क्षमता थिएन ।

केन्द्रिय बैंकले मौद्रिक नीतिमार्फत् कर्जा वृद्धिको उपायस्वरुप विभिन्न उपाय अबलम्बन गरेपछि पछिल्लो समय कर्जाको प्रवाह बढेको छ ।

विषेश गरी सेयर बजारमा १ महिनामै १ हजार अंकको सुधार आउँदा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको परिमाण बढेको छ भने सेयर बजार बढेका कारण गाडि किन्न कर्जा लिने पनि बढेका छन् ।

बैंकमा तरलताको उपलब्धता छताछुल्लको स्थितिबाट टाइट हुँदै गर्दा ब्याजदर बढ्नेछ । राष्ट्र बैंकले दिने एसडीएफ र निक्षेपको बोलकबोलमा बैंकहरुको सहभागिता कम भए उनीहरु ३ प्रतिशतभन्दा बढीमा अन्तर बैंक कारोबार गर्नेछन् । साथै तरलता कम भए पछि उनीहरुले निक्षेपको ब्याजदर बढाएर सर्वसाधारणबाट बढी निक्षेप आकर्षित गर्नेछन् । यसरी कोषको लागत महँगिदा कर्जाको ब्याजदर पनि बढ्न थाल्नेछ ।


रोविन पौडेल