सम्पूर्ण अपडेट

खर्बपति उद्योगीदेखि पूर्वबैंकरसम्म पराजित, देशको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीले पनि हारे

322
Shares

काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा चुनावमा खर्बपति उद्योगीदेखि पूर्वअर्थमन्त्रीसम्मले हार व्यहोर्नुपरेको छ । लामो समय देशको ढुकुटी सम्हालेकादेखि उद्योगपतिहरूलाई खासगरी रास्वपाको लहरले बढारेको हो ।

नेपाली कांग्रेसले नवलपरासी पश्चिम–१ बाट खर्बपति व्यवसायी विनोद चौधरीलाई दोस्रोपटक उम्मेदवार बनाएको थियो । ‘फोर्ब्स’को सूचीमा सूचीकृत एकमात्र डलर अर्बपति व्यवसायी चौधरी २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट २९ हजार ५ सय १९ मतसहित निर्वाचित भएका थिए । तर उनले यसपटकको चुनावमा हार व्यहोर्नुपर्‍यो । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष खनालले ठूलो मतान्तरले पराजित गरे ।

कांग्रेसले मोरङ–३ मा उम्मेदवार बनाएको सुनिल शर्मा मेडिकल कलेज व्यवसायीसमेत हुन् । उनले पनि यसपटकको चुनाव हारेका छन् ।

काठमाडौं मेडिकल कलेज र नोबल मेडिकल कलेजका सञ्चालक शर्मा जलविद्युत् आयोजनामा पनि लगानी गर्दै आएका छन् । उनी यसअघिको निर्वाचनमा मोरङ–३ बाटै निर्वाचित भएका थिए, तर यसपटक उनलाई रास्वपा उम्मेदवार गणेश कार्कीले हराए।

त्यस्तै, मुक्तिनाथ विकास बैंकका दुवै पूर्वअध्यक्ष चुनावी मैदानमा उत्रिएका थिए । स्याङ्जामा नेपाली कांग्रेसले भरतराज ढकाललाई उम्मेदवार बनाएको थियो । सोही क्षेत्रबाटै एमालेले मीनप्रसाद गुरुङलाई टिकट दिएको थियो । दुवैजना स्याङ्जाबाट सहकारीका रूपमा सुरु भएर हाल राष्ट्रियस्तरको विकास बैंक बनेको मुक्तिनाथका पूर्वअध्यक्ष हुन् । तर उनीहरू दुवैले हार व्यहोरे ।

स्याङ्जा–१ बाट रास्वपाका उम्मेदवार नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत धनञ्जय रेग्मीले २९ हजारभन्दा बढी मत ल्याएर दुवैलाई हराए । रेग्मीको होटल तथा पर्यटन व्यवसायमा लगानी छ ।

उता जनमत पार्टीका तर्फबाट सिरहा–४ को उम्मेदवार बनेका वीरेन्द्रकुमार महतोले पनि हार व्यहोर्नुपर्‍यो । महतोको बैंकिङ, जलविद्युत्, शिक्षा लगायत क्षेत्रमा लगानी छ । उनी माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष हुन् । महतो गत निर्वाचनमा सोही क्षेत्रमा जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । तर यसपटक रास्वपाका उम्मेदवार तपेश्वर यादवले ३६ हजारभन्दा बढी मत ल्याएर उनलाई हराएका छन् । महतो यसपटकको चुनावमा तेस्रो हुन पुगे ।

‘अबकी बार सय पार’को नारा लिएर चुनावमा होमिएको कांग्रेसले धादिङ–२ मा रमेश धमलालाई उम्मेदवार बनाएको थियो । उनी पर्यटन व्यवसायी हुन् । होटल तथा पर्यटन व्यवसायमा लगानी रहेका धमला ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का पूर्वअध्यक्ष हुन् । उनलाई पनि रास्वपा उम्मेदवार बोधनारायण श्रेष्ठले भारी मतले हराएका छन् । धमलाले २० हजार मत ल्याउँदा श्रेष्ठले २६ हजार मत ल्याएर जित हासिल गरेका थिए ।

कांग्रेसका तर्फबाट धादिङ–१ मा उम्मेदवार बनेका कृष्ण रिजाल पनि पर्यटन व्यवसायी थिए । रिजाल पर्यटन बोर्डका सदस्य थिए तर उनले यसपटकको चुनावमा लज्जास्पद हार व्यहोर्नुपरेको छ । रास्वपा नेतृ आशिका तामाङले करिब ४० हजार भोट ल्याएर त्यस क्षेत्रबाट जित्दा रिजालले १० हजार मात्रै भोट ल्याए । कांग्रेसले रसुवामा उम्मेदवार बनाएका मोहन आचार्य निर्माण व्यवसायी थिए । उनले भने यसपटकको चुनावमा जितेका छन् । रास्वपा उम्मेदवार वसन्त भट्ट यसपटक उनको मुख्य प्रतिस्पर्धी बने ।

यशोदा फुड्सका मालिक चुन्नप्रसाद शर्माले पनि यसपटकको चुनावमा हार व्यहोरेका छन् । बुटवल अस्पतालका अध्यक्षसमेत रहेका कांग्रेस उम्मेदवार शर्मा रूपन्देही–२ बाट चुनाव लडेकोमा रास्वपाका सुलभ खरेलले उनलाई हराएका छन् । सुलभले ५६ हजारभन्दा बढी मत ल्याई जित हासिल गर्दा शर्माले १० हजार मत पनि ल्याउन सकेनन् ।

यता, एमालेले कपिलवस्तु–३ मा वीरेन्द्रकुमार कनौडियालाई उम्मेदवार बनाएको थियो । उनी कांग्रेस परित्याग गरेर एमालेबाट उम्मेदवार बनेका थिए । लुम्बिनी सुगर मिल्सका अध्यक्षसमेत रहेका कनौडिया यसपटकको चुनावमा पराजित भए । उनलाई कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले हराए । शाहले २३ हजारभन्दा बढी मत ल्याएर विजयी हुँदा कनौडियाले १४ हजार ७ सय मत ल्याएर हारेका छन् ।

यसपटकको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षसमेत रहेका डीपी अर्याल काठमाडौं–९ बाट उम्मेदवार बनेका थिए । उनी भने सफल भएका छन् । उनले भारी मतका साथ कांग्रेस, एमाले र माओवादीका उम्मेदवारहरूलाई हराए । अर्यालको पर्यटन, वैदेशिक रोजगार र रेमिटेन्स व्यवसायमा लगानी छ । उनी अघिल्लो निर्वाचनमा समानुपातिकतर्फबाट सांसद थिए ।

पूर्वअर्थमन्त्रीले पनि हारे

यसपटकको चुनाव पूर्वअर्थमन्त्रीहरूका लागि पनि शुभ रहेन । एमालेका उपाध्यक्ष तथा पाँचपटक अर्थमन्त्री भएका नेता विष्णुप्रसाद पौडेल रूपन्देही क्षेत्र नं. २ बाट फराकिलो मतान्तरले पराजित भए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलसँग हारे । खरेलले ५६ हजार ५ सय ५० मत ल्याउँदा पौडेलले १२ हजार ८ सय ६१ मत मात्र पाएको निर्वाचन आयोगले जनाएको छ । पौडेल एमाले अध्यक्ष ओलीका विश्वासिला पात्र मानिन्थे भने २०७२ देखि हालसम्म ५ पटकसम्म उनले मुलुकको ढुकुटी सम्हालेका थिए ।

अर्का नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–४ बाट पराजित भएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका दीपककुमार शाहले हराएका छन् । त्यस्तै, अर्थमन्त्री भइसकेका कांग्रेसकै वरिष्ठ नेता डा. प्रकाशशरण महतले नुवाकोट निर्वाचन क्षेत्र नं. १ बाट हारेका छन् । त्यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम तिमिल्सिनाले जितेका छन् ।

यसपटक निर्वाचनमा भाग लिएका पूर्वअर्थमन्त्रीहरूमध्ये वर्षमान पुन मात्रै विजयी भएका छन् । उनी रोल्पाबाट २७ हजार ४ सय ६० मत प्राप्त गर्दै विजयी भए । यसपटकको चुनावमा पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणा पनि पराजित भए । ललितपुर क्षेत्र नम्बर १ बाट चुनाव उठेका उनी रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जनसँग पराजित भए । महर्जनले २३ हजार ३ सय ७३ मत ल्याउँदा राणाले १३ हजार ५ सय २० मत मात्रै प्राप्त गर्न सफल भए ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट पराजित भएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता रहेका उनले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ । उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले २१ हजार ६ सय ९ मत ल्याई विजयी भए । उनी रुकुम जिल्लाबाट २०६४ सालयताका संसदीय निर्वाचनमा निरन्तर विजयी हुँदै आएका थिए । पूर्वअर्थमन्त्री भइसकेका बाबुराम भट्टराई र महेश आचार्यले भने यसपटक चुनाव लड्ने आँट नै गरेनन् ।