बैंकिङ प्रणालीमा अत्यधिक तरलता, ३ दिनमै राष्ट्र बैंकले खिच्यो ८५ अर्ब रुपैयाँ



काठमाडौं । नेपाल राष्ट्र बैंकले २ दिनमै ८५ अर्ब रुपैयाँ तरलता खिचेको छ । केन्द्रीय बैंकले बोलकबोलमार्फत् निक्षेप संकलनको औजार प्रयोग गरी ७० अर्ब र स्थायी निक्षेप सुविधा (एसडीएफ) प्रयोग गरी थप १५ अर्ब रुपैयाँ तरलता प्रशोचन (मप–अप) गरेको हो ।

अत्यधिक तरलता रहेका बेला प्रशोचन गर्न केन्द्रीय बैंकले निक्षेप संकलनको उपकरण प्रयोग गर्ने गर्छ । जेठ २५ को तथ्यांकअनुसार बैंकिङ प्रणालीमा अहिले ६५ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ अधिक तरलता छ ।

राष्ट्र बैंकका अनुसार जेठ २४ गते ४० अर्बको र २५ गते ३० अर्बको निक्षेप बोलकबोलका माध्यमबाट संकलन गरिएको छ । दुवै निक्षेप १४ दिनका लागि हुन् । ४० अर्बको निक्षेपका लागि ४४ अर्ब १० करोडको कबोल परेको थियो भने ३० अर्बका निक्षेप जारी गर्ने बेलामा बैंकहरु ३८ अर्ब ९५ करोड रुपैयाँ राख्न तयार थिए ।

यसरी बोलकबोलमा राखिने निक्षेपको ब्याजदर ३ प्रतिशतको हाराहारीमा हुने गर्दछ ।

२ दिनको अवधिमा बैंकहरु न्यूनतम २.९८ प्रतिशत र अधिकतम ३.१५ प्रतिशत ब्याजदरमा निक्षेप राख्न तयार थिए ।

४० अर्बको निक्षेपमा १४ बैंक वित्तीय संस्थाले ३७ वटा कबोल गरेका थिए भने ३० अर्बको निक्षेपमा १७ संस्थाले ५१ आवेदन दिएका थिए ।

केन्द्रिय बैंकले जेठ महिनामै २ खर्ब ८० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । यसरी निक्षेप ७, १४ वा २१ दिनका लागि संकलन गरिन्छ । र परिपक्व भएपछि फिर्ता गरिन्छ ।

निक्षेप संकलन सुविधा रिपो र रिभर्र्स रिपोभन्दा फरक हो । रिपो वा रिभर्स रिपो जारी गर्दा हरेकपल्ट बोलकबोल गर्नुपर्छ । निक्षेप भने परिपक्व भएपछि आफैं फिर्ता हुन्छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ९ खर्ब ९६ अर्ब ८५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन निक्षेप संकलनमार्फत् गरेको छ ।
बोलकबोलमार्फत् निक्षेप संकलनभन्दा केही फरक औजार हो, स्थायी निक्षेप सुविधा अर्थात् एसडीएफ ।

आइतबारमात्र राष्ट्र बैंकले १४ अर्ब ७० करोड रुपैयाँ बराबरको एसडीएफ सुविधा उपलब्ध गराएको छ । राष्ट्र बैंकले गत फागुनदेखि एसडीएफ सुविधा दिन थालेको छ । यो सुविधाअन्तर्गत बैंकहरुले ३ प्रतिशतमा निक्षेप राख्न पाउँछन् । ब्याजदर कोरिडोरको तल्लो सीमा मानिएको अन्तर बैंक ब्याजदरलाई ३ प्रतिशतमा सिमित राख्न यो सुविधा दिन थालिएको हो ।

तर, एसडीएफ प्रभावकारी हुन नसक्दा अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा कम छ । अर्थात् बैंकहरु राष्ट्र बैंकमा ३ प्रतिशतमा निक्षेप राख्न छाडेर एकअर्कालाई सस्तो दरमा सापटी दिन्छन् ।

मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले एसडीएफलाई प्रभावकारी बनाउने उद्घोष गरेको छ । तर, हालसम्म पनि प्रभावकारी बनाउन कदम राष्ट्र बैंकले चालेको छैन । यो सुविधा हाल आइतबार र बुधबार उपलब्ध गराइँदै आएको छ । शुक्रबारको तथ्यांकअनुसार अधिक तरलता साढे २ अर्बले बढेको हो ।

पछिल्लो समय बाह्य क्षेत्रमा भएको सुधारले बैंकिङ्ग क्षेत्रको तरलता बढ्न गई अल्पकालीन तथा दीर्घकालीन ब्याजदरहरु घट्दै गएका छन् । बैंकिङ्ग प्रणालीमा तरलता स्थिति सहज रहेकोले अल्पकालीन एवम् दीर्घकालीन ब्याजदरहरु घटेका हुन् । चालु आर्थिक वर्षमा शोधनान्तर बचत उल्लेख्य बढेको तर कर्जा प्रवाहमा शिथिलता कायमै रहेकोले मौद्रिक तरलता बढेको हो ।

तरलता व्यवस्थापनलाई प्रभावकारी बनाइ मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा रहेको भारित औसत अन्तरबैंक दरलाई ब्याजदर करिडोरभित्र कायम राख्ने अभिप्रायले २०८० फागुनबाट स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याइएको थियो । केन्द्रीय बैंकले बैंकिङ्ग प्रणालीमा अधिक तरलता रहे पनि २०८० फागुनदेखि कार्यान्वयनमा ल्याइएको स्थायी निक्षेप सुविधा एवम् अन्य उपकरणमार्फत तरलता व्यवस्थापन गरिएको फलस्वरुप २०८० चैत मसान्तको भारित औसत अन्तरबैंक दर ब्याजदर करिडोरको सीमाभित्रै रहेको छ । तर, स्थायी निक्षेप सुविधा निकै प्रभावहीन बनेको निष्कर्ष निकाल्दै राष्ट्र बैंकले यो व्यवस्थाको पुनरावलोकन गर्ने बताएको छ ।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता रहेसँगै चालु आर्थिक वर्षको ११ महिनामा तरलता प्रशोचनका उपकरणको प्रयोग बढेको छ । यस अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत ९ खर्ब ९६ अर्ब ८५ करोड रुपैयाँ प्रशोचन गर्दा र स्थायी निक्षेप सुविधामार्फत १६ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको छ ।

बाह्य क्षेत्रतर्फ शोधनान्तर बचत उल्लेख्य बढेकोलेबैंकिङ्ग प्रणालीमा अधिक तरलताको स्थिति छ । खासगरी उच्च विप्रेषण आप्रवाह र आयात संकुचनको कारण शोधनान्तर र चालुखाता बचत हुन गई विदेशी विनिमय संचिति बढिरहेको छ । सहज तरलता र न्यून ब्याजदरको अवस्थामा आयातले विस्तारै गति लिँदा बाह्य क्षेत्र परिसूचकहरुमा सामान्य प्रभाव पर्ने आँकलन रहेको छ ।


क्लिकमान्डु