यसवर्षको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत



काठमाडौं । यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको छ । सरकारले चालु आव देशको अर्थतन्त्र करिब ४ प्रतिशतले विस्तार हुने अनुमान गरेको हो ।

केन्द्रीय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धि विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष अर्थतन्त्रको आकार गत वर्षको भन्दा बढी दरले बढ्ने अनुमान गरेको हो । गत वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशत थियो ।

कार्यालयका अनुसार हालसम्म प्राप्त अनुमानहरुको अध्ययनविश्लेषण गर्दा अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब ८७ करोड रुपैयाँ पुग्ने देखिएको हो । जसअनुसार आधारभुत मूल्यमा नेपालको कुल गार्हस्थ्य उत्पादन ३.५४ प्रतिशतले विस्तार हुनेछ ।

सरकारले बजेटमार्फत चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको थियो । तर, अर्थतन्त्र चलायमान नहुँदा आधाभन्दा केहिबढि मात्र आर्थिक वृद्धि हुने भएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत र गैर कृषि क्षेत्रको ३.७५ प्रतिशतले हुनेछ ।

गत वर्ष देशको अर्थतन्त्र उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधार मूल्यमा २.१६ प्रतिशतले विस्तार भई आकार (उपभोक्ता मूल्यमा) ५३ खर्ब ४८ अर्ब पुगेको थियो ।

गत वर्षको संशोधित आर्थिक वृद्धिदर (आधारभुर मूल्यमा) २.३१ प्रतिशत रहेको छ ।

सरकारले गरेको अनुमान विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एशियाली विकास बैंकले गरेको अनुमान भन्दा धेरै हो । विश्व बैंकले यस वर्ष नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले, मुद्रा कोषले ३.१ प्रतिशत र एडीबीले ३.६ प्रतिशतले विस्तार हुने अनुमान गरेका थिए । यस्तै नेपालको निजी क्षेत्रका तफबाट नेपाल व्यवस्थापन संघले आर्थिक वृद्धि ३.०९ प्रतिशत हुने अनुमान गरेको थियो ।


क्लिकमान्डु