सन् २०२५ का लागि विश्वको उत्कृष्ट गन्तव्यमा पर्‍यो नेपाली होमस्टे

147
Shares

एजेन्सी । नेपालको अर्थतन्त्रमा पर्यटनको महत्वपूर्ण हिस्सा रहँदैआएको छ । पर्यटनको कुरा गर्दा पछिल्लो समय दिगो पर्यटनको चर्चा हुने गर्छ ।

पछिल्लो समय नेपाल होमस्टे (घरबास) का लागि प्रसिद्ध रहँदैआएको छ । सामान्यतया होमस्टेको बसाइ सस्तो र सरल मानिन्छ। त्यसो त, देशको अर्थतन्त्र उकास्नका लागि होमस्टे व्यवसायभन्दा पनि ठूला रिसोर्ट र तारे होटलहरु नै उपयुक्त मान्ने गरिएको छ ।

तर नेपालमा गरिने होमस्टे व्यवसायलाई व्यवस्थित र मौलिक रुपमा प्रचार गर्न सकियो भने यसको प्रसिद्धीले देशको अर्थतन्त्रमा पक्कै लाभ मिल्छ भन्न सकिन्छ । यसका केही संकेत पनि देखिएका छन् ।

ठूला होटल सञ्चालन गरेर अत्यधिक कमाउनु एउटा कुरा हो भने होमस्टे व्यवसायबाट दिगो पर्यटनलाई जोड दिने कुराको महत्व अर्कै छ ।

यसैबीच नेपालको ‘कम्युनिटी होमस्टे नेटवर्क’को चर्चा फेरि विश्वभर फैलिएको छ । अमेरिकाको विश्वप्रसिद्ध टाइम म्यागजिनले हालै मात्र नेपालको ‘कम्युनिटी होमस्टे नेटवर्क’लाई सन् २०२५ मा उत्कृष्ट गन्तव्यमा ४२ औं स्थानमा र एसियाको उत्कृष्ट ७ औं गन्तव्यमा समेटेको छ ।

भारत, जापान, थाइल्यान्ड, चीन लगायत देशका आकर्षक गन्तव्यहरुसँगै नेपालको ‘कम्युनिटी होमस्टे नेटवर्क’ पनि सूचीकृत भएको छ । जवकि यस नेटवर्क अन्तर्गत १८ वटा विभिन्न समुदायमा २ सयवटा होमस्टे तथा पर्यटकीय गन्तव्य सञ्चालनमा छन् ।

टाइम म्यागजिनमा प्रकाशित रिपोर्ट अनुसार यस नेटवर्कअन्तर्गत होमस्टे सञ्चालकहरुले उच्च तहको सुरक्षा र सरसफाइलाई जोड दिएका छन् । साथै यस नेटवर्कले पर्यटक र स्थानीयहरुबीच दिगो सम्बन्ध र मित्रता स्थापित गरिरहेको टाइम म्यागजिनमा उल्लेख छ ।

सन् २०१२ मा पनौतीबाट सुरु गरिएको यस नेटवर्क हालसम्म लोनली प्लानेट, युएनडब्लुटीओ, फोर्ब्सलगायत अन्तर्राष्ट्रिय प्लेटफर्ममा सूचीकृत भइसकेको छ । साथै यी होमस्टेका अभिभावकहरुले एकल र पारिवारिक रुपमा आउने पर्यटकहरुलाई न्यानो स्वागत सत्कार गर्ने गरेको पनि रिपोर्टमा उल्लेख छ ।

टाइम म्यागजिनमा प्रकाशित रिपोर्टमा पनौती होमस्टे सञ्चालक मिना कोइरालालाई उदाहरणीय रुपमा व्याख्या गरिएको छ । रिपोर्टमा मिनाले भनेकी छन्, ‘म कसैसँग पनि पैसा माग्दिनँ । म त आफैं स्वावलम्वी मात्रै बन्न चाहन्छु ।’

हजुरआमा बनिसकेकी मिनाले श्रीमान पनि गुमाइसकेकी छन् । उनी कम्युनिटी होमस्टे नेटवर्कको पनौतीमा होमस्टे सञ्चालन गर्दैआएकी छन् । जवकि प्राचीन नेवारी संस्कृतिले परिचित पनौती हालै मात्र युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत भएको सहर हो । जहाँ १३औं शताब्दीमा बनेका मन्दिर र मध्यकालीन मौलिक नेवारी भवनहरु छन् ।

कोइराला भने नेपाली मौलिक शैलीमा मम कसरी बनाउने भनेर पर्यटकलाई पस्काउँछिन् । साथै उनीहरुलाई नेवारी कपडा ‘सुकु भ्वे’को पहिरन लगाएर स्वागत गर्दैआएको कुरा टाइम म्यागजिनको रिपोर्टमा उल्लेख छ ।

कम्युनिटी होमस्टे नेटवर्कले होमस्टे सञ्चालन बाहेक स्थानीय सरकारसँग मिलेर पर्यटनको क्षेत्रमा धेरै उदाहरणीय काम गर्दैआएको छ । जसका लागि रिपोर्टमा प्रसंसा गरिएको छ ।

नेटवर्कले पर्यटकलाई नेपालका अन्य पर्यटकीय गन्तव्य घुम्नका लागि पनि प्रेरित गर्दैआएको बताइएको छ । यस्तै उनीहरुलाई भ्रमणको अवधिमा विभिन्न गतिविधिमा संलग्न गराउँदैआएको रिपोर्टमा उल्लेख छ । विशेषगरी नेटवर्कले नेपालका सम्पदा क्षेत्रमा पर्यटकलाई भ्रमण गराउँदै आएको बताइएको छ ।

सामान्यतया होमस्टेमा आउने पर्यटकहरुलाई सस्तोमा खुवाउने र बास दिने मात्रै नभएर यस नेटवर्कले पर्यटकलाई विभिन्न सांस्कृतिक र मनोरन्जनात्मक गतिविधिमा संलग्न गराएकोमा रिपोर्टमा उक्त नेटवर्कको कामको प्रसंसा गरिएको छ ।

टाइम म्यागजिनको अर्को गन्तव्यको रुपमा भारतको मध्यप्रदेशस्थित ‘ओबेरोइ बिन्ध्याविलाश वाइल्डलाइफ रिसोर्ट’ पनि सूचीकृत छ । जहाँबाट प्राकृतिक सौन्दर्यसँगै बंगाल टाइगर अवलोकन गर्नमिल्ने भनिएको छ ।

यसैगरी जापान, भुटान, थाइल्यान्ड, चीन लगायतका विभिन्न स्थानमा दिगो पर्यटनको प्रवद्र्धन गर्दै सञ्चालित होमस्टे तथा रिसोर्टहरुबारे टाइम रिपोर्टमा व्याख्या गरिएको छ । यसरी टाइमको रिपोर्टमा सूचीकृत हुनेमा सबैभन्दा धेरै जापानका स्थानहरु परेका छन् । त्यसपछि भारत, चीन लगायतका देशहरु छन् ।

आकर्षक र उत्कृष्ट गन्तव्यहरु रहेका विभिन्न गन्तव्यहरु:

कम्युनिटी होमस्टे नेटवर्क, नेपाल
ओबेरोइ बिन्ध्याविलाश वाइल्डलाइफ रिसोर्ट, मध्यप्रदेश भारत
सेलेसिया, इन्डोनेसिया
राफल्स, जयपुर
क्युटी, सिँगापुर
अनन्तरा को यायो याही रिसोर्ट एन्ड भिल्ला, थाइल्यान्ड
एल स्नो इनडोर स्किङ थिम रिसोर्ट, चीन
निप्पोनिया, जापान
मिरुकासी सालोन, जापान
जाबुन नेस्सा मस्क, बंगलादेश
कुमानाओ नाची ताइसा स्राइन एन्ड सिगान्तोजी टेम्पल, जापान
निन्तेन्दो म्युजियम, जापान
पापाज बम्बे, भारत
चेलेबी, अजरबैजान
द बेइजिङ लाइब्रेरी, बेइजिङ–चीन
नाँग्मा भ्याली ट्रेक, पाकिस्तान
वाइल्ड फुड एडभेन्चर्स, अर्मेनिया
द पेकोइ ट्रेल, श्रीलंका
इगल हन्टर कल्चरल सेन्टर, मंगोलिया
वङदेछोलिङ प्यालेस म्युजियम, भुटान
हो चि मिन्ह सिटी मेट्रो, भियतनाम

Skip This