नेपालको अन्तर्राष्ट्रिय प्रवर्द्धन ८ महिनादेखि ठप्प, नयाँ कार्यविधि बनाउने पर्यटन बोर्डको निर्णय



काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने काम आठ महिनाभन्दा लामो समयदेखि रोकिएको छ । नेपाल पर्यटन बोर्ड अन्तर्गत हुने अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनको कार्यक्रम यो वर्ष अहिलेसम्म सुरु हुनै सकेको छैन ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि रोकिएको यस्तो कार्यक्रम खर्च कार्यविधि स्वीकृत नभएका कारण चैत्र पहिलो साता सकिसक्दासमेत ठप्प छ ।

नेपाल पर्यटन बोर्डको ‘विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि’ स्वीकृत नभएको कारण यो वर्ष पर्यटन प्रवर्द्धनकै काम गर्ने बोर्ड मुख्य उद्देश्यबाटै विमुख भएको छ । पर्यटन बोर्डले दुई पटक कार्यविधि बनाएर सार्वजनिक खरिद अनुगमन कार्यालय पठाएको र उक्त निकायबाट स्वीकृति नपाउँदा अन्तर्राष्ट्रिय गतिविध ठप्प हुन पुगेको हो ।

सरकार आफैंले बनाएको ऐनअनुसार बनेका कानुनलाई स्वीकृति नदिँदा बोर्डले विदेशमा गर्ने सबै प्रकारका मेला महोत्सवसहितका कार्यक्रम हुन नसकेको पर्यटन बोर्डको भनाइ छ ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ६७ ले गरेको व्यवस्थाअनुसार पर्यटन बोर्डले विदेशमा हुने कार्यक्रमका लागि कार्यविधि बनाएर स्वीकृतिका लागि सार्वजनिक खरिद अनुगमन कार्यालय पठाएको छ । उक्त कार्यविधि स्वीकृति भएर नआएका कारण बोर्डले फेरि कार्यविधिको मस्यौदामा आवश्यक परिमार्जन गरेर पेस गर्ने निर्णय गरेको छ ।

पर्यटन बोर्ड सञ्चालक समितिले बोर्डको समस्याको गाँठो फुकाउने प्रयासमा यस अघि कार्यविधि स्वीकृत नहुँदा विगतको अभ्यासका नाममा गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिने प्रकृतिको निर्णय पनि गरिसेको छ । तर, उक्त निर्णय कार्यान्वयनमा आउन नसक्दा बोर्डले यो वर्ष अहिलेसम्म अन्तर्राष्ट्रिय मेला, महोत्सव र तथा प्रवर्द्धन गर्न सकेको छैन ।

पर्यटन बोर्ड सञ्चालक समितिले यो वर्ष र्काविधि स्वीकृत गराएर मात्रै बोर्डको काम गर्ने निर्णय गरेको थियो । तर, कार्यविधि भने सार्वजनिक खरिद अनुगमन कार्यालयमा रोकिएको कारण अहिलेसम्म बोर्डका खर्चसम्बन्धी गतिविधि हुन सकेको छैन ।

सार्वजनिक खरिद ऐन २०७३ मा संशोधन भएपछि अन्य संस्थानसरहनै कार्यविधि स्वीकृत गरेरमात्रै कार्यक्रम गर्नुपर्ने व्यवस्था भएको थियो । सोही व्यवस्थाअनुसार २०७४ मै बोर्डले उक्त कार्यविधि बनाएर सर्वजनिक खरिद अनुगमन कार्यालयमा पेस गरेको थियो ।

सो कार्यविधि सार्वजनिक खरिद कार्यालयबाट सुझावसहित पर्यटन मन्त्रालय हुँदै मन्त्रिपरिषद जानुपर्ने हुन्छ । यो कार्यविधि स्वीकृत नभएपछि बोर्डले २०७८ मा दोहोर्यार पठाएको थियो भने अहिले पनि २०८० मा सोही कार्यविधिलाई तेस्रोपटक सार्वजनिक खरिद अनुगमन कार्यालय पठाउने निर्णय भएको बोर्डले जानकारी दिएको छ ।

बोर्डको कामै नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न र विदेशी पर्यटक नेपाल भित्र्याउने हो । बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धनकै लागि यो वर्ष ३३ करोड रुपैयाँ छुट्याएको छ । यो रकम आन्तरिक प्रबद्र्धन बाहेककै हो । बोर्डले यो वर्ष पर्यटन प्रवर्द्धनका नाममा ५५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ ।

बोर्डले गत वर्षसम्म ‘विगतमा गरिआएको अभ्यास’का आधारमा भन्ने वाक्य राखेर खर्च कार्यविधि बिना नै अन्तर्राष्ट्रिय प्रवर्द्धनको कार्यक्रम गर्दै आएको थियो । यो वर्ष यही शब्द बोर्डको बजेट स्वीकृत गर्दा नपरेको कारण अहिलेसम्म पनि बोर्डले गर्ने अन्तर्राष्ट्रिय मेला महोत्सवसहितका प्रवर्द्धनात्मक कार्यक्रम हुनै नसकेको नेपाल पर्यटन बोर्डका पर्यटन बजारीकरण तथा प्रवर्द्धन विभागका निमित्त निर्देशक लक्ष्मण गौतमले बताए ।

उनकाअनुसार बोर्डले यो वर्ष खर्च कार्यविधि नभएकै कारण कुनै पनि प्रवर्द्धनको काम गर्न नपाएको हो । बोर्डले बाटो फुकाउने हो भने अबको ४ महिनामा पनि उल्लेख्य कार्यक्रम गर्न सक्ने दाबी गौतमको छ ।

गौतमकाअनुसार खर्च कार्यविधि स्वीकृत भएको १५ दिनमै भारत तथा चीनमा नेपाली पर्यटन प्रवर्द्धनको सेल्स मिसन गर्न सकिन्छ । यसका कार्यविधि स्वीकृत नहुँदासम्मको लागि बोर्डले विगतको अभ्यासका आधारमा भन्ने शब्द राखेर बोर्ड सञ्चालक समितबाट निर्णय गरेमात्रै पुग्छ ।

चालु आर्थिक वर्षको बजेटमा भने पर्यटन बोर्ड सञ्चालक समितिको बैठकमा प्रतिनिधित्व गर्ने निजी क्षेत्रका प्रतिनिधिले बिरोध गरेपछि ‘विगतको अभ्यासका आधारमा’ पर्यटन प्रवर्द्धन गर्ने भन्ने व्यवस्था हटाएर बजेट पास गरिएको थियो । बोर्डका करिब २ महिना अगाडि पदावधि सकिएका तत्कालीन सीईओ डा. धनञ्जय रेग्मीलाई अप्ठारो पार्न खोजेर कार्यविधि स्वीकृत भएन । बोर्डले त्यतिबेला एउटा व्यक्तिलाई अप्ठ्यारो पार्न खोज्दा पर्यटनको गतिविधि नै ठप्प हुनेसम्मको असर अहिले परेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले भने बोर्डको विदेशमा कार्यक्रम गर्दा खर्च गर्ने उक्त कार्यविधि छलफलमै रहेको भनेर पन्छाइदिएको छ । खरिद अनुगमन कार्यालयका प्रवक्ता विष्णुप्रसाद शर्माले भने बोर्डले नै निर्णय गरेर नपठाएको कारण प्रक्रिया नपुगि आएकोले रोकिन पुगेको बताए ।

पर्यटन बोर्ड सञ्चालक समितिबाट निर्णय हुनुपर्ने र त्यसको जानकारी तालुक निकाय पर्यटन मन्त्रालयबाट आउनुपर्ने थियो । सो प्रक्रिया पूरा गरेर नआएकोले आवश्यक छलफल सकिएको भएपनि आवश्यक प्रक्रिया अगाडि बढाउन नसकिएको शर्माले क्लिकमाण्डुलाई जानकारी दिए ।

पर्यटन बोर्ड बनेको प्रवर्द्धन र मार्केटिङको लागि भएकोले जसरी पनि कार्यविधि स्वीकृत गराउन बिहीबार पर्यटन बोर्डका कर्मचारीले जोड दिएका छन ।

बिहीबार पर्यटन मन्त्री हितबहादुर तामाङलाई बोर्डबारे ब्रिफिङ कार्यक्रममा कर्मचारीले बोर्डमा २ महिनादेखि रिक्त सीईओ र सदस्य नियुक्ति गर्न र कार्यविधि स्वीकृत गराएर वा विगतकै अभ्यास अबलम्न गरेर कार्यक्रम खुलाउन माग गरे ।

कर्मचारीको जिज्ञासाको जवाफ दिँदै पर्यटन मन्त्री तामाङले पर्यटनको समस्या आफूले मसिनो गरी अध्ययन गरिरहेकोले छिट्टै उपयुक्त कदम चाल्ने बताए । तामाङले बोर्डले नेतृत्व पाउनुपर्ने, रिक्त सदस्य नियुक्त हुनेपर्ने र अन्तर्राष्ट्रिय प्रवर्द्धन खुलाउने विषयमा आफू गम्भीर रहेको पनि बताए ।


क्लिकमान्डु