ज्ञानेन्द्रलाल प्रधानलाई ७५ हजार जरिवाना, १० वर्षसम्म सूचीकृत संस्थाको सञ्चालक बन्न रोक



काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडका तत्कालिन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले कानून विपरित सेयर बिक्री गरेको पुष्टी भएपछि नेपाल धितोपत्र बोर्डले कारबाही गरेको छ ।

आइतबार बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले प्रधानलाई ७५ हजार रुपैयाँ जरिवाना र १० बर्षसम्म कुनै पनि सूचिकृत संस्थाको सन्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन नपाउने गरी कारबाही गरेको हो ।

क्लिकमाण्डूले २०७८ फागुन २५ गते प्रधानले नियम विपरित सेयर कारोबार गरेको भन्दै ‘नेपाल हाइड्रोमा इन्साइडर ट्रेडिङः अध्यक्ष रहँदा ज्ञानेन्द्रलाल प्रधानले गरे करोडौंको सेयर किनबेच’ शिर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।

उक्त समाचार प्रकाशित भएपछि बोर्डले प्रधानले गरको कारोबारका विषयमा बिस्तृत अध्ययन गरेको थियो । बोर्डले गरेको अध्ययनमा प्रधानले नियम विपरित सेयर कारोबार गरेको पाइएपछि १० वर्ष सूचिकृत कम्पनी वा संस्थाको संचालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन अयोग्य हुने र ७५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

नेपाल हाईड्रो डेभलोपर कम्पनीको अध्यक्षहुँदा प्रधानले आफ्नो नाममा रहेको सेयर परिवारका सदस्यको नाममा नामसारी गरेर बिक्री गरेका थिए । प्रधानले आफू अध्यक्ष हुँदा श्रीमती, छोरा र छोरीको नाममा रहेको ९५ हजारभन्दा बढी कित्ता सेयर ६ करोड रुपैयाँभन्दा बढीमा बिक्री गरेका थिए ।

बोर्डले प्रधानलाई सचूीकृत संगठित संस्थाहरुको संस्थागत सशुासन सम्बन्धी निर्देशिका विपरित धितोपत्र कारोबार गरेको भन्दै धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ (७) अनुसार ७५ हजार रुपैयाँ नगद जरिवाना गरेको छ ।

यस्तै धितोपत्र सम्बन्धी ऐन २०६३ दफा १०८ अनुसार कुनै सन्चालक, महाप्रबन्धक वा सो सरहको कुनै पद धारणा गरेको व्यक्तिले दफा १०१ बमोजिम कुनै पद धारणा गरेको व्यक्तिले दफा १०१ बमोजिम कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको १० वर्ष अवधि पुरा नभएसम्म कुनै पनि सूचिकृत कम्पनी वा संस्थाको संचालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य नहुने उल्लेख छ ।

प्रधानले भित्री कारोबार गरेको विषयमा छानबिन गर्ने गत मंसिर २५ गते बोर्डले तहकिकात अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरेको थियो । अनुसन्धानले भित्री कारोबार गरेको देखिएपछि थप अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयमा थप रायका लागि फाइल पठाएको बोर्डले जनाएको छ ।

क्लिकमान्डुले समाचार प्रकाशित गरेपछि धितोपत्र बोर्डले भित्री कारोबार गरेको भन्दै यसअघि रिडी पावर कम्पनीका तत्कालिन गुरु न्यौपानेलाई पनि सेबोनले ७५ हजार जरिवाना, १० बर्ष सूचीकृत कम्पनीको सन्चालक, महाप्रबन्धक बन्न नपाउने गरी कारबाही गरेको थियो । न्यौपानेले रिडी पावर कम्पनीमा अध्यक्ष रहँदा २०७७ चैत १९ गतेदेखि २०७८ भदौ २४ गतेसम्म रिडी हाइड्रोपावरको सेयर बेचेका थिए ।

न्यौपानेले सचूीकृत संगठित संस्थाहरुको संस्थागत सशुासन सम्बन्धी निर्देशिका विपरित धितोपत्र कारोबार गरेको भन्दै कारबाही गरेको हो । त्यती मात्रै नभएर न्यौपानले भित्री कारोबार गरेको पुष्टि भएपछि धितोपत्र बोर्डले सरकारी वकिलको कार्यालयको राय लिएर चैत ८ गते ३ करोड २३ लाख ९७ हजार ३९८ रुपैयाँ बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।


सोभित थपलिया