काठमाडौं । भारतको दिल्ली विधानसभा चुनावमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले हार व्यहोरेका छन् ।
हार व्यहोरे लगत्तै उनले सामाजिक सञ्जालमा सन्देश जारी गर्दैै हार स्वीकार गरेका छन् ।
‘आज दिल्ली चुनावको नतिजा आएको छ र जनताको निर्णय जे भए पनि हामी पूर्ण विनम्रताका साथ स्वीकार गर्छौँ, केजरीवालले भने, ‘जनताको निर्णय हामीलाई स्वीकार्य छ। म भारतीय जनता पार्टीलाई यो जितको लागि बधाई दिन्छु। र मलाई आशा छ कि उनीहरूले सबै आशा र अपेक्षाहरू पूरा गर्नेछन्। जनताले दिएको अवसरमा हामीले विगत दश वर्षमा धेरै काम गर्यौँ, शिक्षा, स्वास्थ्य, पानीको क्षेत्रमा। हामीले दिल्लीको पूर्वाधारको लागि पनि काम गर्यौँ।’
थप्दै उनले भनेका छन, ‘अब जनताले हामीलाई निर्णय दिएका छन्। हामी रचनात्मक प्रतिपक्षको भूमिका मात्र खेल्ने छैनौँ, समाजसेवा पनि गर्नेछौँ, जनताको सुख– दुःखमा सहयोग गर्नेछौँ। व्यक्तिगत रूपमा हाम्रो आवश्यकता पर्ने जो कोहीलाई पनि सहयोग गर्नेछौँ। किनकि हामी सत्ताको लागि राजनीतिमा आएका होइनौँ। हामी राजनीतिलाई एउटा माध्यम मान्दछौँ जसको माध्यमबाट हामी जनताको सेवा गर्न सक्छौँ र जनताको सुख-दुःखमा सहयोग गर्न सक्छौँ।’
दिल्लीमा २७ वर्षपछि भारतीय जनता पार्टीले सत्ता सम्हाल्ने भएको छ। चुनाव आयोगका अनुसार अहिलेसम्मको मतपरिणामअनुसार भाजपाले ५ सिट जित्दा ४३ सिटमा अग्रता बनाइरहेको छ। यसको अर्थ भाजपा बलियो बहुमततर्फ अग्रसर भएको छ।
आम आदमी पार्टीले ६ सिटमा जित निकाल्दा १६ सिटमा अग्रतामा रहेको छ। कांग्रेसले दिल्लीमा कुनै पनि सिटमा जित हासिल गर्न सकेको छैन।
अघिल्लो चुनावमा ऐतिहासिक बहुमत प्राप्त गरेको आम आदमी पार्टीका संस्थापक नेता अरविन्द केजरीवाल आफ्नो दिल्लीको सिटसमेत गुमाउन पुगेका छन्।
त्यस्तै, मनिष सिसोदिया जंगपुरा सिटबाट पराजित भएका छन्। अहिले मुख्यमन्त्री रहेकी आतिशी भने चुनाव जित्न सफल भएकी छन्। त्यस्तै, अर्का प्रभावशाली नेता सत्यन्द्र जैन पनि चुनाव हार्न पुगेका छन्।
केजरीवालको आम आदमी पार्टीका २० जना उम्मेद्वारको जमानतसमेत नजोगिएको जनाइएको छ। केजरीवाल प्रवेश बर्मासँग ३ हजार भोट अन्तरले पराजित भए।
कांग्रेसले यो पटक पनि एक सिट पनि जितेन तर उसले २ प्रतिशत भोट बढाएको जनाइएको छ। आपलाई यो पटक ३९ सिट घाटा लागेको छ।
मुख्यमन्त्री रहेका अरविन्द केजरीवाल रक्सी घोटालमा मुद्दा खेपिरहँदा त्यसको असर पार्टीमा देखिएको छ। कतिपयले भाजपाले आफ्नो सरकारको शक्ति देखाएर जबर्जस्ती केजरीवाललाई पाखा लगाउन षड्यन्त्र गरेको बताउने गरेका थिए।
प्रतिक्रिया