सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिए रास्वपाका सहमहामन्त्री आचार्य, प्रकृया पूरा नगरी लिए डेढ करोड ऋण



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्य सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलनमा मुछिएका छन् ।

सहकारीबाट २०७८ पुस १२ गते विपिन कुमार आचार्यको नाममा १ करोड ५६ लाख १५ हजार ऋण स्वीकृत भएको छ । उनले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरेको जिल्ला अदालत रुपन्देहीमा सोमबार दायर भएको अभियोगपत्रमा उल्लेख छ ।

अभियोग पत्रको कैफियतमा ‘संस्थाको बचत सदस्य उल्लेख गरी विपिन कुमार आचार्यको नाममा कुनै प्रकृया पूरा नगरी ऋण लगानी गरेको भौचर सदर गर्ने सागर केसी र रकम जम्मा गर्ने सुनिता पुन’ भन्ने उल्लेख छ ।

अभियोग पत्रमा उल्लेख भए अनुसार २०७७ कात्तिक ६ विपिन कुमार आचार्यको नोबडी प्रोडक्सन कम्पनीको एनआईसी एशिया बैंकको खातामा ७५ लाख रुपैयाँ जम्मा गरेको देखिएको छ । उनीबाट सहकारीलाई साँवा ब्याज केही पनि प्राप्त नभएको आरोपपत्रमा उल्लेख छ ।

१ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको पाइएपछि सरकारी वकिलको कार्यालय, रुपन्देहीले जिल्ला अदालतमा दायर गरेको मुद्दामा २८ जनालाई प्रतिवादी बताइएको छ ।


क्लिकमान्डु