
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि सर्टलिस्टमा परेका ५ जनाको कार्ययोजना प्रस्तुती र अन्तर्वार्ता बुधबार (भोलि) हुँदैछ । आवेदन दिएका १० जनामध्ये सर्ट लिस्टमा पर्नेहरु पूर्णप्रसाद आचार्य, हेमन्त बस्याल, नारदकुमार लुइँटेल, बद्रीप्रसाद प्याकुरेल र चुडामणी चापागाईंलाई अन्तर्वार्ताका लागि बुधबार बोलाइएको छ ।
नेप्सेको सीईओ बन्न आवश्यक योग्यता तय गरिएको छ । सीईओ बन्नका लागि धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६ क बमोजिम अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर गरेको हुनुपर्छ । यस्तै चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधी हासिल गरेको हुनुपर्छ ।
यस्तै पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्य अनुभव भएको हुनुपर्छ । उच्च व्यवस्थापकीय तह भन्नाले सरकारको अधिकृतस्तरको कम्तीमा प्रथम श्रेणी वा सो सरह वा कम्पनी वा संगठित संस्थाको हकमा कार्यकारी प्रमुख वा दुई तह मातहत सम्मको व्यवस्थापकीय नेतृत्वमा रहेको हुनुुपर्छ ।
आज हामी सर्टलिस्टमा परेका पाँचै जनाको अनुभव र योग्यता केलाउँदैछौं ।
नेप्सेको सीईओका लागि आवेदन दिएर सर्ट लिस्टमा परेका पूर्ण प्रसाद आचार्य ३२ वर्ष बैंकिङ क्षेत्रमा जीवन व्यतित गरेका व्यक्ति हुन् । इलामका आचार्य कृषि विकास बैंकमा उप–महाप्रबन्धकका रुपमा काम गरिसकेका छन् ।
करिब डेढ वर्ष उप–महाप्रबन्धक बनेका आचार्य कृषि विकास बैंकमा करिब तीन महिना निमित्त सीईओ समेत बनेका थिए । आचार्यले मावन संशाधनलगायत बैंकको विभिन्न शाखा प्रमुख भएर काम गरेको अनुुभव छ । पूर्वाञ्चल विश्वविद्यालयबाट एक्जुकेटिभ मास्टर इन बिजनेस एडमिस्ट्रेसन गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी अध्ययन गरेका छन् । उनी कृषि विकास बैंकको फन्ड म्यानेजमेन्ट अफिसको अध्यक्ष समेत भएका थिए । उनी डिप्रोक्स माइक्रोफाइनान्समा डाइरेक्टर समेत बनेका थिए ।
बैंकबाट निवृत्ति भरण भएपछि उनी ४ वर्ष सीडीएससीमा सीईओ समेत बनिसकेका छन् ।
आचार्यसँग बैंकिङ क्षेत्रमा स्वदेश तथा विदेशका विभिन्न सहरमा तालीम लिएको अनुभव छ ।
सर्ट लिस्टमा परेका हेमन्त बस्याल बेगनासकाली–६, पाल्पाका हुन् । बस्यालले त्रिभुवन विश्वविद्यालयबाट लगानी वित्त विषयमा स्नातकोत्तर गरेका छन् । बस्याल एन्ड कम्पनीमा उनी १३ वर्ष प्रबन्ध निर्देशक थिए भने हाल एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी निर्देशक (सीईओ) छन् । उनले तत्कालिन बिमा समितिमा जोखिम व्यवस्थापन समितिको सदस्यको रुपमा करिब ९ महिना काम गरेका थिए ।
बद्रीप्रसाद प्याकुरेल हाल आरबीबी मर्चेन्ट बैंकिङको सीईओ हुन् । नुुवाकोट जिल्ला बिदुर नगरपालिका–१०, गेर्खु माझगाँउका प्याकुरेल करिब ५ वर्षदेखि उक्त कम्पनीमा सीईओ छन् ।
उनले त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । प्याकुरेलले नेपाल फाइनान्समा चिफ मर्चेन्ट बैंकिङ विभागमा २ वर्ष, विराट लक्ष्मी विकास बैंकमा पब्लिक डाइरेक्टर भएर ६ वर्ष, एनआईबीएल एस क्यापिटलमा एसिस्टेन्ट जनरल म्यानेजर भएर साढे ६ वर्ष काम गरेका छन् ।
सर्लाहीका नारदकुमार लुइटेलले एमबीएसम्मको अध्ययन गरेका छन् । पर्यटन व्यवसायी लुइँटेलले तारागाउँ विकास समितिमा एक कार्यकाल अध्यक्ष भएर काम गरिसकेका छन् । उनलाई २०७८ फागुनमा सरकारले पुनः तारागाउँ विकास समितिको सदस्य सचिवको जिम्मेवारी दिएको थियो । त्यतिबेला कार्यकारी अध्यक्षको जिम्मेवारी नपाएका कारण लुइँटेललाई काम गर्ने वातावरण सिर्जना भएन । लुइँटेलले नेपालका पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को एक वर्ष कार्यकारी निर्देशक भएर काम गरेका थिए ।
लुइँटेलले तारागाँउ विकास समितिको अध्यक्ष हुँदा हायात होटलको छानबिन गराएर कारबाहीको दायरामा ल्याउन सफल भएका थिए ।
झापाका चुडामणी चापागाईं सानिमा बैंकका पूर्वकर्मचारी हुन् । उनले बैंकको झापा लगायतका शाखामा प्रमुख भएर काम गरेका छन् । उनी तत्कालीन सानिमा लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर पनि हुन् ।
प्रतिक्रिया