सुप्रिम सहकारीको डेढ करोड अपचलन गर्ने रास्वपाका सहमहामन्त्री आचार्यलाई छानविन समितिले गर्यो सोधपुछ



काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यसँग सोधपुछ गरेको छ ।

सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा मुछिएका गोरखा मिडिया नेटवर्क प्रालिका क्रियटिभ डाइरेक्टर तथा नोबडी प्रडक्सन प्रालिका संचालक आचार्यसँग समितिले आज आइतबार सोधपुछ गरेको हो ।

सहकारीबाट २०७८ पुस १२ गते विपिन कुमार आचार्यको नाममा १ करोड ५६ लाख १५ हजार ऋण स्वीकृत भएको थियो । उनले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरेको जिल्ला अदालत रुपन्देहीमा वैशाख ३ गते दायर भएको अभियोगपत्रमा उल्लेख छ ।

अभियोग पत्रको कैफियतमा ‘संस्थाको बचत सदस्य उल्लेख गरी विपिन कुमार आचार्यको नाममा कुनै प्रकृया पूरा नगरी ऋण लगानी गरेको भौचर सदर गर्ने सागर केसी र रकम जम्मा गर्ने सुनिता पुन’ भन्ने उल्लेख छ ।

अभियोग पत्रमा उल्लेख भए अनुसार २०७७ कात्तिक ६ विपिन कुमार आचार्यको नोबडी प्रोडक्सन कम्पनीको नाममा रहेको एनआईसी एशिया बैंकको खातामा ७५ लाख रुपैयाँ जम्मा गरेको देखिएको छ । उनीबाट सहकारीलाई साँवा ब्याज केही पनि प्राप्त नभएको अभियोगपत्रमा उल्लेख छ ।


क्लिकमान्डु