मोबाइल बैंकिङ प्रयोगकर्ता एक महिनामै ३ लाख घटे, तर हुन्छ वालेटभन्दा ११ गुणा धेरै भुक्तानी



काठमाडौं । वैशाख महिनाभरमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या घटेको एक तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको भुक्तानी प्रणाली परिसूचकले एक महिनामै बैंकहरुले प्रदान गर्ने सेवाग्राहको संख्या ३ लाखले घटेको देखाएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत चैत मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४० लाख ५३ हजार ६ सय २९ थियो । जुन वैशाख मसान्तमा घटेर २ करोड ३७ लाख ९७ हजार ६ सय ८० कायम भएको हो ।

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या गत आर्थिक वर्षको अन्त्य अर्थात् २०८० असार मसान्तको तुलनामा २४ लाख बढी हो । मोबाइल वालेटभन्दा द्रुत गतिमा निरन्तर बढीरहेको मोबाइल बैंकिङ प्रयोकर्ताको संख्यामा एक्कासी गिरावट आएको हो ।

वालेटमा झैं सुविधा भएकाले प्रयोगकर्तामाझ मोबाइल बैंकिङ लोकप्रिय छ । एकै जनाले २–३ वटा बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा यस्ता एप प्रयोगकर्ताको संख्या निकै बढी देखिन्छ ।

हाल देशमा वालेट प्रयोगकर्ताको संख्या २ करोड २६ लाख १५ हजार १ सय २२ छ । वालेट प्रयोगकर्ताको संख्या चैतको तुलनामा ४ लाखले बढेको हो ।

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या घट्दा इन्टरनेट बैंकिङ प्रयोगकर्ता भने ३४ हजारले बढेका छन् । हाल देशमा १९ लाख ३८ हजार जना इन्टरनेट बैंकिङ प्रयोगकर्ता छन् ।

एक महिनाको अवधिमा कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या ११ हजारले बढेर १२ लाख ५१ हजार ४ सय ४० कायम भएको छ । बैंकिङ प्रणालीबाट १ करोड २७ लाख ८९ हजार वटा डेबिट कार्र्ड जारी भएको छ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या २८ लाख ६२ हजार मात्र छ ।

भुक्तानी प्रणालीमा पहुँच बढ्दै जाँदा यो प्रणालीको प्रयोग पनि निकै बढेको देखिन्छ । उपलब्ध भुक्तानीका विकल्पमध्ये मोबाइल बैंकिङ नै सबैभन्दा बढी रुचाइएको माध्यम हो ।

चालु आर्थिक वर्षको १० महिना सकिँदा ४ करोड ६ लाख २९ हजार वटा भुक्तानी मोबाइल बैंकिङबाट भएको छ । जबकि वालेटबाट २ करोड ४४ लाख ८४ हजारवटा मात्र कारोबार भएको देखिन्छ ।

रकममा पनि मोबाइल बैंकिङ निकै अगाडि छ । १० महिनामा ३ खर्ब २० अर्ब १९ करोड रुपैयाँ बराबरको भुक्तानी मोबाइल बैंकिङ प्रयोग गरी भएका छन् । दोस्रो बढी रुचाइएको भुक्तानी माध्यम वालेट प्रयोग गरी मात्रै २८ अर्ब रुपैयाँ भुक्तानी भएको छ ।

मोबाइल बैंकिङबाट हुने भुक्तानी वालेटबाट हुनेभन्दा ११ गुणा बढी हो ।

एक महिनाको अवधिमा मोबाइल बैंकिङ र वालेटबाट हुने भुक्तानी तथा कारोबार दुवैमा बढोत्तरी भएको छ ।

यता एटीएमबाट पैसा झिक्न १ करोड १४ लाख कारोबार भएको छ । यतिको कारोबार संख्याबाट ९३ अर्ब ४० करोड रुपैयाँ झिकिएको छ ।


क्लिकमान्डु