लगानीका लागि बेलायत सरकारसँग महासंघ अध्यक्ष ढकालको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावनाबारे जानकारी गराउँदै बेलायत सरकारसँग लगानीको लागि आग्रह गरेका छन् ।

नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग शुक्रबार भएको भेटवार्ताको क्रममा अध्यक्ष ढकालले नेपाल सरकारको लगानी सम्मेलनबारे चर्चा गर्दै नेपालमा विदेशी लगानी आवश्यक रहेको बताएका थिए ।

नेपाल र बेलायतबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै ढकालले बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवर्द्धन गर्न आग्रह गरेका थिए । निजी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पुर्‍याएको अवस्थाबारे पनि उनले राजदूतलाई जानकारी गराए । नेपालमा वैदेशिक लगानी आएको खण्डमा निजी क्षेत्रले थप योगदान दिनसक्ने ढकालको प्रतिबद्धता थियो ।

यस्तै नेपालमा अब व्यवसाय गर्न सहज वातावरण भएको पनि उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघको सल्लाहमा सरकारले लगानी प्रक्रियालाई सहज बनाउन ८ वटा लगानी ऐन परिमार्जन गरेको ढकालले स्मरण गराएका थिए ।

राजदूत फेनलाई नेपालमा लगानीका विभिन्न अवसरका बारेमा पनि ढकालले जानकारी दिएका थिए । ‘जलविद्युत, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रसस्त सम्भावना छ । नेपालको अधिकांश आर्थिक क्षेत्र पूर्ण रूपमा प्रयोग हुन सकेको छैन, त्यसैले लगानीकर्ताले छनोट गर्नुपर्ने धेरै क्षेत्रहरू छन्,’ राजदूत फेनसँगको भेटवार्तामा अध्यक्ष ढकालले भनेका छन् ।

भेटवार्ताको क्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले व्यापार विस्तारको बारेमा आफ्नो धारणा राखेका थिए । साथै संघको लगानी फोरमका सभापति मनोज पौडेलले नयाँ लगानीका अवसर बारे जानकारी दिएका थिए ।

भेटको क्रममा राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघलाई धन्यवाद दिएका थिए । उनले दोहोरो करमुक्ति सम्झौताबारे पनि चासो राखेका थिए ।

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले बेलायत सरकारले ६५ विकासोन्मुख देशलाई विकासोन्मुख राष्ट्र व्यापार योजना सुविधा उपलब्ध गराएको चर्चा गरे । नेपालले यो सुविधा कसरी लिन सक्छ भन्ने विषयमा महानिर्देशक अवस्थीले राजदूत फेनलाई अनुरोध गरेका थिए ।

सन् २०२६ सम्ममा नेपाल विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने भएकाले नेपालले निर्यातमा ड्युटी फ्रि सुविधा गुमाउने पनि अवस्थीले समरण गराएका थिए । त्यसैले विकासोन्मुख राष्ट्र व्यापार योजना नेपालका लागि महत्वपूर्ण हुने उनको भनाइ थियो ।


क्लिकमान्डु