इन्भेस्टमेन्ट कम्पनीदेखि सेयर बजारमा लगानी बढाउँदै हिमालयन रि

945
Shares

काठमाडौं । निजी क्षेत्रको लगानीको पुनर्बिमा कम्पनी हिमालयन रिइन्स्योरेन्सले सेयर बजारमा लगानी बढाउँदै लगेको छ ।

सरकारी लगानीको नेपाल पुनर्बिमा कम्पनी र निजी क्षेत्रको हिमालयन रिइन्स्योरेन्स सहित २ पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । हिमालयन रिले लगानीलाई सेयर बजार, इन्भेस्टमेन्ट कम्पनी लगायतमा विविधिकरण गर्दै लैजाँदा नेपाल पुनर्बिमा कम्पनीको भने मुद्दती निक्षेपमै लगानी बढ्दै गएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म पुनर्बिमा कम्पनीहरुको कुल लगानी ४० अर्ब ६३ करोड ६३ लाख रुपैयाँ पुगेको छ । नेपाल बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीहरुलाई लगानी विविधिकरण गर्न भन्दै पुनर्बिमा कम्पनीको लगानी सम्बन्धी निर्देशिका नै जारी गरेको छ । प्राधिकरणले १२ वटा क्षेत्रमा गर्नुपर्ने अधिकतम र न्युनतम लगानीको सीमा समेत तोकेको छ ।

प्राधिकरणले लगानी निर्देशिका ल्याएसँगै पुनर्बिमा कम्पनीहरुले लगानी विविधिकरण गर्दै लगेका छन् । पुस मसान्तमा नेपाल पुनर्बिमा कम्पनीको कुल लगानी २१ अर्ब १० करोड ७९ लाख रुपैयाँ पुगेको छ भने हिमालयन रिको कुल लगानी १९ अर्ब ५२ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

सरकारी लगानीको नेपाल पुनर्बिमा कम्पनीले मुद्दती निक्षेपको लगानी बढाउँदै लैजाँदा हिमालयन रिले मुद्दती निक्षेपको लगानी घटाएर सेयर बजार लगायतका क्षेत्रमा लगानी बढाएको छ । असोज मसान्तमा बैंकहरुको निक्षेपमा १३ अर्ब ९७ करोड रहेको हिमालयन रिको लगानी पुस मसान्तमा घटेर १३ अर्ब ५५ करोडमा झरेको छ ।

२०८० पुस मसान्तमा कुल लगानी १५ अर्ब ३१ करोड ५८ लाख हुँदा नै हिमालयन रिको मुद्दती निक्षेपको लगानी १३ अर्ब ४६ करोड ११ लाख थियो । एक वर्षको अवधिमा करिब साढे ४ अर्बले लगानी बढाएकामा हिमालयन रिको लगानी मुद्दती निक्षेपमा नभई अन्य क्षेत्रमा विस्तार भएको देखिन्छ ।

२०८० पुस मसान्तमा सूचीकृत पब्लिक लिमिटेडको साधारण सेयर (सेयर बजार) मा ४० करोड ७२ लाख रुपैयाँ मात्रै रहेको लगानी २०८१ पुस मसान्तमा आउँदा ३ अर्ब ६५ लाख पुगेको नेपाल बिमा प्राधिकरणको तथ्यांक छ ।

यस्तै हिमालयन रिले इन्भेस्टमेन्ट कम्पनीको सेयरमा पनि ९० करोड लगानी गरेको छ । २०८० पुसमा इन्भेस्टमेन्ट कम्पनीको सेयरमा लगानी थिएन । अन्य संस्थापक सेयरमा पनि कम्पनीले एक वर्षमा १५ करोडले लगानी बढाएको हो । २०८० पुसमा २२ करोड ९८ लाख रहेको लगानी २०८१ पुसमा ३७ करोड ९८ लाख पुर्‍याएको हो । पछिल्लो एक वर्षमा कम्पनीको अन्य लगानी ६० करोड गरेको हो ।

यता नेपाल पुनर्बिमा कम्पनीको भने असोज मसान्तमा मुद्दती निक्षेपको लगानी १५ अर्ब ३२ करोड ६४ लाख रहेकोमा पुस मसान्तमा बढेर १६ अर्ब १८ करोड ९० लाख रुपैयाँ पुगेको छ । कम्पनीले भने अन्य क्षेत्रमा लगानी विस्तार गर्ने भन्दा पनि मुद्दति निक्षेपमा नै लगानी केन्द्रित गरेको छ ।

Skip This