ज्ञानेन्द्रलाल प्रधान र गुरु न्यौपानेले गैरकानूनी सेयर कारोबार गरेको पुष्टि, सेबोनले गर्‍यो कारबाही




काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारबाही गर्ने भएको छ ।

धितोपत्र बोर्ड स्रोतका अनुसार मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले दुबैलाई कारबाही गर्न निर्णयसहित सिफारिस गरेको छ ।

‘दुवैले गरेको सेयर कारोबारका विषयमा अध्ययन सकिएको छ’ स्रोतले भन्यो, ‘अध्ययन प्रतिवेदनले दुवैलाई दोषी देखाएको छ । विभागीय सिफारिस अनुसार नै सञ्चालक समितिले निर्णय गरिसकेको छ ।’

प्रधान सञ्चालक समितिमा भएको समयमा एकाघरका परिवारका सदस्यको नाममा भएको सेयर बिक्री गरेको देखिएको छ ।
त्यही अनुसार नै १० वर्ष कुनै पनि सूचीकृत संगठित संस्थाको सञ्चालक बन्न नपाउने र ७५ हजार नगद जरिवाना गर्ने निर्णय गरेको बाेर्ड उच्च स्राेतले जनाएकाे छ ।

प्रधानले कम्पनीको अध्यक्ष भएको समयमा श्रीमती, छोरा र छोरीको नाममा रहेको ९५ हजारभन्दा बढी कित्ता सेयर ६ करोड रुपैयाँभन्दा बढीमा बिक्री गरेका थिए । उनले उक्त सेयर बिक्री गरेको समाचार क्लिकमाण्डूले प्रकाशन गरेको थियो । उक्त समाचारको आधारमा धितोपत्र बोर्डले अनुसन्धान सकेर कारबाही गरेको हो ।

नेपाल हाइड्रो डेभलोपर कम्पनी लिमिटेडको सञ्चालक समिति अध्यक्ष तथा सञ्चालकबाट प्रधानले २०७८ भदौ १३ गते राजीनामा दिएका थिए । प्रधानले दिएको राजीनामा १३ गतेदेखि नै लागू हुने गरी सञ्चालक समितिले स्वीकृत गरेको थियो । तर, प्रधानले २०७८ साउन दोस्रो साता परिवारका सदस्यको नाममा रहेको सेयर बिक्री गरेका थिए ।

प्रधानले छोरा चेतनको नाममा रहेको करिब २ करोड रुपैयाँको ३५ हजार कित्ताभन्दा बढी सेयर साउन साउन १७ देखि १० दिनको अवधिमा बिक्री गरेका थिए । छोराको सेयर बिक्री गरेपछि २०७८ साउन अन्तिम साताबाट श्रीमती बिमला प्रधान श्रेष्ठको नाममा रहेको करिब २ करोडको ३० हजारभन्दा बढी कित्ता सेयर २ दिनको अवधिमा बिक्री भएको छ ।

त्यसलगत्तै छोरीको नाममा रहेको सबै सेयर २०७८ साउन दोस्रो साताबाट साउन तेस्रो साताको अवधिमा बिक्री गरेको देखिएको छ । प्रधानले छोरी निभिताको नाममा रहेको ३० हजारभन्दा बढी कित्ता सेयर २ करोडभन्दा बढी मूल्यमा बिक्री गरेका हुन् ।

धितोपत्र दर्ता निष्काशन नियमावली ३८ (१क) मा ‘कुनै पनि सूचीकृत कम्पनीको संचालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदवाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था’ रहेको छ ।

प्रधानले गरेको यो कारोबार ऐनअनुसार भित्री कारोबार भएको देखिएको छ । धितोपत्र सम्बन्धी ऐन,२०६३ को दफा ९२ मा भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्ति भन्नाले यस ऐनको प्रयोजनको लागि देहायका व्यक्तिलाई कुनै संगठित संस्थाले सार्वजनिक नगरेका भित्री सूचना वा जानकारीमा पहुँच भएको व्यक्ति मानिनेछ ।

यस्तै रिडी हाइड्रोपावर कम्पनीमा अध्यक्ष रहेकै समयमा गुरु न्यौपानेले २०७७ चैत १९ गतेदेखि २०७८ भदौ ४ गतेसम्म त्यही कम्पनीको सेयर किनबेच गरेका थिए । न्यौपानले रिडी पावरका अध्यक्ष रहँदा २०७७ चैत १९ गतेदेखि २०७८ भदौ ४ गतेसम्म रिडी हाइड्रोपावरकै २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर बेचेका थिए । त्यही अनुसार कारबाही गरेको बोर्डले जनाएको छ ।

उनीहरुले ऐन उल्लंघन गरेको भन्दै पहिलो चरणको कारबाही गरिएपनि दुवै जनाले भित्री कारोबार गरेको हो वा होइन भनेर थप अध्ययनका लागि बोर्डका २ जना कार्यकारी निर्देशकलाई अनुसन्धान अधिकृत तोकेर थप अनुसन्धान सुरु गरिएको छ ।

‘न्यौपाने र प्रधानले सञ्चालक भएको समयमा भित्री कारोबार गरेको को ही होइन भनेर थप अध्ययनका लागि २ जना कार्यकारी निर्देशकलाई अनुसन्धान अधिकृत तोकेको हाे‘ स्राेतले भन्याे ।

जसमा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले प्रधान र अर्का कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ न्यौपानेको विषयमा अध्ययन गर्नेछन् । त्यसको लागि ४५ दिनको समय तोकिएको छ ।

रिडी पावर कम्पनीमा न्यौपानेले भित्री कारोबार गरेको हो वा होइन भनेर अनुसन्धान गर्न बोर्डको सुपरिवेक्षण विभाग प्रमुख तथा कार्यकारी निर्देशक डा.नवराज अधिकारीलाई तहकिकात अनुसन्धान अधिकृत तोकिएको छ ।

यता नेपाल हाईड्रो डेभलोपर कम्पनीमा प्रधानले भित्री कारोबार गरेको हो वा होइन भनेर अनुसन्धान गर्न अर्का कार्यकारी निर्देशक मुक्ती श्रेष्ठलाई तहकिकात अनुसन्धान अधिकृत तोकिएको छ । दुवैको समय सुरु भइसकेको बोर्ड स्रोतको भनाइ छ ।

यो अवधिमा भित्री कारोबार भयो की भएन, भित्री कारोबार गरेर कति आम्दानी गरे, त्यसमा बिगो रकम कति हुन्छ भनेर छानविन गर्नेछन् । अनुसन्धान अधिकृतले दुवैलाई छानविनका लागि बोलाउनेछन् । अनुसन्धान सकेपछि बिगो अनुसारको कारबाही हुने बोर्ड स्रोतको भनाइ छ ।

पहिलो चरणमा बोर्डले प्रधान र न्यौपानेलाई धितोपत्र ऐन २०६३ को दफा १०१ को उपदफा ७ अनुसार कारबाही भएको हाे । जसमा बोर्डले जारी गरेको निर्देशन वा बोर्डले तोकेको शर्तहरुको उंल्लघन गरेमा वा आफुले गर्नु पर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले २५ हजारदेखि ७५ हजार रुपैयाँसम्म जरिवाना गर्नेछ भन्ने व्यवस्था रहेको छ । पहिलो चरणमा सोही व्यवस्था अनुसार कारबाही भएको बोर्ड उच्च स्रोतले बतायो ।


सोभित थपलिया