दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाबमा नपरी प्रमाण र तथ्यमा आधारित भएर न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन ।

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा निर्मित ‘द ब्लु पेभिलियन’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा विधिको शासन तथा शान्ति सुरक्षा कायम गर्ने काममा दृढताका साथ अघि बढ्न निर्देशन दिएका हुन् ।

‘तपाईंहरु जनताको अपेक्षाअनुसार चल्नुपर्छ । जनताले प्रहरीबाट निष्पक्ष र असल व्यवहारको अपेक्षा गरेका छन् । त्यसैले तपाईंहरु संविधान र कानुनबमोजिम देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुस्’, प्रधानमन्त्री ओलीले भने, ‘कुनै तस्कर, भ्रष्ट र ठगहरुमाथि निर्धक्क भएर अनुसन्धान गर्नुस् । मुलुकमा शान्ति सुव्यवस्था कायमका साथै राष्ट्रिय हित र एकतालाई ध्यान दिएर अझ प्रभावकारी रुपमा काम गर्नुस् ।’

प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई सबै प्रहरीको घरका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

२०७७ जेठ ११ गते शिलान्यास भएको उक्त प्याभिलियन ७५ करोड ८७ लाख रुपैयाँमा निर्माण भएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको इतिहास भाग–२ को विमोचन गर्नुका साथै भवन निर्माणमा योगदान दिने अधिकारी, प्राविधिक र निर्माणकर्तालाई सम्मान प्रदान गरेका थिए ।

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधानमन्त्री ओलीमार्फत प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा ७४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको ऐन संशोधनको विधेयक संसद्मा पेस भएको र यसमा आउने रचनात्मक सुझावलाई परिमार्जनमा समावेश गरेर चाँडो पारित गरिने प्रतिबद्धता व्यक्त गरे ।

गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समयानुकूल बनाउन सरकार क्रियाशील रहेको बताए ।

उनले स्रोत र साधनको अधिकतम उपयोग गरी दुवै सुरक्षा निकायलाई प्रतिस्पर्धी बनाउन सरकार क्रियाशील रहेको बताए । दुवै निकायका निम्ति आवश्यक कानुन तयार गर्न गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी ऐन संशोधनका लागि विधेयक संसद्मा दर्ता गराएको उनले जानकारी दिए

‘नागरिकतासम्बन्धी विधेयक संसद्मा दर्ता भएको छ । अब चाँडै अध्यागमनसम्बन्धी ऐन संशोधनको प्रस्ताव पनि संसद्मा लैजाने तयारी छ । निर्वाचनसम्बन्धी ऐन अगाडि बढाएका छौँ । जग्गा प्राप्तिसम्बन्धी कानुन संशोधनको काम अगाडि बढेको छ’, उनले भने, ‘यस्तै सङ्घसंस्थासम्बन्धी नयाँ कानुन बनाउने काम अगाडि बढेको छ । तीन वटा कानुन संशोधनका लागि संसद् पुगेका छन् । बाँकी विधेयक यसै चालु अधिवेशनमा पु¥याउँछौँ ।’

नेपाल प्रहरी ऐनसम्बन्धी विधेयकमा सेवा प्रवेश र सेवा निवृत्तको कुरा सुनिश्चित गरेको उनले बताए । साथै उनले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरीसम्बन्धी विधेयकलाई संशोधन गरेर जाने स्थान पनि रहेको जानकारी दिए ।