गुरु न्यौपानेको फाइल सरकारी वकिलको कार्यालयमा, ज्ञानेन्द्रलाल प्रधानको के होला ?



काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका निवर्तमान अध्यक्ष गुरुप्रसाद न्यौपानेको भित्री कारोबार आरोपसम्बन्धी फाइलमाथि सरकारी वकिलको कार्यालयले अध्ययन थालेको छ ।

न्यौपानेले रिडी हाइड्रोपावर कम्पनीको अध्यक्ष भएको समय अर्थात २०७७ चैत १९ देखि २०७८ भदौ २४ सम्म त्यही कम्पनीको सेयर विभिन्न मूल्यमा किनबेच गरेका थिए । सो अवधिमा न्यौपानले २८ हजार ९ सय ५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर बेचेका थिए ।

उनले सेयर किनबेच गरेको पाइएपछि उक्त कारोबार भित्री कारोबार हो वा होइन भनेर अध्ययन गर्न धितोपत्र बोर्डले तहकिकात अधिकृत तोकेर अनुसन्धान गरेको थियो । अनुसन्धानले न्यौपानेले भित्री कारोबार गरेको पुष्टि गरेपछि उनको फाइल सरकारी वकिलको कार्यालयमा पेस गरिएको छ ।

‘बोर्डले तोकेको तहकिकात अनुसन्धान अधिकृतले ४५ दिन लगाएर अनुसन्धान गर्नुभयो,’ बोर्डका एक कर्मचारीले भने, ‘अनुसन्धानबाट न्यौपानेले भित्री कारोबार गरेको पुष्टि भएपछि उक्त फाइल केही दिनअघि सरकारी वकिलको कार्यालयमा पठाइएको छ । कार्यालयले आवश्यक कागजात मागेर अध्ययन गरिरहेको छ ।’

सरकारी वकिलको कार्यालयले उक्त अनुसन्धान प्रतिवेदन अध्ययन गरी भित्री कारोबार गरेको पुष्टि हुने देखिएमा अदालतमा मुद्दा दायर गर्नेछ । न्यौपानेलाई धितोपत्र ऐन उल्लंघन गरेको जनाउँदै बोर्डले पहिलो चरणको कारबाही गरिसकेको छ ।

पहिलो चरणमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा ७ अनुसार ७५ हजार रुपैयाँ जरिवाना र कुनै पनि सूचीकृत संगठित संस्थाको १० वर्ष सञ्चालक हुन नपाउने गरी कारबाही गरिएको छ । न्यौपानेले सूतीकृत संगठित संस्थाहरुको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाविपरीत धितोपत्र कारोबार गरेकाले कारबाही गरिएको बोर्डले जनाएको छ ।

धितोपत्र बोर्डले मंसिर २५ गते अनुसन्धान गर्न तहकिकात अनुसन्धान अधिकृत तोकेको थियो । न्यौपानेले चैत ८ गते कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिइसकेका छन् ।

प्रधानको विषयमा के भइरहेको छ ?

यस्तै धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले गरेको भित्री कारोबारको विषयमा पनि अध्ययन गरिरहेको छ । न्यौपाने र प्रधानको भित्री कारोबारका विषयमा अध्ययन गर्न एकै दिन तहकिकात अनुसन्धान अधिकृत तोकिएको थियो ।

बोर्डले आयोजना गरेको कार्यक्रममा दुई साताअघि बोर्ड अध्यक्ष रमेश हमालले न्यौपानेको अध्ययन सकिएको र प्रधानको फाइल अध्ययनका लागि समय थपिएको बताएका छन् ।

बोर्ड स्रोतका अनुसार प्रधानको फाइल अध्ययनका लागि तोकिएका तहकिकात अधिकृत व्यस्त भएर र तालिम तथा अध्ययनका लागि विदेश जानुपरेकाले समय लम्बिएको छ । प्रधानले कम्पनीको अध्यक्ष भएको समयमा श्रीमती, छोरा र छोरीको नाममा रहेको ९५ हजारभन्दा बढी कित्ता सेयर ६ करोड रुपैयाँभन्दा बढीमा बिक्री गरेका थिए ।

नेपाल हाइड्रो डेभलपर कम्पनीको सञ्चालक समिति अध्यक्ष र सञ्चालकबाट प्रधानले २०७८ भदौ १३ गते राजीनामा दिएका थिए । तर, प्रधानले २०७८ साउन दोस्रो साता परिवारका सदस्यको नाममा रहेको सेयर बिक्री गरेका थिए ।

उनले छोरा चेतनको नाममा रहेको करिब २ करोड रुपैयाँको ३५ हजार कित्ताभन्दा बढी सेयर साउन १७ देखि १० दिनको अवधिमा बिक्री गरेका थिए । छोराको सेयर बिक्री गरेपछि २०७८ साउन अन्तिम साताबाट श्रीमती विमला प्रधान श्रेष्ठको नाममा रहेको करिब २ करोडको ३० हजारभन्दा बढी कित्ता सेयर २ दिनको अवधिमा बिक्री गरेका थिए ।

त्यसलगत्तै छोरीको नाममा रहेको सबै सेयर २०७८ साउन दोस्रो साताबाट साउन तेस्रो साताको अवधिमा बिक्री गरेका थिए । प्रधानले छोरी निभिताको नाममा रहेको ३० हजारभन्दा बढी कित्ता सेयर २ करोडभन्दा बढी मूल्यमा बिक्री गरेका हुन् ।

बोर्डले न्यौपानेको कारोबारको फाइल अध्ययन गरिसकेर सरकारी वकिलको कार्यालयमा पठाइसकेको छ तर प्रधानको फाइल अझै सकिएको छैन । न्यौपानेको कारोबारलाई भित्री कारोबार देखेको बोर्डले प्रधानले पदमा नै रहँदा गरेको कारोबारलाई के देख्ने हो ? सबैको चासो त्यसमा छ ।

कार्यकारी निर्देशक डा. नवराज अधिकारीले न्यौपानेको र अर्का कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले प्रधानको विषयमा अध्ययन गरेका हुन् । प्रधानको अध्ययन अझै सकिएको छैन ।

धितोपत्र दर्ता निष्काशन नियमावली ३८ (१ क) मा ‘कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीले पदमा रहँदा वा पदबाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत त्यस्तो कम्पनीको सेयर खरिद-बिक्री गर्न नपाइने व्यवस्था’ छ ।


क्लिकमान्डु