इन्साइडर ट्रेडिङ गरेका ज्ञानेन्द्रलाल प्रधानसँग सेबोनले माग्यो अंशबन्डाको प्रमाण



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल हाइड्रो डेभलोपर कम्पनीसँग पूर्वअध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले गरेको अंशबन्डाको कागजात माग गरेको छ ।

प्रधानले सेबोनमा २०७८ चैत १३ गते छोरा चेतन प्रधान र छोरी निभिका प्रधानसँग अंशबन्डा भएको जानकारी गराएका थिए । सोही अनुसार सेबोनले तीन दिनभित्र प्रधानले दाबी गरेको अंशबन्डासँग सम्बन्धित कागजात पठाउन निर्देशन दिएको छ ।

नेपाल हाईड्रो डेभलोपर कम्पनीका पूर्वअध्यक्ष इञ्जिनियर ज्ञानेन्द्रलाल प्रधानले पदमा रहँदा श्रीमती बिमला श्रेष्ठ प्रधान, छोरा चेतन प्रधान र छोरी निभिता प्रधानका नाममा कम्पनीमा रहेको सेयर बिक्री गरेका थिए । तर सेबोनले बुधबार कम्पनीसँग मागेको कागजातमा छोरा र छोरीको मात्रै नाम उल्लेख गरिएको छ ।

उक्त समाचार क्लिकमाण्डूले प्रकाशन गरेको थियो । प्रधानले पदमा रहँदा इन्साइडर ट्रेडिङ गरेको पाइएपछि बोर्डले अनुसन्धान शुरु गरेको थियो ।

प्रधानले आफू पदमा रहँदा श्रीमती, छोरा र छोरीको नाममा रहेको ९५ हजारभन्दा बढी कित्ता सेयर ६ करोड रुपैयाँभन्दा बढीमा बिक्री गरेका थिए । प्रधानले श्रीमति, छोरा र छोरी तीन जनाका नाममा रहेको सेयर ६ करोड रुपैयाँमा बिक्री गरेका थिए ।

नेपाल हाईड्रो डेभलोपर कम्पनीको सञ्चालक समितिको अध्यक्ष तथा सञ्चालकबाट प्रधानले २०७८ भदौ १३ गते राजीनामा दिएका थिए ।


सोभित थपलिया