बजेटमा ओलीको असन्तुष्टि, सिलिङभन्दा २० अर्ब बढी बजेट पाउँदा पनि किन रिसाए महासेठ ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएजस्तो देखिएको टिप्पणी गरे ।

शनिबार एमाले संसदीय दलको बैठकमा ओलीले बजेटमाथि असन्तुष्टि पोखेका हुन् ।

उनले बजेट सत्ता गठबन्धनको नभएर सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको जस्तो भएको टिप्पणी गरे । सरकारमा सहभागी दलहरुसँग परामर्श नगरि बजेट आएको उनले यो अर्थमन्त्रीको बजेट हो ? भन्दै प्रश्न गरे ।

‘सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर छलफल गरेर बजेट आएको भए धेरै राम्रो बजेट हुनसक्थ्यो,’ ओलीले भने, ‘छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि ? जस्तो अलि बढता देखिन गएको छ ।’

उनले रकमको बाँडफाँट पनि अलि बढी एकातिर ढल्किएको जस्तो देखिएको बताए ।

‘यसमा कमी रहेको छ । यसको निर्माण प्रक्रियामा नै कमी रह्यो, जसले गर्दा त्यो कमी नरहनु पर्दथ्यो, रहन जाँदा यसमा गम्भीर त्रुटीहरु रहे,’ ओलीले भने,’ हामीले समाजवाद निर्माणको बाटो लिएका छौं । त्यसका लागि समाजवाद निर्माणका आधारहरु तयार गर्ने, समाजवाद उन्मुख बजेट, नीति, कार्यक्रम, योजनाहरु, ती कुराहरु बजेटले स्पष्ट ढंगले समाउनु पर्दथ्यो । अलि अन्योलग्रस्त देखिन्छ ।’

तर माओवादी नेताहरु भने ओलीको भनाइलाई स्वीकार गर्न तयार छैनन् । माओवादी सचिव देवेन्द्र पौडेल सल्लाहमै बजेट आएको दाबी गर्छन् ।

पौडेल सल्लाह नगरी आएको भए भौतिक मन्त्रालयमा सबैभन्दा धेरै बजेट विनियोजन कसरी सम्भव भएको भन्दै प्रश्न गर्छन् ।

ओलीले रकम बाँडफाँटमा बजेट एकातिर ढल्किएको जस्तो आरोप लगाइरहँदा पौडेल भौतिक मन्त्रालयले गतवर्षभन्दा दोब्बर बजेट पाएको र उक्त मन्त्रालयको नेतृत्व गर्दै एमाले सरकारमा सहभागी भएको बताउँछन् ।

माओवादीले किन देखायो भौतिक मन्त्रालयलाई ?

उसो त भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्रालयमा हल्ला हुने भन्दै मन्त्री क्वार्टरमा नै बजेट बनाएका थिए । उनले मन्त्रालयको योजना तथा अनुगमन मूल्यांकन महाशाखालाई उपेक्षा गर्दै आफ्नो क्वार्टरमा बजेट बनाएका थिए । मन्त्री महासेठले अन्तर मन्त्रालय बजेट सूचना प्रणाली (एलएमबीआईएस) खोल्न लगाएर खुद्रे योजना हाल्न लगाएका थिए ।

वैशाख मसान्तसम्म अरु मन्त्रालयको बजेट लक भएको भए पनि उनले कार्यक्रम नपठाएका कारण अर्थ मन्त्रालयलाई अप्ठ्यारो परेको थियो । विषयगत मन्त्रालयको एलएमबीआईएस लक भएपछि अर्थ मन्त्रालयमा कुन आयोजनामा बजेट विनियोजन गर्ने वा नगर्ने छलफल हुने गर्छ । तर भौतिक मन्त्रालयले समयमा एलएमबीआईएसमा आयोजना अपलोड नगर्दा अर्थ मन्त्रालयमा गहन छलफल हुनै पाएन ।

बजेट आउनु केहि दिन अघि मन्त्रालयका कर्मचारीहरुले मन्त्री महासेठले आफ्नो क्वाटरमा तय गरेका योजनालाई एलएमबीआईएस इन्ट्री गरेका हुन् ।

१ खर्ब १३ अर्ब रुपैयाँको सिलिङ पाएको मन्त्रालयले १ खर्ब ५० अर्ब रुपैयाँको बजेट पाएको छ । खर्ब रुपैयाँभन्दा बढी दायित्व रहेको मन्त्रालयले नेताका पकेटका खुद्रे योजनामा बजेट छुट्याएको अर्थ मन्त्रालयल स्रोतले जानकारी दिएको हो । स्रोतका अनुसार १६ अर्ब रुपैयाँभन्दा बढी बजेट खुद्रे योजनामा बाँडेको छ । यातायात मन्त्री महासेठले आफ्नै क्षेत्रमा २ अर्ब रुपैयाँभन्दा बढीको बजेट हालेका छन् ।

स्रोतका अनुसार १० अर्ब रुपैयाँभन्दा बढी वैकल्पिक सहायक सडकका लागि बजेट छुट्याइएको छ । सिलिङभन्दा बढी बजेट पाउँदा पनि उनी खुसी छैनन् ।

उनले १ खर्ब ५५ अर्ब रुपैयाँ मागेका थिए । करिब ५ अर्ब रुपैयाँ कटौती भएको छ । उनले मागे जति बजेट नपाएको गुनासो एमाले अध्यक्ष ओलीसँग गरेका थिए । उनले एमालेले अघि सारेका ५ अर्ब जतिका कार्यक्रमको बजेट काटिदिएपछि ओलीसँग गुनासो गरेका हुन् । सरकारको नेतृत्व गरेका पार्टीका सचिव महासेठले गुनासो गरेपछि ओलीले त्यसलाई सार्वजनिक रुपमा अभिव्यक्त गरेका हुन सक्ने माओवादी नेताहरुको भनाइ छ । ओलीले चाहेका केही योजना छुटेका कारण पनि उनी रिसाएको हुन सक्ने एक माओवादी नेता बताउँछन् ।

एमाले असन्तुष्ट भए पनि बजेट पासमा केही समस्या

गठबन्धन दलको मुख्य घटक एमाले अध्यक्ष ओलीले नै बजेट एकपक्षीय भनिरहँदा के बजेट पास हुँदैन त ? भन्ने प्रश्न कतिपयले गरेको पाइन्छ । तर ओलीले असन्तुष्टि व्यक्त गरे पनि बजेट पास भने हुने बताएका छन् ।

‘एउटा चाहीँ हामीमा कुनै दुविधा हुनुहुँदैन, यस बजेटलाई हामी समर्थन गर्छौं । र पारित गर्छौं,’ ओलीले भने, ‘यसको मतलव बजेटमा रहेका कुनै कमी पनि औंल्याउन हुँदैन भन्ने होइन ।’


क्लिकमान्डु