रुसको कुर्स्कमा युक्रेनको आक्रमण, के हो जेलेन्स्कीको लक्ष्य?



दुई साताअघि युक्रेनी सैनिकहरूले अनपेक्षित रूपमा रुसको पूर्वी भागमा रहेको कुर्स्क क्षेत्रमा आक्रमण गर्दा अहिलेसम्म ८० वटा बस्तीहरूका साथै लगभग एक हजार वर्गकिलोमिटरमा नियन्त्रण कायम गर्न सफल भएको खबर सार्वजनिक भएपछि युक्रेनको रणनीतिक लक्ष्यका विषयमा चर्चा चलिरहेको छ । युक्रेनीहरूले १०० भन्दा बढी रुसी सैनिकलाई पनि नियन्त्रणमा लिएको बताइएको छ ।

साढे दुई वर्षअघि रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनले सैनिकहरू पठाएर रुसमाथि प्रत्याक्रमण गरेको यो पहिलो अवसर हो । यसअघि युक्रेनीहरूले रुसको बेलगोरोद र अन्य स्थानमा फाट्टफुट्ट ड्रोन तथा क्षेप्यास्त्र आक्रमण मात्र गर्ने गरेका थिए ।

रुसले आफ्नो भूमिमा आक्रमण भएको स्वीकार गरेको छ तर युक्रेनीहरूलाई भारी क्षति पुर्‍याएर अघि बढ्न नदिएको दाबी पनि गरेको छ । पश्चिमा सञ्चारमाध्यमहरूमा छापिएको खबरमा चाहिँ युक्रेनी सैनिकहरू रुसको ३० माइल क्षेत्रभित्र पसिसकेको उल्लेख छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कुर्स्क क्षेत्रको सुजा शहरमा आफूहरूको नियन्त्रण कायम रहेको बताएका छन् ।

यसैबीच युक्रेनको परराष्ट्र मन्त्रालयले यो आक्रमण रुसी भूमिमा नियन्त्रणका लागि नभई कुर्स्क क्षेत्रबाट युक्रेनमाथि भइरहेको लामो दूरीको क्षेप्यास्त्र आक्रमण रोक्नका लागि गरिएको स्पष्ट पारेको छ । कुर्स्कलाई मध्यवर्ती क्षेत्र बनाएर युक्रेनले रुसी आक्रमणको घनत्वलाई घटाउन खोजेको देखिन्छ । कुर्स्क क्षेत्रका महत्त्वपूर्ण शहरमा नियन्त्रण कायम गरेर रुसी सेनालाई युक्रेनी रणभूमिमा बन्दोबस्तीका सामान पुर्‍याउन बाधा गर्ने युक्रेनको रणनीति देखिन्छ ।

यस युद्धमा युक्रेनीहरूले व्यापक क्षति बेहोरेको भए पनि उनीहरू रुसविरुद्ध लड्नका लागि अझै तत्पर रहेको तथ्य पछिल्लो आक्रमणले पुष्टि गरेको छ । आफ्नो भूमिमा प्रवेश गरेर युक्रेनी सैनिकहरूले थोरबहुत सफलता पाउलान् भनी रुसीहरूले कल्पना गरेकै थिएनन् । त्यसैले युक्रेनको यो पछिल्लो आक्रमण उनीहरूका लागि पनि आश्चर्यजनक छ ।

त्यससँगै युक्रेनलाई यस आक्रमणले पश्चिमाहरूको नजरमा उठाएको छ । युद्धको पछिल्लो खण्डमा लगातार पछि पर्दै गएको युक्रेनलाई सहायता गर्न पश्चिमाहरू अनिच्छुक बन्न थालेका थिए । तर आफूहरू रुसको कमजोरीलाई समातेर अप्ठ्यारोमा पार्न अझै पनि सक्षम रहेको भन्ने सन्देश पश्चिमाहरूलाई दिनका लागि युक्रेनीहरू सफल भएका छन् । पश्चिमाहरूको हतियार सहयोग प्राप्त गरिरहेमा रुसलाई अँचेट्न सकिरहने अनि भविष्यमा हुने शान्तिवार्तामा बलियो पोजिशनमा रहन सकिने आकलन युक्रेनले गरेको हुन सक्छ ।

त्यसका साथै अमेरिकामा आउँदो नोभेम्बर महिनामा हुन लागेको राष्ट्रपति निर्वाचनमा कथंकदाचित् कमला ह्यारिस निर्वाचित भइछन् भने युक्रेनलाई सहयोग गरिरहनका लागि विश्वस्त पार्नका लागि अल्पकालीन भए पनि सफलता पाएको देखाउने जेलेन्स्कीको दाउ हुन सक्छ । उक्त चुनावमा डोनल्ड ट्रम्प विजयी भएछन् भने चाहिँ युक्रेनले पाउँदै आएको सहायतामा कटौती हुने पक्का छ ।

पछिल्लो आक्रमणका कारण रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लज्जास्पद स्थितिमा पुर्‍याउन पनि युक्रेन सफल भएको छ । यो आक्रमणको बारेमा भएको ब्रीफिङको भिडियोमा पुटिन अत्यन्त आक्रोशित बनेको उनको हाउभाउबाट नै देखिन्थ्यो ।

पुटिनले युक्रेनसँग कुनै पनि किसिमको शान्तिवार्ता नगरिने बयान समेत दिएका छन् जबकि यसअघि रुस वार्ताका लागि लचिलो रहेको उनले बताउने गरेका थिए ।

हुन पनि अस्थायी रूपमा भए पनि रुसी भूमिमा नियन्त्रण गुमाउने स्थिति आउनु कुनै पनि राष्ट्रपतिको लागि राजनीतिक रूपमा घातक कुरा हो । तर रुसीहरूमाझ लोकप्रियता कायम राखेका पुटिनलाई यस आघातबाट मुक्ति पाउन लामो समय लाग्ने छैन किनकि रुसीहरूले युक्रेनी सैनिकलाई आफ्नो भूमिबाट हटाउनका लागि चलाएको कारवाही द्रुत गतिमा अघि बढिरहेको र सफलता पाइरहेको खबर आएका छन् ।

युद्ध लड्नका लागि योग्य सैनिक र हातहतियार दुवैको कमी बेहोरिरहेको युक्रेनलाई बरू कुर्स्क आक्रमण लामो समयसम्म झेल्न कठिन हुने देखिन्छ । उसले आफ्ना सबभन्दा उम्दा सैनिकहरू कुर्स्कमा पठाएको छ जबकि डोनबास क्षेत्रमा उनीहरूको आवश्यकता छ । डोनबासमा रुसी सैनिकहरू निरन्तर अघि बढिरहेको सन्दर्भमा उनीहरूलाई रोक्नका लागि पर्याप्त जनशक्ति युक्रेनसँग छैन ।

निरन्तर भिडन्त गरी शत्रुलाई थकाउने (वार अफ एट्रिशन) रुस–युक्रेन युद्धको रणनीति हो । यसमा युक्रेनभन्दा रुस बलियो छ किनकि उससँग परिचालन गर्नका लागि ठूलो संख्यामा अझै पनि सैनिकहरू छन् भने उसको हातहतियार तथा सैन्य उपकरणको भण्डार पनि विशाल छ । यस्तो अवस्थामा डोनबास क्षेत्रमा सुस्त गतिमा भए पनि रुसीहरू अघि बढिरहन सक्षम छन् । त्यसो त उनीहरूले युक्रेनको २० प्रतिशत भूमि कब्जा गरिसकेका छन् ।

त्यसैले युक्रेनको अहिलेको यो आक्रमण दीर्घकालीन रूपमा उसैका लागि प्रत्युत्पादक हुन सक्छ । यस आक्रमणलाई दोस्रो विश्वयुद्धका क्रममा सन् १९४४ मा नाजीहरूले बेल्जियम र लक्जेम्बर्गको सीमामा रहेको आर्डेनेस क्षेत्रमा अलाइड सैनिकहरूमाथि गरेको आक्रमणसँग तुलना गर्न सकिन्छ । पश्चिमी मोर्चामा गरिएको त्यस आक्रमणपछि नाजीहरूले शुरूमा केही सफलता पाएको भए पनि बल्जको लडाइँ (ब्याटल अफ द बल्ज) मा उनीहरू पराजित भए । त्यसक्रममा उनीहरूले ठूलो संख्यामा सैनिक र हातहतियार गुमाउन पुगे जबकि ती सैनिकहरू पूर्वी मोर्चामा आवश्यक थिए । नाजीहरू दोस्रो विश्वयुद्धमा पराजित हुनमा यो रणनीतिक भूलको पनि प्रमुख भूमिका थियो ।

अहिले कुर्स्क क्षेत्रमा आक्रमण गरी युक्रेनले त्यस्तै रणनीतिक भूल गरेको देखिन्छ किनकि उक्त क्षेत्रलाई ‘न्युट्रल जोन’ बनाउनका लागि पनि उसले विशाल संख्यामा सैनिक र हातहतियार तैनाथ गरिरहनुपर्छ । यसकारण युद्धका अन्य मोर्चाहरूमा युक्रेनी प्रतिरक्षा कमजोर बन्न पुग्छ । फलस्वरूप, डोनबास क्षेत्रमा रुसी सैनिकहरूलाई निर्बाध रूपमा अघि बढ्न अवसर प्राप्त हुन्छ ।

तर भविष्यमा जे भए पनि तत्कालका लागि पुटिनलाई युक्रेनको यस आक्रमणले राम्रै झड्का दिएको छ । रुसको सैन्य गुप्तचरीको कमजोरी यसबाट छताछुल्ल भएको छ । युक्रेनी सैनिकहरू कुर्स्क क्षेत्रको सीमा नजिक ठूलो संख्यामा भेला भइरहेको भन्ने सूचनालाई रुसको सैन्य नेतृत्वको बेवास्ता गरेकाले यो स्थिति आएको हो भनी रुसमा चर्चा चलिरहेको बताइन्छ।

रुसका सैनिक प्रमुख भ्यालरी गेरासिमोभको अयोग्यता यस प्रकरणबाट स्पष्ट भएको भन्दै उनको राजीनामा पनि कतिपय सैन्य विश्लेषकहरूले मागिरहेका छन् । त्यसो त पुटिनले युक्रेनी आक्रमणको प्रतिकारस्वरूप प्रतिआतंकवादी कारवाही चलाउन निर्देशन दिएर गेरासिमोभको साटो रुसको संघीय सुरक्षा निकाय एफएसबीका प्रमुख अलेक्जेन्डर बोर्टनिकोभलाई विश्वास गरेको टिप्पणी पनि पाइन्छन् ।

अर्काथरी विश्लेषकहरू रुसी सेनामा कठोर विचारधारा राख्ने समूहले सैन्य मामिलाका नभई अर्थशास्त्रका जानकार नयाँ रक्षामन्त्री आन्द्रे बेलोउसोभलाई मन नपराउने भएकाले उनलाई असफल बनाउका लागि युक्रेनी आक्रमणको पूर्वसूचना पाए पनि केही नगरेको संकेत गरेका छन् । यस आक्रमणपछि पुटिनले जेलेन्स्की र युक्रेनका उच्च सैन्य अधिकृतहरूलाई सिध्याएर युद्ध अन्त्य गरिदिन्छन् कि भनी उनीहरूले अपेक्षा गरेका हुन सक्ने बताइएको छ ।

हुन पनि कुर्स्क आक्रमणको कठोर जवाफ रुसले नफर्काएमा युक्रेनीहरू सीमावर्ती बेलगोरोद र ब्रियान्स्क क्षेत्रमा पनि प्रवेश गर्नका लागि उत्प्रेरित हुने जोखिम छ । त्यसैले गर्दा यस प्रकरणपछि रुसको सैन्य कमान्डमा परिवर्तन आउन सक्ने सम्भावना छ।

जे होस्, युक्रेनलाई आफ्नो भूमिबाट हटाउन रुस सफल हुनेछ किनकि सैनिक र हातहतियारमा उसको पहुँच युक्रेनको तुलनामा बढी छ । यस प्रकरणले युक्रेनको सैन्य क्षमतालाई थप कमजोर बनाउनेछ । सन् २०२४ भित्रै युद्धको एक किसिमको टुंगो लाग्ने सम्भावना यसबाट बढेको देखिन्छ । 


विन्देश दहाल

दहाल अन्तर्राष्ट्रिय अर्थराजनीति बारे कलम चलाउँछन् ।