अझै २ वर्ष गोकर्ण अवस्थी नै उद्योग वाणिज्य महासंघको महानिर्देशक



काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशक (डीजी)मा गोकर्ण अवस्थीले निरन्तरता पाएका छन् ।

गत पुस २२ गते बसेको पदाधिकारी बैठकले महानिर्देशक अवस्थीलाई थप २ वर्षे कार्यकालका लागि पुनः नियुक्ति गरेको एशोसियट उपाध्यक्ष रामचन्द्र संघाइले जानकारी दिए ।

‘थप दुई वर्षे कार्यकालका लागि गोकर्णजीलाई नै महानिर्देशकमा निरन्तरता दिने निर्णय भएको छ,’ उपाध्यक्ष संघाइले क्लिकमाण्डूसँग भने ।

पूर्वआर्थिक पत्रकार अवस्थी २०७७ पुसमा उपमहानिर्देशकका रुपमा महासंघ प्रवेश गरेका थिए । २०७८ चैत २८ गते बसेको महासंघको पदाधिकारी बैठकले अवस्थीलाई महानिर्देशकमा नियुक्ति गरेको थियो ।

अवस्थीसँग देशविदेशको अर्थतन्त्र र व्यापारका विषयमा राम्रो जानकारी छ । डेढ दशक आर्थिक पत्रकारिता गरेका उनले दशकभन्दा बढी कान्तिपूर दैनिकमा काम गरेका थिए । कान्तिपूरको बिजनेश एडिटरसम्म भएर उनी पत्रकारिताबाट बाहिरिएका थिए । उनी नेपाल आर्थिक पत्रकार समाज (सेजन)को पूर्वअध्यक्ष पनि हुन् ।

अवस्थीसँग संयुक्त राष्ट्र संघ नेपालको दिगो विकास लक्ष्य सल्लाहकारका रुपमा काम गरेको अनुभव छ ।

उनले शंकरदेव क्यापम्पसबाट व्यवस्थापनमा स्नाततकोत्तर र भारतको इन्डियन इन्स्टच्यूड अफ मास कम्यिुकेशनबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन् ।

त्यसैगरी, अन्तर्राष्ट्रिय व्यापार र नेपाली व्यावसायिक वातावरणमा एक दशकदेखि विभिन्न कलेजहरुमा अध्यापना गराउँदै आएका छन् ।

महासंघजस्तो गरिमामय संस्थाको महानिर्देशको जिम्मेवारी पाउनु आफ्ना लागि अवसर र चुनौति दुबै भएको अवस्थीले बताए ।

‘यो मेरा लागि अवसर मात्रै होइन, चुनौति पनि हो,’ उनले क्लिकमाण्डूसँग भने, ‘आफ्नो बलबुँताले भ्याएसम्म निजी क्षेत्रको विकासका लागि इमानदारीपूर्वक काम गर्नेछु । दुई वर्ष मैले गरेको कामको मूल्यांकन गर्दै आगामी दुई वर्षका लागि फेरि महानिर्देशकमा नियुक्ति गर्ने पदाधिकारीलाई धन्यवाद दिन चाहन्छु ।’

अर्थतन्त्रमा थुप्रै चुनौतिहरु भएको र ती चुनौतिको सामना सरकार र निजी क्षेत्रको सहकार्यमा मात्रै गर्न सकिने उनको भनाइ छ । चुनौतिपूर्ण अर्थतन्त्रलाई सही दिशामा ल्याउन आफूले रचनात्मक भूमिका निर्वाह गर्ने बताउँछन् उनी ।

महानिर्देशक अवस्थीले चालु पुँजी कर्जासम्बन्धी विवादमा व्यवसायी र राष्ट्र बैंकले दुबैले जित्ने मध्यमार्गी आइडिया निकालेर लामो समयदेखिको विवादको समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।


क्लिकमान्डु