इन्साइडर ट्रेडिङको अभियोगमा गुरु न्यौपानेविरुद्ध मुद्दा दायर



काठमाडौं । रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेले भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

न्यौपानेले भित्री कारोबार गरेको दाबी गर्दै सरकारी वकिल कार्यालयमार्फत नेपाल धितोपत्र बोर्डले बुधबार अदालतमा मुद्दा दायर गरेको हो ।

न्यौपानेले पदमा बहाल रहेको अवस्थामा २०७७ चैत १९ देखि २०७८ साउन २४ सम्म खरिद-बिक्री गरेको विषयमा तहकिकात गर्दा भित्री कारोबार भएको पुष्टि भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

न्यौपानेले धितोपत्र ऐन २०६३ को दफा ९१ बमोजिम भित्री कारोबार गरेको पाइएकाले दफा १०१ को उपदफा (१) बमोजिमको सजाय माग गरिएको छ ।

न्यौपानेलाई धितोपत्र ऐन उल्लंघन गरेको जनाउँदै बोर्डले पहिलो चरणको कारबाही गरिसकेको छ । पहिलो चरणमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा ७ अनुसार ७५ हजार रुपैयाँ जरिवाना र कुनै पनि सूचीकृत संगठित संस्थाको १० वर्ष सञ्चालक हुन नपाउने गरी कारबाही गरिएको हो ।

अभियोग पुष्टि भएमा बिगोबमोजिम ३ करोड २३ लाख रुपैयाँ जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । भित्री कारोबारको अभियोगमा मुद्दा दायर भएको नेपालमा पहिलो पटक हो ।


सोभित थपलिया