६ करोडको इन्साइडर ट्रेडिङ गरेका ज्ञानेन्द्रलाल प्रधानमाथिको अनुसन्धान के हुँदैछ ?



काठमाडौं । नेपाल हाईड्रो डेभलोपरको अध्यक्ष हुँदा आफूसँग भएको सेयर श्रीमती, छोरा र छोरीको नाममा नामसारी गरी इन्साइडर ६ करोड रुपैयाँभन्दा बढी इन्साइडर ट्रेडिङ (भित्रि कारोबार) गरेका ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही हुन सकेको छैन ।

प्रधानले कम्पनीको अध्यक्ष भएको समयमा आफ्नो नाममा भएको सेयर परिवारका सदस्यको नाममा नामसारी गरेर बिक्री गरेका थिए । उनले आफूसँग भएको सेयर साउन १४ गते श्रीमती बीमला प्रधान श्रेष्ठ, छोरा चेतन प्रधान र छोरी निभिता प्रधानको नाममा नामसारी गरेका थिए । साउन १७ गतेदेखि २६ गतेसम्म ६ करोड रुपैयाँभन्दा बढी मूल्यमा ९५ हजार कित्ता सेयर बिक्री गरेका थिए ।

यो धितोपत्र दर्ता निष्काशन नियमावली ३८ (१ क) विपरित थियो । कानूनविपरित भित्रि कारोबार गरेको पाइएपछि प्रधानको कारोबारको विषय अनुसन्धान शुरु भएको थियो ।

बोर्डले २०७८ फागुन अन्तिम साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई नेपाल हाइड्रो डेभलोपरका तत्कालिन अध्यक्ष प्रधानको नाममा के कति सेयर, कुन मितिमा बिक्री भयो जानकारी गराउनु भनेर पत्र पठाएको थियो ।

तर, जवाफमा नेप्सेले उक्त अवधिमा प्रधानले आफ्नो नाममा सेयर बिक्री नगरेको तर परिवारका सदस्यको नाममा भने ६ करोड रुपैयाँभन्दा बढीको सेयर बिक्री भएको भेटिएको जवाफ पठायो ।

धितोपत्र बोर्डले प्रधानको परिवारको नामको सेयर कति र कुन मितिमा बिक्री गरेको हो भनेर नेप्सेलाई सोध्नु पर्नेमा प्रधानको व्यक्तिगत कारोबारको विवरण माग्नुलाई बोर्ड नेतृत्वले प्रधानलाई जोगाउने नियतले छानविन त गरिरहेको छैन ? भनेर आशंका गर्ने ठाउँ दिएको छ ।

त्यसपछिको अर्को घटनाले पनि बोर्ड नेतृत्व प्रधानलाई जोगाउन लागेको पो हो कि भनेर शंका गर्ने सुविधा दिएको छ । त्यो के हो भने बोर्डले प्रधानलाई सीधै प्रश्न नसोधेर तत्कालिन समयमा उनी अध्यक्ष भएको कम्पनी नेपाल हाइड्रो डेभलोपरलाई पत्राचार गर्दै विवरण मागेको छ ।

प्रधानसँग माग्नुपर्ने विवरण कम्पनीसँग माग्दा कम्पनीले अहिलेसम्म कुनै पनि विवरण बोर्डमा पठाउन सकेको छैन ।

प्रधानले गरेको सेयर बिक्रीको विवरण धितोपत्र बोर्डले कम्पनीसँग मागेपछि २०७८ चैत १३ गते नेपाल हाईड्रो डेभलोपरले बोर्डलाई प्रधानले छोरा र छोरीसँग अंशबण्डा गरे भनेर जवाफा दियो । चैत १३ गते कम्पनीबाट जवाफ पाएको बोर्डले ०७९ असार २२ गते नेपाल हाईड्रो डेभलोपरलाई प्रधानले गरेको अंशबण्डाको सम्बन्धित कानूनी कागजातको प्रमाणित प्रतिलिपी ३ दिनभित्र पठाउन निर्देशन दिएको थियो । त्यो प्रतिलिपी कम्पनीले अझै बोर्डलाई पठाएको छैन । यस विषयमा जानकारी लिन खोज्दा कम्पनीका अधिकारी सम्पर्कमा आउन चाहेनन् ।

धितोपत्र बोर्डका एक अधिकारीले अनुसन्धानका क्रममा पनि प्रधानसँग सेबोनले अहिलेसम्म कुनै विवरण नमागेको क्लिकमाण्डूलाई बताए । एकाघरमा परिवारका सदस्यको नाममा भएको सेयर बिक्री गर्ने प्रधान, विवरण चाहीँ कम्पनीसँग माग्दा अनुसन्धान प्रभावित बनाउन खोजेको हो कि भन्ने आशंका बोर्डकै कर्मचारीहरुको छ ।

यता धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसी यो विषय अहिले अनुसन्धानको क्रममा रहेकाले कम्पनीसँग जानकारी माग गरेको हुनसक्ने बताउँछन् ।

प्रधानले कानूनविपरित सेयर बिक्री गरेको समाचार क्लिकमाण्डूले सम्प्रेषण गरेपछि धितोपत्र बोर्डले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कानूनविपरित सेयर बिक्री गरेका प्रधानलाई धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ गरेको भन्दै गर्ने भएपछि उम्कनका लागि श्रीमतीसँग सम्बन्ध बिच्छेद भएको र छोरा छोरीसँग अंशबण्डा भएको भन्दै पन्छिन खोजेका हुन् कि भन्ने देखिन्छ ।

अहिलेसम्म बोर्डलाई कुन मितिमा छोरा छोरीसँग अंशबण्डा भएको, कुन मितिमा श्रीमतीसँग सम्बन्ध बिच्छेद भएको भनेर विवरण पठाएका छैनन् ।


सोभित थपलिया