
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै मर्जर तथा प्राप्ति (मर्जर एक्विजिसन) पछिको कारोबार सम्बन्धमा नयाँ व्यवस्था ल्याएको छ । राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले एक परिपत्र जारी गर्दै थोक र खुद्रा कारोबार गर्ने लघुवित्तहरू एक आपसमा गाभिँदा गरिने व्यवसायको प्रकृति र समयसीमाका बारेमा स्पष्ट पारेको हो ।
संशोधित व्यवस्थाले अब थोक कर्जा प्रदायक लघुवित्त र खुद्रा कारोबार गर्ने लघुवित्त संस्था एक आपसमा गाभिएर वा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सुरु गरेपछि अनिवार्य रूपमा खुद्रा कारोबार गर्ने लघुवित्तको रूपमा मात्र कार्य गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।
यसअघिको विद्यमान व्यवस्थामा यस्ता दुई प्रकृतिका संस्थाहरू गाभिँदा एकीकृत संस्थाले खुद्रा कारोबार गर्ने संस्थाको रूपमा कार्य गर्न सक्ने प्रावधान भए पनि थोक कारोबारलाई कहिलेसम्म पूर्ण रूपमा विस्थापित गरिसक्नुपर्छ भन्ने समयसीमा स्पष्ट तोकिएको थिएन । पहिलाको व्यवस्थामा थोक कर्जा प्रदायक लघुवित्तले मर्जरअघि प्रवाह गरेको कर्जाको हकमा साविककै भुक्तानी तालिका अनुसार असुल गर्न बाधा नपुग्ने मात्र उल्लेख थियो ।
तर, अहिलेको नयाँ र परिमार्जित व्यवस्थाले एकीकृत संस्थालाई थोक कारोबारबाट बाहिरिन स्पष्ट समयसीमा प्रदान गरेको छ । अब थोक र खुद्रा लघुवित्त गाभिएर बनेको एकीकृत संस्थाले कारोबार सुरु गरेको मितिले बढीमा ५ वर्षसम्म मात्र थोक कर्जाको कारोबार गर्न पाउनेछन् ।
पहिलाको व्यवस्थाले कर्जा असुलीका लागि मात्र समय दिएको जस्तो देखिए पनि अहिलेको संशोधित व्यवस्थाले एकीकृत कारोबार भएको ५ वर्षसम्म थोक कारोबार गर्न नै बाटो खुला गरिदिएको छ, तर त्यसपछि भने संस्था पूर्ण रूपमा खुद्रा कारोबारमा मात्र सीमित हुनुपर्नेछ ।
यसअघि थोक लघुवित्तले मर्जरअघिको कर्जा मात्र साविकको तालिका अनुसार उठाउन पाउने संक्षिप्त व्यवस्था रहेकोमा, अहिलेको संशोधनले ५ वर्षको सङ्क्रमणकालीन अवधि स्पष्ट रूपमा तोकिदिएको छ ।
यसले मर्जरमा जाने थोक र खुद्रा लघुवित्तहरूलाई आफ्नो व्यवसायिक मोडेल परिवर्तन गर्न र थोक कर्जाको पोर्टफोलियो व्यवस्थापन गर्न निश्चित समय उपलब्ध गराएको छ । राष्ट्र बैंकको यो कदमले लघुवित्त क्षेत्रमा दोहोरो प्रकृतिको कारोबारलाई निरुत्साहित गर्दै ढिलोचाँडो सबैलाई खुद्रा कारोबारकै दायरामा ल्याउने लक्ष्य राखेको देखिन्छ ।






प्रतिक्रिया