प्रचण्ड प्रधानमन्त्री हुँदा अधिक आशावादी भएर आर्थिक वृद्धिदर घोषणा गरिएको हो ?



काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्षको आर्थिक वृद्धिदर र अर्थतथन्त्रको आकार अनुमान गर्दा अधिक आशावादी बनेर गरेको पाइएको छ । आव २०८०/८१ को तेस्रो त्रैमासको त्रैमासिक कुल गार्हस्थ्य उत्पादनको तथ्यले अर्थतन्त्रको वाचडग समेत रहेका दातृ निकायहरुले गरेको अनुमान भन्दा बढी आशावादी बनेर सरकारले देशको अर्थतन्त्र ३.८७ प्रतिशतले विस्तार हुने अनुमान गरेको तथ्य उजागर गरेको हो ।

तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यअनुसार गत आवको तेस्रो त्रैमासिक अवधिमा अर्थतन्त्र २.२ प्रतिशतले विस्तार भएको देखाउँछ । त्यसअघि पहिलो र दोस्रो त्रैमासको त्रैमासिक आर्थिक वृद्धिदर ३ र ३.८ प्रतिशत थियो ।

तथ्यांक कार्यालयले गत आवको पहिलो २ त्रैमासमा हासिल भएको त्रैमासिक वृद्धिबाट हौसिएर ३.८७ प्रतिशतको वृद्धि अनुमान गरेको थियो । त्यतिबेला कार्यालयसँग तेस्रो त्रैमासको वास्तविक चित्र थाहा थिएन । कानुनी व्यवस्थाअनुसार त्रैमास सकिएको ९० दिनभित्र त्रैमासिक जीडीपीको तथ्यांक सार्वजनिक गर्नुपर्छ ।

सोहीअनुसार असार मसान्तमै कार्यालयले चैत्रसम्मको त्रैमासिक जीडीपीको फिगर सार्वजनिक गरेको हो । जसले गत आवको आर्थिक वृद्धिको तथ्य नै अधीक अनुमान भएको पुष्टि गरेको छ ।

तत्कालीन प्रमुख तथ्यांक अधिकारी अर्जुन पोखरेलले राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक देखिएको बताएका थिए । उनको भनाइ थियो, विगतको भन्दा चालु आवमा राम्रो प्रगति गरेका छौं, गत आवको संशोधित अनुमान पनि बढेको छ । अर्थतन्त्रका अधिकांश क्षेत्र सकारात्मक छन् जुन मुलुकका लागि राम्रो हो ।’

यद्यपि तथ्यांक कार्यालयले आर्थिक वृद्धिदर ३.८७ प्रतिशत पुग्ने ठोस आधार प्रस्तुत गर्न सकेको थिएन ।

स्थानीय संघसंस्था, विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष आदिले नेपालको आर्थिक वृद्धिदर ३ देखि ३.६ प्रतिशत हुने आँकलन गरे पनि तथ्यांक कार्यालयले करिब ३ प्रतिशतको विस्तार हुने प्रक्ष्येपण गरेको थियो ।

विश्व बैंकले गत आर्थिक वर्ष नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले, मुद्रा कोषले ३.१ प्रतिशत र एडीबीले ३.६ प्रतिशतले विस्तार हुने अनुमान गरेका थिए । यस्तै नेपालको निजी क्षेत्रका तर्फबाट नेपाल व्यवस्थापन संघले आर्थिक वृद्धि ३.०९ प्रतिशत हुने अनुमान गरेको थियो ।

तर, तेस्रो त्रैमासमा व्यापार र निर्माणसहित आधा दर्जन क्षेत्रको वृद्धिदर ऋणात्मक सो त्रैमासको आर्थिक वृद्धिदर २.२ प्रतिशतमा सिमित भएको हो । अर्थात् आर्थिक वर्ष २०७९/८० को सोही त्रैमासको तुलनामा आव २०८०÷८१ को कुल गार्हस्थ उत्पादन मात्रै २.२ प्रतिशतले बढेको हो । आव २०७९/८० को तेस्रो त्रैमासमा अर्थतन्त्रको त्रैमासिक विस्तार दर २.५ प्रतिशत थियो ।

कार्यालयको त्रैमासिक अनुमानले वर्षभर ३.८७ प्रतिशतको आर्थिक वृद्धि हुने चौथो त्रैमासिक अवधिमा अर्थतन्त्रको विस्तार अत्यधिक मात्राले हुनुपर्ने संकेत राख्दछ । अर्थात् कार्यालयले चौथो त्रैमासमा आर्थिक गतिविधिमा सुधार हुने अधिक अपेक्षा राखेको थियो ।

उतिबेला प्रधानमन्त्री नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए । राष्ट्रिय तथ्यांक कार्यालय पनि प्रधानमन्त्रीकै मातहतमा थियो ।

तर, चौथो त्रैमासिक अवधिमा अर्थतन्त्र सरकारले चाहेअनुसार चलायमान हुन नसक्दा गत आवको आर्थिक वृद्धिको संशोधित अनुमान पूर्ववत अनुमान भन्दा घट्ने पक्का भएको छ ।

यसो त आव २०८०/८१ कै दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासको अर्थतन्त्रको आकार करिब बराबर देखिएको छ । दोस्रो त्रैमासभन्दा तेस्रो त्रैमासको अर्थतन्त्र ०.८ प्रतिशतले बढेको हो ।

३ महिनाको बीचमा थोक तथा खुद्रा व्यापार, निर्माण, कृषि, खानी तथा उत्खनन्, यातायात तथा भण्डारणसहितका क्षेत्रमा संकुचन आएको तथ्यांकमा देखिएको छ । तेस्रो त्रैमास भन्नाले माघदेखि चैतसम्मको अवधि हो ।

चालु आवको तेस्रो त्रैमासमा अघिल्लो आवको सोही अवधिको तुलनामा १८ क्षेत्रमध्ये १४ वटा औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि दर बढेको छ । यसमध्ये विद्युत् तथा ग्याँस उद्योगसँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै ३७.१ प्रतिशत रहेको छ । आवास तथा भोजन सेवाको वृद्धिदर १९.१ प्रतिशत रहेको छ । यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर १५ प्रतिशत रहेको छ । कला मनोरञ्जन क्षेत्रका क्रियाकलापमा ८.३ प्रतिशतको वृद्धिदर देखिएको छ ।


क्लिकमान्डु