बैंकको सम्पत्ति २७.६७ प्रतिशतले बढ्दा कुन धनी ? ग्लोबल आइएमई र नबिलबीच प्रतिस्पर्धा



काठमाडौं । बैंकहरुले गत आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्मको प्रकाशित वित्तीय अवस्थाअनुसार असार मसान्तसम्ममा २० वाणिज्य बैंकको सम्पत्ति २७.६७ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको असारसम्म ४८ खर्ब ५० अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको सम्पत्ति गत वर्षको असारसम्ममा २७.६७ प्रतिशतले बढेर ६१ खर्ब ९२ अर्ब बढी पुगेको हो ।

बैंकहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा धनी ग्लोबल आइएमई बैंक छ भने कम सम्पत्ति स्टयान्डर्ड चार्टर्ड बैंकको देखिन्छ । २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा ग्लोबल आइएमई बैंकको सम्पत्ति ४५.७० प्रतिशतले बढेर ५ खर्ब २६ अर्ब पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको सम्पत्ति ३ खर्ब ६१ अर्ब रुपैयाँ थियो ।

त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको सम्पत्ति २३.५७ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको सम्पत्ति १ खर्ब २३ अर्ब रुपैयाँ थियो ।

सर्वाधिक धनी बैंक बन्ने दौडमा ग्लोबल आइएमई र नबिल छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नबिलको पछि रहेको छ । नबिलको सम्पत्ति १५ प्रतिशतले बढेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सम्पत्ति ८३.६० प्रतिशतले बढेको छ । नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

नबिल बैंकको सम्पत्ति अघिल्लो आवको असार मसान्तको तुलनामा १५ प्रतिशतले बढेर ४ खर्ब ८३ अर्ब पुगेको छ । अघिल्लो असार मसान्तमा ४ खर्ब २० अर्ब थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सम्पत्ति ८३.६० प्रतिशतले बढेर ४ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ खर्ब ४४ अर्ब थियो ।

सम्पत्तिमा चौथो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकको सम्पत्ति १९.६९ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ३ खर्ब ३० अर्ब रुपैयाँ थियो ।

कुमारी बैंकको सम्पत्ति ७८.७७ प्रतिशतले बढेर ३ खर्ब ७९ अर्ब पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको सम्पत्ति २ खर्ब १२ अर्ब थियो ।

यस्तै एनआईसी एशिया बैंकको सम्पत्ति १.३९ प्रतिशतले बढेर ३ खर्ब ६४ अर्ब पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ३ खर्ब ५९ अर्ब थियो ।

लक्ष्मी सनराइज बैंकको सम्पत्ति ११०.४० प्रतिशतले बढेर ३ खर्ब ६४ अर्ब पुगेको छ । अघिल्लो आवको सोही अवधिमा १ खर्ब ७३ अर्ब रहेको थियो ।

प्रभु बैंकको सम्पत्ति ५१.०७ प्रतिशतले बढेर ३ खर्ब ५२ अर्ब रहेको छ । अघिल्लो आवको सोही अवधिमा २ खर्ब ३३ अर्ब रहेको थियो ।

असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार हिमालयन बैंकको सम्पत्ति ५४.६२ प्रतिशतले बढेर ३ खर्ब ३४ खर्ब रहेको छ । अघिल्लो आवको सोही अवधिमा २ खर्ब १६ अर्ब रहेको थियो ।

नेपाल बैंकको सम्पत्ति १३.८४ प्रतिशतले बढेर २ खर्ब ९६ अर्ब रहेको छ । अघिल्लो आवको सोही अवधिमा २ खर्ब ६० अर्ब रहेको थियो । यस्तै एनएमबि बैंकको सम्पत्ति १२.९४ प्रतिशतले बढेर २ खर्ब ८८ अर्ब पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ खर्ब ५५ अर्ब रहेको थियो ।

सिद्धार्थ बैंकको सम्पत्ति ८.३३ प्रतिशतले बढेर २ खर्ब ८६ अर्ब रहेको छ । अघिल्लो आवको सोही अवधिमा २ खर्ब ६४ अर्ब रहेको थियो ।

कृषि विकास बैंकको सम्पत्ति ७.७२ प्रतिशतले बढेर २ खर्ब ६५ अर्ब रहेको छ । अघिल्लो आवको सोही अवधिमा २ खर्ब ४६ अर्ब रहेको छ ।

एभरेष्ट बैंकको सम्पत्ति ११.११ प्रतिशतले २ खर्ब ५० अर्ब पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ खर्ब २५ अर्ब रहेको थियो । यस्तै प्राइम कमर्शियल बैंकले ५.७१ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ खर्ब १० अर्ब सम्पत्ति रहेको थियो ।

सानिमा बैंकको सम्पत्ति ११.९१ प्रतिशतले बढेर २ खर्ब १६ अर्ब पुगेको छ । अघिल्लो आवको असार मसान्तमा १ खर्ब ९३ अर्ब रहेको थियो ।

सिटिजन्स बैंकको सम्पत्ति भने २.५७ प्रतिशतले बढेर १ खर्ब ९९ अर्ब पुगेको छ । अघिल्लो आवको सोही अवधिमा १ खर्ब ९४ अर्ब रहेको थियो ।

यस्तै माछापुच्छ्रे बैंकको सम्पत्ति ४.४६ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब पुगेको छ । अघिल्लो आवको सोही अवधिमा १ खर्ब ७९ अर्ब थियो ।

एसबिआई बैंकको सम्पत्ति २१.५६ प्रतिशतले बढेर १ खर्ब ८६ अर्ब पुगेको छ । अघिल्लो आवको सोही अवधिमा १ खर्ब ५३ अर्ब रुपैयाँ थियो ।

मर्जर तथा एक्विजिसनमा गएका बैंकको सम्पत्ति तुलनात्मक हिसाबले अरु बैंकको भन्दा बढी छ ।

बैंकको सम्पत्तिमा के-के पर्छ ?

बैंकको सम्पत्ति गणना गर्दा हरेक बैंकमा भएको नगद तथा नगद सामान, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, डेरिभेटिभ उपकरण, अन्य व्यापारिक सम्पत्ति, वित्तीय संस्थालाई दिएको कर्जा सापटी, ग्राहकलाई दिएको कर्जा सापटी, लगानी सुरक्षण पत्र, चालू कर सम्पत्ति, सहायक कम्पनीमा लगानी, सम्बद्ध कम्पनीमा लगानी, लगानी सम्पत्ति, सम्पत्ति तथा उपकरण, ख्याति तथा अमूर्त सम्पत्ति, स्थगन कर सम्पत्ति र अन्य सम्पत्तिलाई लिने गरिन्छ ।


रवि धिताल