‘इन्साइडर ट्रेडिङ’ गरेका ज्ञानेन्द्रलाल प्रधानलाई जोगाउँदै धितोपत्र बोर्ड



काठमाडौं । धितोपत्र ऐन विपरित परिवारका सदस्यको नाममा रहेको करोडौंको सेयर बिक्री गर्ने वरिष्ठ इन्जिनियर ज्ञानेन्द्रलाल प्रधानलाई जोगाउन धितोपत्र बोर्ड लागेको छ ।

प्रधानले नेपाल हाइड्रो डेभलोपर लिमिटेडका अध्यक्ष हुँदा श्रीमती बिमला प्रधान, छोरा चेतन प्रधान र छोरी निभिता प्रधानको नाममा रहेको सेयर बिक्री गरेका थिए ।

प्रधानले कम्पनीको अध्यक्ष भएको समयमा श्रीमती, छोरा र छोरीको नाममा रहेको ९५ हजारभन्दा बढी कित्ता सेयर ६ करोड रुपैयाँभन्दा बढीमा बिक्री गरेका थिए । उनले उक्त सेयर बिक्री गरेको समाचार क्लिकमाण्डूले प्रकाशित गरेको थियो । उक्त समाचारको आधारमा धितोपत्र बोर्डले अनुसन्धान सुरु गरेको हो ।

तर पछिल्लो समयमा धितोपत्र बोर्डले यो विषयलाई विषयान्तर गरेर प्रधानलाई जोगाउन लागेको छ ।

प्रधानले इन्साइडर इन्साइडर ट्रेडिङ गरेका ज्ञानेन्द्रलाल प्रधानलाई जोगाउँदै धितोपत्र बोर्ड (भित्री कारोबार) गरेको समाचार आएपछि बोर्डले गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई एउटा पत्र पठाएको छ । पत्रमा नेपाल हाइड्रो डेभलोपरका तत्कालिन अध्यक्ष प्रधानको नाममा के कति सेयर बिक्री भयो जानकारी गराउनु भन्ने उल्लेख छ ।

धितोपत्र बोर्डका एक अधिकारीका अनुसार नेप्सेले बोर्डको प्रश्न अनुसारको जवाफ पठायो भने यो विषयमा प्रधान चोखिने छन् । नेप्सेले बोर्डलाई प्रधानले आफ्नो होइन परिवारका सदस्यको नाममा भएको बिक्री गरेको हो भनेर व्यवहारिक जवाफ पठायो भने बोर्डले फेरी अर्को पत्र पठाउँछ ।

उक्त पत्रमा कुन मितिमा कसले कसको कति सेयर बिक्री गरेको भनेर माग्छ होला । अन्यता नेप्सेले बोर्डको अपेक्षा बुझेर प्रधानले आफ्नो नामको सेयर बिक्री गरेको छैन भनेर पठायो भने यो विषय यही बन्द हुने बोर्डका एक उच्च अधिकारीको तर्क छ । प्रधानको सेयर कारोबार र बोर्डको अनुसन्धानको शैली पनि मेल खाँदै गएको उनको दाबी छ ।

अहिले बोर्डले सोधेको जवाफ दिन नेप्सेलाई समस्या भएको छ । प्रधानले आफैले आफ्नो सेयर बिक्री गरेका हैनन् । उनले श्रीमती, छोरी र छोराको नाममा रहेको सेयर बिक्री गरेका हुन् । तर धितोपत्र बोर्डले भने प्रधानले नै के कति सेयर बिक्री गरेको हो जानकारी गराउनु भनेको छ ।

यता नेप्सेका एक अधिकारीका अनुसार प्रधानले आफ्नो नाममा सेयर बिक्री गरेका हैनन्, उनले परिवारका सदस्यको नाममा रहेको सेयर बिक्री गरेका हुन् । तर, नेप्सेलाई मागेको विवरण हेर्दा प्रधानले सेयर कतिको बिक्री गरेजस्तो छ । बोर्डको प्रश्न अनुसारको जवाफ नेप्सेले पठाउने हो भने प्रधानलाई बोर्डले जोगाउने जस्तो देखिएको नेप्सेका एक अधिकारीको तर्क छ । प्रधानले गरेको कारोबारको प्रकृति र बोर्डले मागेको विवरण नमिलेको उनको भनाइ छ ।

यो विषयमा जानकारी लिन खोज्दा धितोपत्र बोर्डको कोही पनि अधिकारी सम्पर्कमा आउन चाहेनन् ।

नेपाल हाईड्रो डेभलोपर कम्पनी लिमिटेडको सञ्चालक समिति अध्यक्ष तथा सञ्चालकबाट प्रधानले २०७८ भदौ १३ गते राजीनामा दिएका थिए । प्रधानले दिएको राजीनामा १३ गतेदेखि नै लागू भएको थियो । १३ गतेदेखि लागु हुने गरी सञ्चालक समितिले स्वीकृत गरेको थियो । तर, प्रधानले २०७८ साउन दोस्रो साता परिवारका सदस्यको नाममा रहेको सेयर बिक्री गरेका थिए ।

प्रधानले छोरा चेतन प्रधानको नाममा रहेको सेयर साउन साउन १७ देखि १० दिनको अवधिमा करिब २ करोड रुपैयाँको ३५ हजार कित्ता भन्दा बढी सेयर बिक्री गरेका थिए ।

छोराको सेयर बिक्री गरेपछि २०७८ साउन अन्तिम साताबाट श्रीमती बिमला प्रधान श्रेष्ठको नाममा ३० हजारभन्दा बढी कित्ता सेयर २ दिनको अवधिमा करिब २ करोडको बिक्री भएको छ । त्यसलगत्तै छोरीको नाममा रहेको सेयर २०७८ साउन दोस्रो साताबाट साउन तेस्रो साताको अवधिमा सबै सेयर बिक्री गरेको देखिएको छ । प्रधानले छोरी निभिताको नाममा रहेको ३० हजारभन्दा बढी कित्ता सेयर २ करोडभन्दा बढी मूल्यमा बिक्री गरेका छन् ।

तर धितोपत्र बोर्ड भने प्रधान आफैले कति कित्ता सेयर बिक्री गरे भनेर नेप्सेलाई सोधिरहेको छ ।

धितोपत्र दर्ता निष्काशन नियमावली ३८ (१क) मा ‘कुनै पनि सुचिकृत कम्पनीको संचालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदवाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था’ रहेको छ ।

प्रधानले गरेको यो कारोबार ऐनअनुसार भित्री कारोबार भएको देखिएको छ । धितोपत्र सम्बन्धी ऐन,२०६३ को दफा ९२ मा भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्ति भन्नाले यस ऐनको प्रयोजनको लागि देहायका व्यक्तिलाई कुनै संगठित संस्थाले सार्वजनिक नगरेका भित्री सूचना वा जानकारीमा पहुँच भएको व्यक्ति मानिनेछ ।

(क) सो संगठित संस्थाका सञ्चालक, कर्मचारी वा शेयरवालाको हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति,
(ख) सो संगठित संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति,
(ग) खण्ड (क) र (ख) मा उल्लिखित व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति रहेको मानेको छ ।


सोभित थपलिया