
विराटनगर । ‘तिर्खाएको धरानलाई पानी देऊ’ भन्ने अभियान चलाउँदै हर्क साम्पाङ गएको स्थानीय निर्वाचनमा स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिए । धरानको खानेपानी समस्या, अनियमितता, भ्रष्टाचार र परम्परागत दलहरूको असफलता विरुद्ध मुख्य मुद्दा सार्वजनिक गर्दै उनी स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका थिए ।
खानेपानीको समस्याबाट आजित बनेका लाहुरेको बस्ती धराने जनताले साम्पाङलाई भारी मतले जिताए । ‘तिर्खाएको धरानलाई पानी देऊ’ भन्दै अभियान चलाएका साम्पाङले मेयर बनेको चार महिनामै श्रमदानका भरमा पानी ल्याएर धराने जनताको मन जिते ।
तिनै साम्पाङको परिचय यसबेला धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदानमा उत्रिने धरानका निवर्तमान मेयर मात्र नभएर, श्रम संस्कृति पार्टीका अध्यक्ष र प्रतिनिधिसभा सदस्यमा परिणत भएको छ । अब उनको यात्रा स्थानीय नेतृत्व हुँदै राष्ट्रिय राजनीति तर्फ मोडिएको छ ।
धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएदेखि नेपाली राजनीतिक वृत्तमा चर्चाको पात्र बन्दै आएका साम्पाङ फागुन २१ मा सकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी मात्र भएनन्, उनले खोलेको दल ‘श्रम संस्कृति पार्टी’ राष्ट्रिय पार्टी समेत बनेको छ ।
उनको पार्टीले पहिलो निर्वाचनमै साम्पाङसहित तीन सांसद विजयी गराउँदै समानुपातिक मतमा ३ प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टीमा परिणत भएको छ । उनको दलले सुनसरी १, भोजपुर र खोटाङमा बाजी मार्दै कोशी प्रदेशमा आफ्नो उपस्थितिको बलियो प्रमाण पेस गरेको छ ।
विसं २०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिह्न लिएर साम्पाङ निर्वाचित भएका थिए । सामान्य जीवनशैली, स्पष्ट वक्ता र विकासका लागि श्रमदान अभियानका कारण उनी छोटो समयमै राष्ट्रिय राजनीतिमा चर्चामा आए ।
नगर प्रमुखमा निर्वाचित भएपछि उनले परम्परागत राजनीतिक शैली भन्दा फरक अभ्यास गरे । महँगा औपचारिकता भन्दा श्रमदान अभियानलाई प्राथमिकता दिँदै आफैँ ढुङ्गा बोक्ने, नाली सफा गर्ने तथा पानीका मुहानसम्म पुगेर पाइप बिछ्याउने काम गर्दै धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि कोकाहा खोलाबाट पानी ल्याउने अभियानमा उनले धराने जनतासँग मिलेर महिनौँसम्म श्रमदान गरे ।
सामाजिक सञ्जालमार्फत प्रत्यक्ष संवाद, नागरिक सहभागितामा आधारित विकास र भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाउने शैलीले उनलाई समर्थकहरू माझ ‘अभियानबाट उठेको नेता’का रूपमा चिनायो । उनको कार्यशैलीलाई लिएर आलोचना गर्नेहरू पनि उत्तिकै सक्रिय रहे । समर्थक र आलोचकबिचको बहसले उनलाई निरन्तर सार्वजनिक चर्चाको केन्द्रमा राख्ने गरेको छ ।
साम्पाङको सामाजिक र राजनीतिक सक्रियता भने मेयर बन्नुअघि नै सुरु भइसकेको थियो । २०६८ सालतिर धरानमा कर वृद्धि तथा विभिन्न बेथितिविरुद्ध भएका आन्दोलनमा उनी सक्रिय हुँदै आएका थिए । पछि जनसरोकार मञ्चमा आबद्ध हुँदै उनले आन्दोलनको नेतृत्व गरे । धरानको खानेपानी समस्यालाई लिएर “पानी दे, पानी दे” भन्ने नारासहितको अभियान चलाउँदा उनले स्थानीय स्तरमा चर्चा बटुले । खानेपानी मुहान अनुगमनका क्रममा पाइप तोडफोडको आरोपमा साम्पाङ प्रहरी हिरासतमा समेत पुगे ।
साम्पाङ अवैध ढुङ्गा गिट्टी उत्खनन रोक्न खोलासम्म पुगेर विरोध गर्थे । मदन भण्डारी राजमार्ग विस्तारका क्रममा घर भत्काउने विषयमा सङ्घर्ष समितिमा सह-संयोजक भएर आन्दोलन गरे । त्यसैगरी सीमा अतिक्रमणदेखि धरानको स्वास्थ्य सेवा सुधारका विषयमा साम्पाङले खरो आवाज उठाए । त्यही गतिविधिले उनलाई स्थानीय स्तरमा सक्रिय अभियन्ताका रूपमा स्थापित गर्यो । गीत सङ्गीतमा समेत रुचि भएका साम्पाङले केही वर्ष अगाडि ‘मिसिङ हार्ट’ नामक एल्बमसमेत सार्वजनिक गरेका छन् । अहिले पनि उनी बेलाबेला गिटार बजाउँदै गीतमार्फत राजनीतिक व्यङ्ग्य गर्छन्, जसले उनलाई फरक पहिचान दिलाएको छ । सामाजिक सञ्जालमा उनी ‘हर्क साम्पाङ रिभोलुसन’ नामले चर्चित छन् ।
नगर प्रमुखकै जिम्मेवारीमा रहँदा उनले गत माघ ४ गते पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी गठन गरेर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बने । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उनी सुनसरी १ बाट भारी मतान्तरले विजयी पनि भए । उनी अब प्रतिनिधिसभा सदस्यका रूपमा आफूले अघि सारेको श्रम र नागरिक सहभागिताको ढाँचालाई राष्ट्रिय स्तरमा विस्तार गर्ने लक्ष्यमा छन् ।
धरानको सडक र खानेपानीको मुहानबाट सुरु भएको साम्पाङको राजनीतिक यात्रा अब संसद् भवनसम्म पुगेको छ । स्थानीय आन्दोलनबाट उठेको उनको राजनीतिक यात्राले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्ला, त्यो हेर्न बाँकी छ । श्रम संस्कृति पार्टी खोलेर राष्ट्रिय राजनीतिमा प्रवेश गरेका हर्कको शैली सधैँ सीधा, हक्की र जनमुखी देखिन्छ । उनको श्रममा लाग्न अभिप्रेरित गर्ने हर्कवाद् अब संघीय संसदमा पाइने छ ।
कसरी उदाए हर्क?
कुनै समय कांग्रेस, एमाले र माओवादी लगायतका ठुला राजनीतिक दलका उम्मेदवारका पछाडि सयौँ कार्यकर्ताको भीड हुन्थ्यो । अर्कातिर एक स्वतन्त्र उम्मेदवार श्रोताविहीन सडकमा एकोहोरो भाषण गरिरहन्थे । सेतो सर्ट, कालो पाइन्ट अनि स्पोर्ट्स जुत्तामा कहिले मोटरसाइकल त कहिले सिटी सफारी लिएर उनी गाउँ-टोल र गल्ली डुलिरहन्थे ।
खाली सडकमा उभिएर प्रश्न गर्थे, ‘पार्टी…पार्टी… भन्छन्, के हो पार्टी भनेको? तपाईंको पार्टीको परिभाषा र सिद्धान्त थाहा छ?’ झन्डा बोकेको भरमा वर्षौँदेखि ‘ठुटे’ नेताहरूलाई जिताएकै कारण धराने जनताले खानेपानी पिउन नपाएको तर्क उनी गर्थे । पार्टी मात्र होइन, त्यसका सिद्धान्त र एजेन्डा बुझ्न उनी धराने जनतालाई आग्रह गर्थे । आफ्नो आवाज कसैले सुनेको छ वा छैन भन्ने वास्ता नगरी उनी कुर्लिरहन्थे ।
‘खानेपानी त पाएको छैन, अरू कुरा के पाउनु?’ धरानका अरू समस्या थप्दै उनी भन्थे, ‘मेयर बन्ने आकांक्षी उम्मेदवारमध्ये म तपाईंको चोकमा बोलिरहने व्यक्ति, जसले खानेपानी, स्वास्थ्य, शिक्षा, बिजुली, सडक, महँगी नियन्त्रण, एमसीसी जस्ता कुरा उठाएर हिँड्यो, त्यो व्यक्ति हर्क साम्पाङ पनि यसपालि चुनावमा भाग लिँदै छ ।’
१८ वैशाख २०७९ मा हर्कले कांग्रेस उम्मेदवार किशोर राई र एमाले उम्मेदवार मञ्जु भण्डारी सुवेदीसँगै आफू पनि उम्मेदवार भएको स्मरण गराइरहेका थिए । ‘तपाईंहरूले किशोर राई, मञ्जु भण्डारी लगायतका मान्छेसँग मलाई पनि उभ्याउनुपर्छ अनि तपाईंको चाहना बुझ्ने को हो भन्ने छान्नुपर्छ,’ हर्क भन्थे, ‘अहिले पानी खुवाउने पैसाले पिकनिक खुवाइरहेका छन्, चुनाव भनेको पिकनिक खान जाने समय होइन, ५ वर्षमा कस्तो मान्छे चुन्छौँ भन्ने जाँच दिने समय हो । चुनाव परीक्षा हो ।’
एक्लै भाषण गर्दै हिँडेको यो दृश्य उनले ‘हर्क साम्पाङ ए रिभोलुसन’ नामक युट्युब च्यानलमा राखेका छन् । हर्क यसैगरी ६ वर्ष पहिले भएको उपनिर्वाचनमा पनि उम्मेदवार बनेका थिए । तर, ४ सय २२ मत मात्र ल्याए । त्यसबेला कांग्रेसका तिलक राई मेयर बने । उपनिर्वाचनमा मतदाताले आफूलाई नपत्याएको भन्दै उनी २०७९ को निर्वाचनमा भने आफूलाई अरू उम्मेदवारसँगै उभ्याइदिन भनिरहेका हुन्थे । मतदातासँग उनको मूलतः एउटै प्रतिबद्धता हुन्थ्यो, वर्षौँदेखि काकाकुल धरानलाई घरघरको धारामा पानी आउने अवस्था बनाउँछु ।
वर्षौँदेखि धरानका उम्मेदवारले यही एजेन्डा उठाउँदै आएका थिए । तर, कसैले समस्या समाधानमा उत्ति साह्रो ध्यान दिएनन् । मेयरमा उम्मेदवारी दिनुअघि हर्कले भने अभियन्ताका रूपमा आफ्नो अलग छवि बनाइसकेका थिए । त्यही कारण हुन सक्छ, चुनावी अभियानमा एक्लै देखिएका उनले मतपरिणाममा बाजी मारे ।
हर्कले आफूलाई कांग्रेस र एमाले उम्मेदवारसँगै उभ्याइदिनू भनेका थिए, परम्परागत दलका वर्षौँदेखिका आश्वासनबाट आजित मतदाताले २० हजार ८ सय २१ मत दिएर हर्कलाई मेयर चुने । त्यति बेला सत्ता गठबन्धन (कांग्रेस–माओवादी) का किशोरले १६ हजार ५९ र एमालेकी मञ्जुले १२ हजार ८ सय २५ मत ल्याए ।
राजनीतिमा प्रवेश गर्नुअघि देखि नै सामाजिक सञ्जालमा सक्रिय हर्कले मेयरको शपथ लिएलगत्तै ‘पानी नआउने, लाइन नआउने समस्या, बेथिति र अनियमितता भएको अवस्थामा मलाई सीधा सम्पर्क गर्नू’ भन्दै आफ्नो मोबाइल नम्बर सार्वजनिक गरेका थिए । उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘मलाई बधाई र जस दिइरहनु पर्दैन, यी सब धराने जनताले गरेर देखाएका हुन् । असली बधाईको हकदार म होइन, बधाई दिनै छ भने धराने जनतालाई दिनू ।’
सिंगो देशले लौरो चुनाव चिह्नबाट स्वतन्त्र रूपमा मेयर निर्वाचित भएपछि चिने पनि धरानमा हर्क एक दशकअघि देखि नै विकृति, विसङ्गति विरुद्ध खरो आवाज उठाइरहने अभियन्ता थिए । २०७२ मा मदन भण्डारी राजमार्ग विस्तारका क्रममा धनकुटे सडकमा धेरैको घर भत्किने भएपछि हर्कको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो । त्यस अभियानलाई धेरैले साथ दिएका थिए र उनलाई धरानभरि चिनाउने माध्यम पनि त्यही बन्यो । महेन्द्र बहुमुखी क्याम्पसको जग्गा भूमाफियाले हडप्न गरेको चलखेल विरुद्ध धर्नादेखि धनकुटे सडकमा भएको खाल्डाखुल्डी नपुरिएको प्रति विरोध जनाउँदै सडकमै फूल रोपेर हर्कले विरोध गरेका थिए ।
हर्कले सबैभन्दा लामो समयदेखि चलाउँदै आएको अर्को अभियान खानेपानी समस्या समाधान सम्बन्धी हो । पालिकाको कार्यालय अगाडि खानेपानीका अभाव विरुद्ध समेत उनले निरन्तर आवाज उठाउँदै आएका थिए । खानेपानीको समस्या लिएर पालिका कार्यालय जाँदा एक पटक अपमानजनक रूपमा निकालिएका पनि थिए । दीर्घकालीन खानेपानी व्यवस्थापन सङ्घर्ष समिति नै गठन गरेर अघि बढेका उनी अनेक अपमानका बाबजुद पनि कहिल्यै रोकिएनन् । ‘हामी बर्सेनि खानेपानीको देउसीभैलो खेल्दै आएका छौँ, खेलिरहने छौँ,’ उनले १७ वैशाख २०७६ मा भानुचोकमा हस्ताक्षर अभियानका क्रममा भनेका थिए।
धरानमा खानेपानी समस्या समाधानका लागि एसियाली विकास बैंक (एडीबी) को सहयोगमा २ अर्ब १९ करोड रुपैयाँ बराबरको परियोजना अघि बढाइएको थियो । त्यसमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो । भ्रष्टाचारको छानबिनको माग राख्दै प्रदर्शन गर्ने क्रममा हर्कले खानेपानीको मुहान तोडफोड समेत गर्दा प्रहरीको हिरासत पनि पुगे ।
हर्क मेयर भएपछि अरू जनप्रतिनिधि जस्तो प्रशासनिक काममा मात्र अल्झिएर कार्यालयमा बसिरहेनन् । जनताको तिर्खा मेटाउन श्रमदान अभियान चलाउन थाले । हरेक शनिबार आफैँ ढुङ्गा बोकिरहेको देखिन थाल्यो । ‘कति दिन त मेरो हातमा ठेला हुन्थे, तर त्यो देख्दा मलाई ढुङ्गाको मान्छे हुँ कि जस्तो लाग्थ्यो,’ हर्क स्वयंले आफ्नो नामाकरण गरेका थिए । उनले भनेका थिए ‘पानी माग्दै सिंहदरबार पुगें, अनेकतिर धाएँ । तर सहयोग नभएपछि स्थानीय स्रोतबाट व्यवस्थापन गर्न लागिपरें ।’
हर्कले धरान-२० मा पर्ने कोकाहा खोलाको पानी बराहक्षेत्र नगरपालिका हुँदै घना जङ्गलबाट धरानसम्म ल्याउने प्रयास थाले । ‘तिर्खाएको धरानलाई पानी देऊ’ भन्दै अभियान चलाएका उनले मेयर बनेको करिब चार महिनामै धरान बजारमा पानी ल्याए । मेयर निर्वाचित भएलगत्तै घरदैलोमा जाँदा गरेको वाचा पूरा गर्न कस्सिएका हर्कले श्रमदान मार्फत खर्दु र निसाने खोलाको पानी धरान ल्याए । पानी आएपछि उनले सामाजिक सञ्जालमा भिडियो राख्दै भनेका थिए, ‘खर्दु र निसानेलाई मात्रै जोडेका छौँ, सर्दु जोड्न बाँकी छ । सर्दु पनि जोडेपछि झन् ठुलो आउनेछ पानीको फोहरा ।’
हर्कले धरान उपमहानगरमा गरेका कतिपय काम भने विवादित छन् । मेयर बनेपछि माओवादीबाट निर्वाचित उपप्रमुख अइन्द्रविक्रम बेघा बिचमा श्रमदान रकम भुक्तानी सम्बन्धी विवाद देखिन थाल्यो । यो विवाद यति चर्कियो कि एक पटक मेयरको कार्यकक्षमा पुगेका बेघालाई हर्कका समर्थकले हातपात गरे । वडा नं. १६ मा रहेको बहुभाषिक पाठशालामा श्रमदानबाट गरिएको कामको जबर्जस्ती भुक्तानीका लागि दबाब दिइएको उपप्रमुख अइन्द्र पक्षको भनाइ थियो । उपमहानगरपालिकाको डोजर, एक्स्काभेटर आदिको चाबी उपप्रमुखले दिन नमानेको हर्क पक्षले बताएको थियो ।
यस्तै, पश्चिम सर्दु रोकथाम समितिले नगरपालिकासँग भुक्तानी माग गर्दा पनि विवाद भयो । १७ लाख ४० हजार २ सय ९४ रुपैयाँ बराबरको श्रमदान गरेकामा नगरपालिकाबाट ७ लाख ४१ हजार भुक्तानी माग गरेपछि उपप्रमुख अइन्द्रले कानुन विपरीत भएको काममा समर्थन नगर्ने भन्दै भुक्तानी रोके । त्यसपछि हर्कले अइन्द्रप्रति इगो साँधे र २०८१ मा बेलायत भ्रमणमा जाँदा वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिए । उपमेयरसँगको लफडाले गर्दा चालु वर्षको वार्षिक बजेट समेत धरान उपमहानगरले चार महिनापछि सार्वजनिक गरेको थियो ।
धरान उपमहानगरको मेयरमा ५ वर्षका लागि चुनिएका हर्क जेन-जी आन्दोलन पछि उत्पन्न विषम परिस्थितिमा नेपाली सेनाले सहजीकरण गरिरहेका बेला काठमाडौँ पुगेका थिए । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नागरिक सरकारको प्रमुखका रूपमा जेन-जी अभियन्ताले सिफारिस गरेको खबर सार्वजनिक हुँदा उनका समर्थकले जङ्गी अड्डा बाहिर प्रदर्शन गरेका थिए ।
पछि उनले कार्की सरकारमा गृहमन्त्रीको समेत दाबी गरेका थिए । तर कार्कीले आफ्नो विश्वासपात्र ओमप्रकाश अर्याललाई रोजिन् । त्यसयता उनले देशमा माटो सुहाउँदो छुट्टै शक्ति चाहिएको भन्दै श्रम संस्कृति पार्टी गठन गरे । उनले १ कात्तिकमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका थिए । काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ बिच वैकल्पिक शक्ति एक ठाउँ आउने बारे छलफल हुँदा भने हर्क छुटे ।
खासमा हर्क काठमाडौँका मेयर बालेन्द्र विरुद्ध केही पहिले देखि सामाजिक सञ्जालमा खरो रूपमा प्रस्तुत हुँदै आएका थिए । एक पटक आफूलाई आलोचना गर्दै हर्कले लेखेको पोस्टमा बालेन्द्रले ‘आई लभ यु’ भन्दै प्रतिक्रिया लेखेका थिए । हर्कले त्यसलाई बालेन्द्रको ‘पराजित मानसिकता’ भन्दै जवाफ दिएका थिए । एउटै चिह्नबाट चुनाव लडेर कुनै बेला बालेन्द्रलाई भेट्न काठमाडौँ पुगेका हर्क प्रतिनिधिसभा निर्वाचनमा झापा-५ मा बालेनलाई हराउन लागेका थिए ।
श्रम संस्कृति पार्टी खोलेर आफू प्रधानमन्त्री बन्ने भन्दै चुनावी दौडमा होमिएका हर्क सुनसरी १ बाट भारी मतान्तरले विजयी भए ।
खोटाङको केपिलासगढी खार्ताम्छामा २०३९ मा जन्मिएका हर्कले त्यहीँको कुहुडाँडा माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेर उनी २०५६ तिर धरान झरेका थिए । उनका बुबा ब्रिटिस आर्मीमा थिए ।
हर्क अहिले धरान-१८ बुद्धचोकमा बस्छन् । धरानकै महेन्द्र बहुमुखी क्याम्पसबाट मानविकी सङ्कायमा स्नातक तह पूरा गरे । उनी पहिले देखि नै साङ्गीतिक क्षेत्रमा पनि रुचि राख्थे । अहिले पनि अनेक विषयमा व्यङ्ग्य गर्दै गीत तयार पारेर सामाजिक सञ्जालमा राख्छन् । हर्कले कुनै बेला धरानमा ‘द पर्फेक्ट इङ्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर सेन्टर’ चलाएका थिए । त्यहाँ उनी ट्युसन पढाउने र कम्प्युटर सिकाउने गर्थे । उनी रोजगारीका क्रममा ६ वर्ष इराक र अफगानिस्तान पनि बसे ।
हर्क रुखो शब्द/शैलीका कारण पटक-पटक विवादमा पर्दै आएका पात्र हुन् । उनी स्वयं भने आफू कडा नभई यथार्थ बोल्ने बताउँछन् । ‘सत्य कुरा बोल्न मलाई डर, हिचकिचाहट र लाज लाग्दैन,’ उनको भनाइ छ । हक्की स्वभाव भएकैले उनले आफ्नो उपनाम ‘क्रान्ति’ राखेका छन् । उनले फेसबुकमा समेत लेखेका छन्, ‘हर्क साम्पाङ – ए रिभोलुसन ।’








प्रतिक्रिया