
हिजो बिहानै एउटा समाचार सबै जसो मिडियामा हाइलाइट बन्यो चितवनको मकुना हात्तीको मृत्यु । वातावरणविद्, संरक्षणकर्मी, र विभिन्न संघ संस्थाले वक्तव्य निकाले । निर्दोष जनावरलाई गोली ठोक्नु जघन्य अपराध भन्दै विरोध प्रकट गरियो ।
तर त्यही बेला, एउटा निर्दोष पाडोलाई वन्यजन्तु नियन्त्रणका नाममा बलिको रूपमा प्रयोग गरिएको घटनाले भने कसैको ध्यान पाएन ।
अघिल्लो महिना, बर्दियाको सामुदायिक जंगलमा नरभक्षी बाघको आक्रमणमा एक निर्दोष महिलाले ज्यान गुमाइन् । यो त प्रतिनिधि घटना मात्र हो । बाँके, कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरूमा पनि यस्ता घटना पटक- पटक दोहोरिइरहेका हुन्छन् ।
यस्ता घटनाले स्थानीयहरूमा भय फैलाउँछन्, अनि निकुञ्ज प्रशासनले बाघ नियन्त्रणका उपायहरू खोज्छ । ती उपायमध्ये पहिलो सधैं उही हुन्छ एउटा निरीह पाडोलाई पासोका रूपमा प्रयोग गर्नु ।
यसपटक पनि बाघ नियन्त्रण गर्न गाउँका ठूला – बडाहरू भेला भए । विभिन्न योजना बनाइए, तर कुनै पनि सफल भएनन् । अन्ततः सिकारीहरूले एउटा दुब्लो-पातलो पाडोलाई बलीको रूपमा प्रयोग गर्ने निर्णय गरे ।
पुष महिनाको सित लहर थियो । रात गहिरिँदै जाँदा सारा गाउँ निदाएको थियो, तर जंगलको किनारमा एउटा निर्दोष पाडो कठोर यथार्थसँग एक्लै जुधिरहेको थियो । उसलाई बलियो डोरीले रुखमा बाँधिएको थियो । चिसो बतास उसका कमजोर हड्डीसम्म छिरिरहेको थियो । उसका आँखा डरले रसाइरहेका थिए । सायद उसलाई थाहा थिएन, किन आज ऊ एक्लै जंगलको बीचमा छोडिएको छ ।
गाउँका केही मानिसहरू टाढा रुखमुनि लुकेर बाघको प्रतीक्षा गरिरहेका थिए । सिकारीहरू बाघलाई लठ्याउने औषधि लिएर सतर्क भएर बसेका थिए । उनीहरूको ध्यान केवल बाघको आगमनमा थियो । तर, त्यो निरीह पाडोको पीडा कसैले महसुस गरिरहेका थिएनन् ।
रातको गहिरो सन्नाटामा पाडोले एकचोटि करुण स्वरमा रुन खोज्यो । आँई…
त्यो आवाजले गाउँकै एउटा वृद्ध किसानको मन चसक्क गरायो । उनी भित्रभित्र छटपटाए । उनी त्यो स्थानमा गएर भन्न चाहन्थे, ‘यो निर्दोष जीवलाई यस्तो पीडा दिनु अन्याय हो । त्रासको समाधान निर्दोषको बलिमा हुन सक्दैन । तर गाउँका मानिसहरूको डर, बाघको आतंक र समाजको मौनताले उनलाई रोक्यो ।
बिहानको पहिलो किरणसँगै खबर फैलियो ‘बाघ आएको थिएन ।’ त्यो रात निरीह पाडो एक्लै डर, चिसो, र अनिश्चिततासँग लड्दै बिताएको थियो । तर ऊ बाँचेको भए पनि भोलि फेरि उही नियति दोहोरिन्थ्यो ।
मकुना हात्तीको मृत्युमा समाज बोलेको थियो । संरक्षणका आवाजहरू उठेका थिए । तर, यो निर्दोष पाडोको व्यथा कसैले सुनेन । सधैँ बलियोको अघि निर्बलको आवाज दबिन्छ । केही दिनअघि मात्र अर्को समाचार आएको थियो, ‘समुदायमा छाडा कुकुर मार्ने दुई जनालाई जेल सजाय ।’
यदि त्यो अपराध हो भने, वन्यजन्तु नियन्त्रणका नाममा बीच जंगलमा एक निरीह पाडोलाई बाघको आहारा बनाउनु अपराध होइन ?
हामी संरक्षणका कुरा गछौं, कानुनका कुरा गर्छौं, तर कमजोरलाई सधैं बलीको रूपमा प्रयोग गर्ने हाम्रो सोच परिवर्तन कहिले हुन्छ ?
के कुनै दिन ती निर्दोष प्राणीहरूको वेदनालाई पनि समाजले सुनी दिने छ ? कि सधैंभरी यिनीहरू नदेखिने छाँया बनेर अँध्यारोमा हराइरहनेछन् ?
(लेखक पशु चिकित्सक हुन् ।)
प्रतिक्रिया